कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावको सरकारले अध्ययन गर्ने, राहतको प्याकेजको तयारी



काठमाडौं । सरकारले विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको विषयमा अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको र यसमा अर्थमन्त्रालय र राष्ट्र बैंकले काम गरेको बताए ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत कोराना भाइरसको कारण समस्यामा परेका होटलहरुलाई ऋणको किस्ता तिर्नको लागि सहुलियत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समिक्षामा सरकारले लिएको साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुँने जनाएको छ ।

चीनबाट फैलिएको कोरानो भाइरसको असर नेपाली अर्थतन्त्रमा पर्न थालेको देखिसकेको छ । चीनबाट आउने पर्यटक पूर्ण रुपमा ठप्प भएको छ भने चीनबाट आउने सामाग्रीको आयात समेत रोकिएको छ । पर्यटकको संख्या घटेको कारण नेपालका होटलहरुको अकुपेन्सी खाली जस्तै छ । होटलहरु कर्मचारीलाई बिदा नै दिन थालेका छन् । यस्र्तै उद्योगहरुमा समेत कच्चा पदार्थको अभाव देखिने सम्भावना बलियो बनेको छ । जसको कारण उद्योगको उत्पादन समेत रोकिने छ ।

व्यापार प्रणालीमा समेत गम्भिर खाले असर कोरोना भाइरसले गरेको छ ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालिन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर राहतको प्याकेज ल्याउने संकेत गरेका छन् ।

चीनसँग जोडिने विश्व बजार नै अहिले कोरोना भाइरसको कारण पूर्ण रुपमा प्रभावित भएको छ । नेपालमा पनि निजी क्षेत्रले गर्ने सभा सम्मेलनहरु रोकिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले आयोजना गर्न लागेको मेला स्थगित भएको छ ।

चीनमा देखिएको कोरोना भाइरसको अर्को सबैभन्दा ठूलो प्रभाव जलविद्युत् र निर्माण क्षेत्रमा परेको छ । नेपालमा धेरैजसो जलविद्युत् परियोजनाको ठेक्काको जिम्मा चिनियाँ कम्पनीले पाएका छन् । चीनबाटनै कोरोना भाइरस फैलिएको कारण आयोजनामा कार्यरत चिनियाँ कामदार आएका छैनन् । जसको कारण ठूला जलविद्युत् आयोजना तथा सडक निर्माणको काम पछाडि धकेलिने छ ।


क्लिकमान्डु