अब बैंकमा सुन पनि निक्षेपका रुपमा राख्न सकिने, यस्तो छ राष्ट्र बैंकको कार्यविधि



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अब सुनका गहना निक्षेपका रुपमा राख्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सुनका गहना निक्षेपका रुपमा राख्न पाउने व्यवस्था गरेको हो ।

बिहीबार त्यससम्बन्धि निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो । नयाँ व्यवस्था बमोजिम अब लकरमा राखिएका त्यसता गहनालाई निक्षेपका रुपमा समेत राख्न पाइनेछ । जसवापत ग्राहकले ब्याज समेत पाउनेछन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेको सुन चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाइने छ भनेर उल्लेख गरेको थियो ।

बजेटमा उल्लेख भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिमा यससम्बन्धी थप अध्ययन गरी नीतिगत व्यवस्था गरेर कार्यान्यवन गरिनेछ भनेको थियो ।

जसअनुसार राष्ट्र बैंकले सुन चाँदी तथा धातुका गहनालाई निक्षेपको रुपमा राख्न मिल्ले व्यवस्था गरको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘सुन, चाँदी तथा बहुमुल्य धातुका गहना निक्षेपको रुपमा वाणिज्य बैंकहरुले मात्र राख्न पाउँछन्,’ उनले क्लिकमाण्डूसँग भने ‘निक्षेपको ब्याजदर के कति दिने बैकहरु स्वयम्ले निर्धारण गर्न पाउँछन् ।’

स्रोत खुलाएर कम्तीमा ९९५ फिट्नेसका न्यूनतम २५ ग्राम सुनलाई निक्षेपको रुपमा त्यसको शुद्धताको जाँच गरी वाणिज्य बैंकका केही तोकिएका शाखामा ग्राहकले निक्षेपमा राख्न पाउनेछन् ।

वाणिज्य बैंकहरुले सुनलाई निक्षेप कुन शाखामा राख्न पाइने हो त्यसको पूर्व सूचना प्रकाशित गर्नुपर्नेछ भने प्राप्त सुनलाई बैंकले अलग सुरक्षित तबर क्यामराको निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

ग्राहकले बैंकमा सुन न्यूनतम ३ वर्षदेखि अघिकतम ५ वर्षका लागि राख्न पाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले बताए ।

‘सुनलाई निक्षेपमा राख्दाको बजार मूल्यको मूल्यांकनमा सोही अनुसारको ब्याजदर कायम गरी बैंकहरुले ३ वर्षदेखि ५ वर्षसम्म निक्षेप राख्न पाउँछन्’ उनले भने ‘जम्मा गरिएको सुन फिर्ता लैजाँदा ब्याजसहित सुन वा सो बराबरको रकम लैजान लैजाने हो त्यो बैंक र ग्राहकले आपसी समझदारी गर्न पाउँछन् ।’

ग्राहकले सुन बराबरको पैसा बैंकबाट फिर्ता लिने हो भने निक्षेप जम्मा गर्दाको समयको सुनको मूल्य बराबरको नै पैसा फिर्ता पाउने उनको भनाइ छ ।

यसका साथै ग्राहकले सुनलाई बैंकमा निक्षेपको रुपमा राखेपछि सोहीको प्रमाणपत्रको आधारमा सोही बैंकबाट निक्षेपको ७० प्रतिशत निक्षेपको ब्याजमा २ प्रतिशत थप गरी कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले गरेको यो व्यवस्थाले बैंकहरुमा हाल भइरहेको तरलता अभावको समस्यामा केही हदसम्म सहजता हुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘बैंकमा सुन निक्षेपको रुपमा राख्दा सो बराबरको रकम बैंकमा थपिने हुन्छ र कर्जायोग्य रकम बढ्छ’ उनले क्किमाण्डूसँग भने ‘सुनको निक्षेपमा कति ब्याज दिने भन्ने विषयमा भने संघमा छलफल भएको छैन् ।’

अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा सुन निक्षेपको रुपमा राख्दा जुन तबरले त्यसको ब्याजदर कायम गरिन्छ नेपालमा पनि सोही अनुसारले ब्याजदर कायम गरिन सकिने उनको भनाइ छ ।

यस्तो छ कार्यविधि


क्लिकमान्डु