आपूर्ती सहज बनाउन युद्धस्तरमा खटिएका छौं, ढुक्क हुनुहोस् समस्या छैन- मन्त्री लेखराज भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्टले बजारमा आपुर्ती कम हुन नदिन आफूहरु युद्धस्तरमा लागेको बताएका छन् ।
सोमबार पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टले बजारमा कुनै पनि वस्तुको आपूर्ती कम हुन नदिने सबै सरोकारवाला निकाय अहोरात्र खटिएको बताए ।
‘हामी आपुर्ती कम हुन नदिने युद्धस्तरमा लागेका छौं, कर्मचारीहरुले पनि २४औं घण्टा काम गरिरहनु भएको छ, ढुक्क हुनुहोस् कुनै पनि वस्तुको आपुर्तीमा कमी आउँदैन,’ उनले भने ।
यदी कतै केही समस्या आए ११३७ हटलाइनमा फोन गर्न समेत उनले आग्रह गरे । साथै केही दिनपछि साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुवात गरिने उनको भनाइ छ ।
उनका अनुसार तेल, चामल, नुन, ग्यासलगायत सबै खाले खाद्य सामग्रीको अभाव छैन । उनले सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले हौवा फैलाएको बताए ।
साथै ग्यासको हकमा पनि कुन कम्पनीबाट कति बुलेट ग्यास आउँछ र कुन कुन डिपोमा कति मात्रामा गयो र ग्राहकको विवरण समेत संकलन गरी अध्ययन समेत गर्ने मन्त्रालयको तयारी भएको उनको भनाइ छ ।
उनले आइतबार आफै बजार अनुगमनमा निस्केको र फार्मेसीमा १ सय पत्ता सिटामोल माग्दा दिन राजी भएको उल्लेख गर्दै एकैजना व्यक्तिलाई कति वटासम्म दिने भन्ने व्यवसायीले पनि ख्याल राख्नुपर्ने बताए ।
‘आइतबार सचिवज्यू र म बजारमा बुझ्न हिँडेका थियौं, एउटा फार्मेसीमा १ सय पत्ता सिटामोटल र अर्को फार्मेसीमा ५० पत्ता सिटामोल माग्यौ., उनीहरुले किन चाहियो समेत नभनी दिन राजी भए, एकै व्यक्तिले त्यति ठूलो मात्रामा औषधि खरिद गर्दा अभाव सिर्जना हुन सक्छ त्यसैले व्यवसायी र उपभोक्ता सबैले ख्याल राख्नुपर्छ,’ उनले भने ।
उनका अनुसार अहिले साल्ट ट्रेडिङसँग दशैंसम्म पुग्ने गरी नुन स्टकमा छ भने २० हजार मेट्रिक टन धान स्टक छ । सरकारी २ वटा मिलले मात्रै दैनिक एक दिनमा १ हजार क्विन्टल चामल उत्पादन गर्न सक्छन् ।
बजारमा केही व्यवसायीहरुले मौकाको फाइदा उठाउँदै महंगोमा बिक्री गर्ने गरेको यदाकदा भेटिए पनि त्यसलाई रोक्न सरकार लागी परेको समेत बताए ।
उनका अनुसार बजार अनुगमनलाई अब युनिफाइड टिम बनाइ अनुगमन गरिने बताए । साथै कोरोना भाइरसको संक्रमण भइहालेमा पनि त्यस अवस्थामा पूर्व तयारीका लागि मन्त्रालयले काम गरिरहेको उनले स्पष्ट पारे ।
उनका अनुसार अब ७ वटै प्रदेशमा समेत यसबारेमा जानकारी दिइ कार्यान्वयन गरिने बताए ।
हाल मुलुकका ३७ वटै नाकाबाट प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण गर्नेदेखि तथ्यांक संकलन गर्नेसम्मको काम भइरहेको समेत उनले जानकारी दिए ।