४ अर्ब ५१ करोड रुपैयाँको आईपीओ पाइपलाइनमा, ९ वटा कम्पनी जलविद्युत मात्र



काठमाडौं । धितोपत्र बोर्डमा विभिन्न १४ वटा कम्पनी साधारण सेयर (आईपीओ) ल्याउनका लागि पाइप लाइनमा रहेका छन् । जसमा ९ वटा जलविद्युत कम्पनी रहेका छन भने बाँकी माइक्रोफाइनान्स, बीमा कम्पनी, मर्चेन्ट बैंक लगायत रहेका छन् ।

बोर्डका अनुसार विभिन्न १४ कम्पनीले ४ अर्ब ५१ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ करोड ५१ लाख २२ हजार ५ सय ५० कित्ता सेयर निष्कासनको तयारीमा रहेका छन् ।

यतिबेला जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण घटे पनि बोर्डमा अझै ९ वटा कम्पनी आईपीओ ल्याउनको लागि पर्खाइमा रहेका छन् । बोर्डबाट अनुमति पाएपछि सबै कम्पनीले आईपीओ जारी गर्ने छन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र आईपीओ जारी गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

बोर्डको पाइप लाइनमा रहेका जलविद्युत कम्पनीमा अधिकांशले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सेयर निष्कासनको तयारीमा रहेका छन् ।

आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट २५ लाख, मध्यभोटेकोसी जलविद्युत कम्पनी १ करोड ५० लाख, शुभम पावरको ५ लाख ८० हजार ५८०, तेह्रथुम पावर कम्पनी १२ लाख, मैलुङ खोला जलविद्युत कम्पनी ७ लाख ३६ हजार २८६, माउन्टेन इनर्जी नेपाल ३९ लाख ३६ हजार ५४, ग्रिन लाइफ हाइड्रोपावर ३४ लाख ९६ हजार ४००, सिँगटी हाइड्रो इनर्जी ४३ लाख ५० हजार कित्ता सेयर निष्काशनको तयारीमा रहेको छ ।

यस्तै अजोड इन्स्योरेन्सको ३० लाख, इमर्जिङ नेपाल ५ लाख, सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २५ लाख १८ हजार २३०, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था ४७ लाख ५५ हजार र सीबीआईएल क्यापिटलले ३ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । जुन अहिले पाइप लाइनमा रहेको छ ।

अहिले समयमा आयोजना सम्पन्न नहुनु, निरन्तर लागत बढ्नुलगायत कारण बहुसंख्यक जलविद्युत कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको छ । जसका कारण जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दै गएको छ ।

सरकारले गत वर्षदेखि ‘जनताको जलविद्युत कार्यक्रम’ सञ्चालन गरेको छ । जसमा २० बढी जलविद्युत कम्पनी रहेका छन् । त्यसमा पनि अहिलेसम्म त्रिशूली जलविद्युत कम्पनी, सुवागढी र सान्जेन जलविद्युत कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने बाँकीको आईपीओ आउन नै बाँकी रहेको छ । यस्ता आयोजनाले आईपीओ जारी गर्दा कम्पनीको रेटिङ गर्न नपर्ने व्यवस्था गरिएको छ ।
पछिल्लो समयमा जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने र त्यो सेयर माग बमोजिम सर्वसाधारणले खरिद नगरेको खण्डमा सकार्ने भनेर अण्डर राईटिङ कम्पनी रहेका हुन्छन्, उनीहरुले पनि विभिन्न नबिकेको सेयर सकार्न विभिन्न बाहना बनाउने गरेका छन् ।

बोर्डका अनुसार शिव श्री हाइड्रो, हिमाल दोलखा हाइड्रो र सिँगटी हाइड्रो इनर्जीमा पनि त्यस्तै समस्या देखिएको छ । यतिबेला जलविद्युत कम्पनीलाई नियमन गर्ने नियामक निकाय नहुँदा पनि यस्तो समस्या देखिएको जानकारहरुको दाबी छ ।


क्लिकमान्डु