लगानी गर्दा सजग रहौं, ‘आगलागी झुपडी डेढ घडी भद्रा नहोस्’: नीरव पुडासैनी



इतिहासको साक्षी हुन पाएको यस हप्ताको ४ दिनमा करिब १२ अर्ब रुपैयाँको कारोबार भएर नयाँ किर्तिमान रच्न सफल भएको छ सेयर बजार । इतिहासको सम्भवत यो नै अधिक कारोबार हो ।

फर्केर हेर्दा २०६५ साल पुस महिनाताका बजार थप ओरालो लागेर ६०० अंकको हाराहारीमा आएको थियो । कारण, तत्कालिन अर्थमन्त्रीले पूँजीबजारलाई जुवाघर भनेर सम्बोधन गर्नु थियो । २०७२ सालमा भूकम्प र नाकाबन्दीका कारण बजार न्यून विन्दुमा पुग्यो । त्यस्तै २०७४ सालको पुस महिनातिर विभिन्न राजनीतिक रंगमा रंगिएर बजार चलायमान हुन पुग्यो ।

यसरी राजनीति र अर्थराजनीतिको वेगमा नेपाली सेयर बजार अर्थहिन वेगमा चल्नु कम्तीमा पनि नेपाली पुँजीबजारका लागि नौलो कुरा होइन । ‘आगलागी झुपडी डेढ घडी भद्रा’ भन्ने लोक बोलीलाई चरितार्थ गर्न पूँजी बजारका जो कोही तल्लिन देखिनु कुनै आश्चर्य होइन ।

अर्थमन्त्रीको बहिर्गमनको प्रतिक्षामा बजारको चाल निर्धारण हुनुले के यसलाई पुष्टि गर्ला कि नगर्ला, पाठक आफैले बुझ्ने कुरा हो । जसरी भद्रा सकिन्छ अनि पानी ल्याएर आगो निभाउन शुरु गर्नुपर्छ भनेर भद्राको अन्त्यको प्रतिक्षा गर्नु मुर्खताको पराकाष्ठ हो भन्दा अन्यथा नहोला ।

जसरी भद्रामा कुवा खन्न ज्योतिषीले दिँदैनन्, त्यसरी नै अमूख अर्थमन्त्रीको बहिर्गमनको प्रतिक्षामा आफ्नो पुँजीलाई विसाउन खोज्नु मुर्खता नभएर के होला ? कतै भद्रा मानसिकताका कारण पहुँचबिहीन लगानीकर्ताहरु भालु र किसानको कथाको भालु हुने त होइनन भन्ने संशय उत्पन्न हुन्छ ।

जसरी हरेक पटक फेद (जरा) र टुप्पाबीचको अन्योलमा भालुलाई हात लाग्यो शुन्य हुन्थ्यो, त्यस्तै हुने त होइन भन्ने संशय अहिले पनि जीवितै छ भन्दा अन्यथा नहोला । यस्ता दर्जनौं उदाहरण हामी माझ छन् ।

यसका साथै कतै ‘चर्निङ’ भइरहेको छ छैन भनेर पनि ध्यान दिनु आवश्यक छ । धितोपत्र दलाल कम्पनी तथा म्यूचुअल फन्डका जिम्मेवार मानिसले निश्चित दलालीका लागि अनावश्यक रुपमा आफ्ना ग्राहकका खातामा सेयर खरिदबिक्री गरिरहेका त छैनन ?

विश्व धितोपत्र बजारमा यसलाई गैरकानूनी मानिन्छ । यसलाई सिनिकल ओभर ट्रेडिङ पनि भन्न सकिन्छ ग्राहकको नाफाभन्दा दलालको दलाली धेरै हुने नै सिनिकल ओभर ट्रेडिङ हो । सम्भवतः यस्तो अवस्था नभएको भएपनि सजग हुनु जरुरी छ ।

नियामकले यस्ता कुरामा ध्यान दिनु आवश्यक छ । तसर्थ नियामकले ब्रोकर तथा लगानी कोषको सुक्ष्म निरिक्षण गर्नु आवश्यक हुन्छ । यसको साथै अधिक पूँजी बोकेर चलखेल गर्ने नियतले बजार प्रवेश गरेका वा गराइएका बजारका खेलाडीहरुले कतै कुनै सेयरलाई सेयर क्रनिङ (एकाधिकारात्मक क्रय)ले गरिरहेका छैनन भनेर लगानीकर्ताहरु स्वयम सजग हुनुपर्छ ।

किनभने नियामकको चाल देख्दा हाम्रो नियामक यस्तो कुरामा सजग छ जस्तो देखिन्न । सेयर क्रनिङ प्रमुख विषय नभए पनि अर्थमन्त्रीको बर्हिगमन प्रमुख कारण हो कि भन्ने भाव हुन्छ । तथापी मुद्दा र कारण जे जस्तो भए पनि लगानीकर्ताको बजारप्रतिको सकारात्मक भावको वृद्धि नै प्रमुख कारण हो भन्दा अन्यथा नहोला ।

तथापि यो कत्तिको टिकाउ र दीर्घकालिन हुन्छ त्यो अलग विषय हो । अर्थमन्त्रीको बहिर्गमनको विषयलाई लिएर बजार सकारात्मक भएता पनि उही अर्थमन्त्रीको कठोर तर अर्थतन्त्रको दीर्घकालका लागि सकारात्मक नीतिका कारण बैंक तथा अन्य सहकारीले लगानी गर्न नसकेको पैसा सहज तरिकाले पूँजी बजारमा भित्रिएको कारण पनि बजारमा केही सुधार आएको कुरालाई नकार्न सकिन्न ।

यसका साथै महामारीकौ रुप लिँदै गएको कोभिड १९ का कारण आयतजन्य व्यापार तथा पर्यटन व्यापारमा आएको मन्दीका कारण उक्त क्षेत्रको लगानी छोटो अवधिका लागि पूँजी बजारमा भित्रिएको भन्ने कुरालाई पनि सहजै नकार्न सकिन्न ।

नेपालको पूँजी बजारमा यस्ता पुँजी बेला बेलामा आएको र पछि यसैका कारण बजारमा गिरावट आएको धेरै उदाहरणहरु हामी माझ छ । तसर्थ बजारमा लगानी गर्दा यस्ता विषयको प्रभावका बारेमा पनि लगानीकर्ताहरु सजग हुनुका साथै तयार रहन जरुरी हुन्छ ।

विश्व पुँजी बजारको तुलनामा वा झनै भारतीय पूँजी बजारको तुलनामा नेपालको पुँजी बजार धेरै सहज र पहुँचतुल्य छ । यहाँ जोकोहीले पनि कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँच पुगेको देखिन्छ । तसर्थ बजार कसरी प्रभावित हुन्छ भनेर आंकलन गर्न अन्यभन्दा अलिक सजक पनि हुन्छ ।

लगानीयोग्य पूँजीको अपर्याप्तता, विकास खर्चमा देखिएको नैराश्यता र भारत लगायत नजिकका छिमेकी देशहरुको आर्थिक सुधारका गतिविधिको कारण पनि बजारलाई भने जस्तो वातावरण छैन भन्दा अन्यथा नहोला । यसको अलावा आशा जगाउने निर्णयहरु जस्तै, मार्जिन कारोबार सुविधा, स्टक डिलर भेञ्चर क्यापिटल, प्राइभेट इन्विटीआदिका कारण बजारमा सकारात्मक उर्जा थपिएको कुरालाई नकार्न सकिन्न ।

तसर्थ यी सबै कुराको शुष्म आँकलन गरेर मात्र आफ्नो पुँजीको परिचालन गर्नु उत्तम हुन्छ । अन्यथा भद्राको पछि लागेर झुपडी जलेको जस्तो नहोस् । ‘आगलागी झुपडी, डेढघडी भद्रा’ नहोस् ।


क्लिकमान्डु