भोलिदेखि नेपाल आउने विदेशी सेल्फ क्वारेन्टाइन र नेपाली १४ दिन होम क्वारेन्टाइनमा बस्नैपर्ने



काठमाडौं । सरकारले मार्च १४ शनिबारदेखि नेपाल आउने विदेशी नागरिक सेल्फ क्वारेन्टाइन र नेपाली तथा गैर आवासीय नेपाली नागरिकले होम क्वारेन्टाइमा १४ दिनसम्म बस्नुपर्ने भएको छ ।

बिहीबार कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण हुन नदिन जोखिम न्यूनिकरणका लागि उक्त निर्णय गरेको हो । निर्णय अनुसार व्यवसायीक, अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरु विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टाइमा बस्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कुनै पनि नागरिकलाई सरकारले क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने र आफै क्वारेन्टाइनमा बस्नुपर्ने स्पष्ट पारेका थिए ।

उनले चीनको उहानबाट ल्याएर क्वारेन्टाइनमा राखे जसरी कुनै पनि नागरिकलाई सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने र आफ्नो व्यवस्था आफै गर्नुपर्ने बताएका थिए । त्यसपछि उनको चौतर्फी रुपमा चर्को आलोचना समेत भएको थियो ।

सरकारले यसअघि ८ वटा देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएकोमा अब संक्रमण भएका देशका नागरिकलाई पनि रोक लगाउने भएको छ ।

साथै, यसपूर्व भिसा लिइसकेका यात्रुको हकमा भने नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

साथै, अति जरुरी कारणबाट नेपालमा यात्रा गर्नुपर्ने अवस्थामा विदेशीले सम्बन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगबाट नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाण पत्र पेश सहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैठकले विदेशमा रहेका नेपाली नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन समेत भनेको छ । तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्चदेखि लागू हुने गरी ३० अप्रिलसम्म स्थगत गर्ने समेत निर्णय गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगत समेत गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई ३० अप्रिलसम्म विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी नगर्ने, संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार तथा उपकरण लगायतका सामग्रीहरु सार्वजनिक खरिद ऐनको विशेष परिस्थितीको प्रावधान अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आईसीयू तथा आइसोलेसन कक्ष सहितको विशेष पूर्वाधार, काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा एक–एक वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेश गर्नेछ ।

यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थमन्त्रालयले गर्नेछ ।

नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र तत्कालका लागि स्थगित गर्ने र नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन समारोहलाई २१ मेसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरु भेला हुने, सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवम, मेला महोत्सवमा सहभागी नहनु आमजनसमूदायलाई आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ ।


क्लिकमान्डु