चीनमा उद्योग कारखाना खुल्न थाले, कोरोनाका कारण नेपाली होटलको अकुपेन्सी २५ प्रतिशतले घट्यो



काठमाडौं । कोरोना भाइरसबाट ठप्प भएका चीनका उद्योग तथा कारखानाहरु खुल्न थालेका छन् । चीनमा उद्योग तथा कारखानाहरु बन्द हुँदा विश्व अर्थतन्त्रमा ठूलो असर परेको थियो ।

खास गरी विश्वको सबैभन्दा ठूलो कम्पनीमध्येका आईफोन उत्पादन गर्ने एप्पल र गाडी निर्माता कम्पनी हुन्डाइलगायतलाई ठूलो घाटा भइरहेको छ । चीनसँग व्यापार हुन सकेको थिएन भने चीनमा पनि आयात र निर्यात ठप्प भएको थियो ।

शुरुमा चिनियाँ नयाँ वर्षको बिदामा बन्द भएका त्यहाँका उद्योगहरु त्यसलगत्तै देखिएको कोरोना भाइरसका कारण अनिश्चितकालका लागि बन्द भएका थिए । त्यसको असर नेपालमा पनि देखिएको छ ।

चीन व्यवसाय संघका अनुसार चीनमा ५ सयभन्दा निर्माण उद्योगले उत्पादन फेरि शुरु गरेका छन् । र, यसरी फेरि शुरुवात गर्ने प्रतिशत ९७.०८ पुगेको छ ।

संघका अनुसार पुनः शुरु भएका व्यवसायमध्ये कर्मचारी कार्यालयमा बस्ने औसत दर ६६.१७ प्रतिशत पुगेको छ । उक्त संघमा आबद्ध सदस्यहरुको व्यवसायको पुनः शुरुको औसतदर ७५.२४ प्रतिशत पुगेको छ भने क्षमता उपयोग दर ५८.९८ प्रतिशत पुगेको छ ।

निजी व्यवसायको पुनः शुरु हुने अवस्थाभन्दा राज्य स्वामित्व व्यवसायको राम्रो रहेको बताइएको छ । व्यवसायको तरिकाबाट हेर्दा निरन्तररुपमा उत्पादन उद्योग, प्रविधि गहन उद्योग, पूँजी गहन उद्योगको पुनः शुरु दर अपेक्षाकृत उच्च देखिन्छ भने श्रम गहन उद्योगको पुनः शुरु दर अपेक्षाकृत कम छ ।

खास गरी नेपालको पर्यटन क्षेत्र र चिनियाँ लगानी रहेका आयोजानाहरु यसबाट प्रभावित भएका छन् । भैरहवास्थित गौतम बुद्ध विमानस्थल निर्माणका लागि ८० जना चिनियाँ नागरिक रहेकोमा ४० जना नयाँ वर्ष मनाउन चीन गएका थिए । उनीहरु कोरोनाको संक्रमणसँगै उतै छन् ।

साथै नेपालमा चिनियाँ पर्यटकहरु पनि उत्तिकै मात्रामा आउने गरेकोमा कमी आएको थियो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार पहिले दैनिक २२ सयदेखि २३ सय जनासम्म चिनियाँ पर्यटक आउने गरेकोमा अहिले त्यो संख्या घटेर दैनिक ३ सयदेखि ४ सयमा सीमित भएको छ ।

जसका कारण नेपालको पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ । चिनियाँ पर्यटक कम भएसँगै नेपाली होटलमा अकुपेन्सी पनि २५ प्रतिशतमा झरेको छ ।

नक्सालस्थित पाँचतारे होटल मेरियटका सञ्चालक शशिकान्त अग्रवालका अनुसार पहिले कुल अकुपेन्सीमध्ये ४० प्रतिशत चिनियाँ हुन्थे भने अहिले मुस्किलले १० प्रतिशत पनि पुगेका छैनन् ।


क्लिकमान्डु