सेयर बजार: बिग्रेको जस कसले लिने ?



काठमाडौं । गत साता सेयर बजारमा नयाँ रेकर्ड नै कायम भयो । पहिलो हरेक दिन सेयर बजारमा कारोबारमा नयाँ रेकर्ड बन्ने र नेप्से परिसूचक बढ्दो क्रममा रह्यो ।

त्यसपछि सेयर बजारमा सुधार गरेको जस लिने क्रम बजारका धेरैले लिन थाले ।

राष्ट्र बैंकमा ३० वर्ष बिताएर धितोपत्र बोर्डमा अध्यक्ष बनेका भिष्मराज ढुंगानादेखि लिएर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद हुँदै बोर्डबाट निवर्तमान भएका रेवतबहादुर कार्कीले समेत सेयर बजारमा कारोबार बढेको र नेप्से परिसूचक उकालो लागेमा जस लिनको लागि अगाडि कसिँदै थिए ।

एउटा सार्वजनिक कार्यक्रममा त नेप्सेका सीइओ साउदले आफ्नो कारणले मात्र सेयर बजारमा यो सुधार आएको बताउँदै आफ्नो सफलताको कथा लेख्न समेत संचारकर्मीलाई अनुरोध गरेका थिए ।

पछिल्लो सातामा भएको कारोबार र नेप्से परिसूचकको बृद्धिले सेयर बजारबाट कमाएको भनेको सेयर ब्रोकर, नेप्से र सरकारले हो ।

लगानीकर्ताहरु त छिटो नाफा कमाउने होडमा रहँदा एकतिरबाट कमाएको नाफा अर्कोमा लगानी गरेर गुमाउने नै बढी थिए ।

सेयर बजारमा सुधारको जस लिने होड भने लामो समय टिकेन । यो साता आइतबार नै नेप्से परिसूचक घट्यो । यद्यपी कारोबारमा भने नयाँ रेकर्ड कायम भयो । सोमबार लगानीकर्ताले कल्पना नै नगरेको नेगेटिभ सर्किट ब्रेकले बजार बन्द भयो ।

मंगलबार पूर्णरुपमा सेयर कारोबार हुन नै पाएन । नेप्सेको प्रणालीले काम नगरेपछि सेयर ब्रोकरले खरिद र बिक्रीको अर्डर दिन सकेनन् । लगानीकर्ताले नेप्सेले तोकेको समयमा सेयर खरिद र बिक्री गर्न पाउने अधिकार नै गुमाए ।

सेयर बजार घट्ने क्रम हुँदा अनसन बस्नेदेखि लिएर अर्थमन्त्री युवराज खतिवडाको राजीनामा समेत माग्ने काम भयो ।

२०६५ सालदेखि नै लगानीकर्ताको हकहितका लागि खुलेका संगठनहरु सेयर बजार ओरालो लाग्दा टुकुचा खोलाको किनारदेखि सिंहदरबारसमेत जाने काम नौलो होइन ।

बजार सुधारका लागि गर्नुपर्ने काम भुल्ने प्रवृत्ति संगठनका नेताहरुको छ । अझ संगठनको नाम देखाएर बैंकलाई थर्काउने प्रवृत्ति त केही लगानीकर्ताका संगठनका नेताहरुले समेत नदेखाएका होइनन् ।

एकसाता अगाडि बजार बढेको जस लिन हतारिएका सबैजना अहिले एकले अर्कालाई दोष थोपर्ने क्रममा छन् । राम्रोजति आफ्नो कारणले भएको र नराम्रो जति अरुको कारणले भएको भनेर दोष देखाउने प्रवृत्ति अहिले देखिएको छ ।

अझ २ वर्षअघि अर्थमन्त्रीको रुपमा युवराज खतिवडा आएपछि सेयर बजार बढाउन र घटाउनको लागि उनी नै प्रमुख कारणको रुपमा नै देखिए ।

खतिवडाका अभिव्यक्ति त्यसको कारणको रुपमा रहेपनि खतिवडाको कारण सेयर बजार बढ्ने र घट्ने हुँदैन । दोषजति खतिवडालाई देखाएर उम्कने प्रवृति सेयर बजारका सरोकारवालाको बढी देखियो ।

नेप्सेमा अनलाइन प्रणाली सुरु गरेको जसरी जस साउदलाई जान्छ । त्यसैगरी नै प्रणाली नचलेको र यो प्रणाली पारदर्शी रुपमा भएको नभएको दोषपनि उनीलाई जान्छ ।

सेयर कारोबार बढेपछि लड्डुको गुलियोको स्वादमा मख्ख परेका साउदले बजार विकासको लागि गर्नुपर्ने रोडम्याम नै छैन ।

धितोपत्र बोर्डमा अध्यक्ष भएर आएका ढुंगाना गभर्नर हुने समेत बेलाबेलामा बताउने गर्छन् । त्यो हुँदा चैतसम्म ढुंगानाले नयाँ काम गर्छन् भनेर विश्वास गर्ने आधार समेत देखिदैन ।

जसरी अहिले नेप्सेको कार्यालय टुकुचाको खोला ढलको कारण दुर्गन्ध फैलिएर गनाएको हुन्छ । यस्तै गनाउने प्रवृति सेयर बजारबाट हटेको छैन ।


पुष्प दुलाल