लक डाउन: घरबाट काम कति सम्भव ?



मंगलबारदेखि लकडाउन भएपछि सुनसान सडकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी

काठमाडौं । सरकारले गरेको लक डाउनमा संचारमाध्यमलाई सवारी चलाउन र संचारकर्मीलाई हिँड्नका लागि रोक छैन ।

तर उज्यालो नेटवर्कले बुधबारदेखि आफ्नो समाचार बुलेटिन पत्रकारहरुले घरबाटै पढ्ने व्यवस्था मिलायो । उज्यालो नेटवर्कमा कार्यरत पत्रकार अर्जुन पोखरेल अनलाइनको काम घरबाट भएपनि रेडियो सेवाको कामपनि बुधबारबाट घरबाटै शुरु भएको बताए ।

‘प्राविधिकहरुलाई चाहिने सुविधा दिएर कार्यालयमा राखिएको छ, अन्यलाई प्रवेश गर्न रोक लगाइएको छ,पत्रकारहरुलाई उच्चस्तरीय रेकर्डर दिएर काम गर्न भनिएको छ,’ पोखरेलले क्लिकमाण्डूसँग भने ।

उनले घरबाट काम गर्न भने कार्यालयमा जस्तो सजिलो भने नहुने अनुभव साटे । कोरोना भाइरस(कोभिड १९)को कारण विश्वभरमा नै काम गर्ने शैलीमा परिवर्तन भएको छ ।

विश्वव्यापी रुपमा भएको परिवर्तनको शैलीले घरमै बसेर अफिसको काम’ को शुरुवात भएको छ । खास गरेर सूचना प्रविधिको प्रयोगले गर्न सकिने कामहरु अहिले घरबाटै भएका छन् । कार्यालयमा गएर गरिने काम घरमा गर्नका लागि कठिन भने हुन्छ ।

शिवम् सिमेन्टको ब्राण्ड विभागका प्रमुख केशव अर्याल आफूहरुले आवश्यक पर्ने कामहरु अहिले घरबाटै गरेको बताउँछन् ।

‘लक डाउनसँगै सिमेन्टको बिक्री नभएपछि हाम्रो काम नै अहिले ७० प्रतिशत घटेको छ,यद्यपि ब्राण्डिङका लागि गर्नुपर्ने कामहरु घरबाटै हुने गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेर गर्नुपर्ने काम भएको हुँदा लक डाउनपछि महत्वपूर्ण कामहरु नहुने अर्याल बताउँछन् । सरकारले मंगलबारदेखि देशभर एकसाता लामो लक डाउनको घोषणा गरेको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवाका कर्मचारीलाई घरबाटै काम गर्न सरकारले लक डाउन अगाडि नै भनेको थियो ।

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले पनि अहिले कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ । पैसाबाट कोरोना भाइरस सर्न सक्ने खतरा रहेको भन्दै सरकारले विद्युतीय माध्यमबाट भुक्तानी गर्न भनेको छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा मंगलबारदेखि सबै कर्मचारीले घरबाटै काम गरेको बताउँछन् ।

‘प्राविधिक रुपमा गर्नुपर्ने कामहरु अहिले घरबाटै भएका छन्,मार्केटिङ जस्तो भौतिक रुपमा उपस्थित हुने कामहरु अहिले रोकिएको छैन,’ सापकोटाले क्लिकमाण्डूसँग भने ।

मानव संसाधनको क्षेत्रमा काम गर्ने संस्था ग्रोथ सेलका प्रवन्ध निर्देशक मोहन ओझा घरबाटै काम गर्न मिल्ने कार्यालय भएपनि मनोवैज्ञानिक रुपमा कार्यालयको काम घरबाट गर्न मुस्किल हुने बताउँछन् ।

‘कार्यालयमा जुन वातावरणमा कर्मचारीले काम गरेको हुन्छ,त्यस्तो वातावरण घरमा हुन मुस्किल पर्छ,जसले गर्दा घरबाट काम गर्दा बढी समय लाग्छ,’ ओझाले भने ।

कार्यालय जाने भनेपछि शुरु हुने दैनिकीलाई घरबाट काम गर्न कार्यालयजस्तो बनाउन नै धेरै कठिन हुन्छ । यसमा कर्मचारीहरुको मनोविज्ञान परिवर्तन गर्न कठिन हुने बुझाइ ओझाको छ ।

भौतिक रुपमा उपस्थित भएर गरिने काम भएको हुँदा आफ्नो कम्पनीको पनि अहिले घरबाट २५ प्रतिशत मात्र काम भएको ओझाले सुनाए ।

‘आफूले अहिले बच्चालाई समय दिएर घरबाट केही कामहरु मात्र गरिरहेको छु, यसपछि सामान्य अवस्थामा कसरी काम गर्न सकिन्छ त्यस्ता योजनाहरु घरमा बनाउन सकिन्छ,’उनले आफ्नो दिनचर्या सुनाए ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्मा मंगलबारदेखि सम्पूर्णकामहरु घरबाटै गर्न थालिएको बताए ।


क्लिकमान्डु