गाँजा खेती सम्बन्धी विधेयक संसदमा दर्ता, खेती गर्न १८ र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने



काठमाडौं । प्रतिनिधिसभामा पहिलो पटक गैर सरकारी विधेयक दर्ता भएको छ । सोमबार प्रतिनिधिसभामा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका हुन् ।

विधेयकमा गाँजा खेती गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ ।

विधेयकमा गाँजा खेतीलाई औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यवसायीक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिकस्तर बढाउने उद्देश्यले नियमित तथा व्यवस्थित गरिने उल्लेख छ ।

विधेयकमा कपडा बनाउने वा त्यस्तै अन्य औद्योगिक प्रयोजनका लागि रेसा उत्पादन गर्ने वा खाद्य पदार्थको रूपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्री वितरण गर्नका लागि डेल्टा ९ टीएससी ०.२ प्रतिशत वा सोभन्दा कम प्रतिशत भएको गाँजा प्रजातिको भागको खेति गर्न सकिने उल्लेख छ ।

गाँजा खेती गरिएको गाँजाको वयस्क बोटमा अन्य व्यक्तिको अनधिकृत पहुँचबाट जोगाउन भरपर्दाे व्यवस्था नभएको वा अनुमतिपत्र दिँदा गाँजाको गैरकानूनी रुपमा प्रयोग हुने विश्वसनीय आधार भएमा, तोकिए बमोजिमको अन्य अवस्थामा उत्पादन तथा बिक्री वितरण सम्बन्धी व्यवस्था गर्न सक्ने उल्लेख छ ।

कुनै कृषकको आफ्नो वा एकाघरको परिवारको समेत नेपालभर कुनै जग्गा छैन भने अन्य व्यक्तिको जग्गा भाडामा लिएर तोकिएको क्षेत्रफलमा गाँजा खेति गर्न अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।

कृषकले आफूले उत्पादन गरेको गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाँगको दाना वा फुल रहेको प्याकेट वा र्यापर्समा गाँजा खेति गर्नको लागि निजले प्राप्त गरेको अनुमतिपत्र नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

गाँजाको फसल तयार भई उत्पादन गरिएको वर्ष र महिना, गाँजा उत्पादन गरिएको स्थानीय तह र जिल्ला, प्याकेट तथा र्यापर्सभित्र रहेको गाँजाको परिमाण, तोकिए बमोजिमको चेतावनीमूलक सन्देश, तोकिएका अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरु राख्नुपर्ने व्यवस्था रहेको छ ।

गाँजाबाट औषधि उत्पादन गर्ने उत्पादकले औषधि सम्बन्धी प्रचलित कानून बमोजिमको लेबुल राख्नुपर्ने पनि व्यवस्था छ । लेबुल राख्दा त्यस्तो लेबुलमा सो पदार्थको उपभोगबाट पर्न सक्ने प्रभावको बारेमा तोकिए बमोजिमको चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्ने उल्लेख छ ।

कृषकले गाँजा खेति गरिएको जग्गाको कित्ता नम्बर र जम्मा क्षेत्रफल, फसल तयार हुने क्रममा रहेको गाँजाको वयस्क बोटको संख्या, फसल भित्र्याएपछि वयस्क गाँजाको बोटबाट प्राप्त सुकेको गाँजाको कुल परिमाण, गाँजा वा भाँगको दाना उत्पादन गरेकोमा त्यसको परिमाण, बोर्डलाई बिक्री गरेको गाँजाको परिमाण र मिति राख्नुपर्नेछ ।

अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन, प्रशोधन तथा विक्रि वितरण गरेको गाँजा तथा त्यसबाट बनेको औषधिजन्य पदार्थको विक्रीको दैनिक विवरण राख्नु पर्नेछ र त्यस्तो विवरण राख्दा खरिद गर्ने व्यक्तिको नाम, थर वतन, उमेर, नागरिकता नम्बर वा राष्ट्रिय परिचय नम्बर, त्यस्तो औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर तथा तोकिए बमोजिमको विवरणको अभिलेख राख्नुपर्नेछ ।

गाँजाबाट औषधि उत्पादन गर्ने वा गाँजाको निकासी गर्ने व्यक्तिले प्रत्येक वर्ष आपूmले गरेको उत्पादन तथा निकासीको विवरण बोर्ड समक्ष पेश गर्नु पर्ने व्यवस्था छ ।

कृषकले आफूले उत्पादन गरेको गाँजा बोर्ड वा बोर्डले तोकिदिएको निकाय, कार्यलय वा औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योग, तर खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामग्री जो सुकैलाई बिक्री वितरण गर्न यसमा लेखिएको कुराले कुनै बाधा नपर्ने उल्लेख छ ।

निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकको प्रेष्कृप्सनको आधारमा सम्बन्धित व्यक्तिलाई, निकासी वा बिक्री वितरणका लागि अनुमतिपत्र प्राप्त व्यक्तिले निकासी गर्दा निकासी गरिने मुलुकको कानून बमोजिम त्यस्तो गाँजा खरिद गरिलिन स्वीकृति प्राप्तव्यक्ति वा कम्पनीलाई मात्रै त्यो अधिकार छ ।

२१ वर्ष उमेर पूरा नभएका वा गर्भवति महिलालाई बिक्रि वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पाइने छैन भने कसैले पनि शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक किलो मिटरभित्रको घर, पसलबाट गाँजा बिक्री वितरण गर्न गराउन पाउने छैन ।

कृषकले आफूले लगाएको गाँजाको फसल भित्र्याउनको लागि तयार भएपछि त्यसलाई भित्र्याउनु वा स्याहार्नु अघि सम्बन्धित निरीक्षक वा समितिलाई जानकारी गराउनुपर्नेछ ।

विज्ञापन तथा प्रायोजन गर्न पाइने छैन । कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट गाँजा तथा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।

तर खाद्य प्रयोजनका लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामग्री वा यस्तै अन्य औद्योगिक वस्तुको प्रचलित कानून बमोजिम विज्ञापन गर्न बाधा नपर्ने विधेयकमा उल्लेख छ ।

विधेयक


क्लिकमान्डु