२५ वर्षमा ‘भिजिबल’ बन्यो युनाइटेड फाइनान्सः रेमिटेन्स कारोबार शुरु गर्दै, विकास बैंक बन्ने लक्ष्य



काठमाडौं । २५ वर्षअघि स्थापना भएको युनाइटेड फाइनान्सको गति स्थिर जस्तै थियो । गतवर्ष कम्पनीमा भारतबाट मुथुट फाइनान्स जस्तो ठूलो कम्पनी २० प्रतिशत सेयर स्वामित्वसहित भित्रियो । जसले फाइनान्सले लिएको काठमाडौं केन्द्रित यात्रालाई समेत ब्रेक लगाइदियो ।

२५ वर्षअघि खुलेका केही फाइनान्स बैंक बने भने केहीको अस्तित्व नै सकियो । तर युनाइटेडले अहिलेसम्म फाइनान्सको रुपमा नै आफूलाई चिनाउन सफल भएको छ । फाइनान्स कम्पनीममध्ये सबैभन्दा बढी चुक्तापूँजी १ अर्ब १ करोड रहेको फाइनान्सले लिएको रणनीति अब भिजिबल हुने रहेको प्रमुख कार्यकारी अधिकृत अजय मिश्र बताउँछन् ।

‘नेपालको प्रतिष्ठित व्यवसायिक घराना प्रवद्र्धक रहेर पनि फाइनान्स कम्पनीका रुपमा यसलाई यहाँसम्म ल्याएका छौं, अबको यात्रा भनेको शाखा विस्तार गर्दै बजार बढाउने हो,’ मिश्रले भने ।

गतवर्ष नेपालमा वैधानिक तरिकाले भारतबाट ९० अर्ब रुपैयाँ रेमिटेन्स भित्रियो । मुथुटले हरेक महिना ६० हजार वटा रेमिट्यान्सको कारोबार नेपालमा गर्ने गरेको छ ।

फाइनान्स कम्पनी भएकाले युनाइटेडले विदेशबाट रेमिट्यान्स ल्याउन सक्दैन । अहिले महिनाको डेढ अर्ब रुपैयाँको रेमिट्यान्स भारतबाट मुथुटमार्फत नेपाल आउने गरेको छ ।

यो व्यवसायमा हात हाल्नका लागि युनाइटेडले युएएएफ रेमिट कम्पनी खोलेर शुरुवातमा भारतबाट रेमिट्यान्स कारोबारमा हात हाल्ने तयारी भएको मिश्रले योजना सुनाए ।

‘मुथुटबाट आउने रेमिट्यान्स हामी भारतहुँदै रेमिट्यान्स व्यवसायमा प्रवेश गर्न चाहेका छौं, त्यसपछि अन्य देशमा पनि रेमिट्यान्सको व्यवसाय शुरुवात गर्ने छौ,’ मिश्रले भने ।

मुथुट भारतमा सुन धितो कर्जामा नाम कमाएको संस्था हो । त्यसको विशेषता युनाइटेडले नेपालमा गर्न खोजेको छ । युनाइटेडले सुन धितो राखेर दिने कर्जा अघिल्लो वर्षको तुलनामा शतप्रतिशतले बढाएको छ ।

अघिल्लो वर्ष ३ करोडको हाराहारिमा रहेको सुनधितोको कर्जा यो वर्ष ७ करोड रुपैयाँमा पुगेको छ । अब हरेक शाखा कार्यालयबाट सुनधितोमा कर्जा दिने सुविधा ल्याउन लागेको मिश्र बताउँछन् ।

राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखेर पुस मसान्तसम्ममा ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । भारतमा दिने र नेपालमा दिने सुनधितो कर्जामा फरक रहेको र सुनजाँचकी नपाउने हुँदा यसमा कर्जा दिन समस्या भएको अनुभव मिश्रसँग छ ।

विकास बैंक बन्ने अबको लक्ष्य

राष्ट्र बैंकले ल्याएको मर्जर तथा एक्विजेशन र चुक्तापूँजीको नीतिले विकास बैंक र फाइनान्स कम्पनीको संख्या निकै घटे । अहिले २१ वटा फाइनान्स कम्पनी सञ्चालनमा छन् ।

फाइनान्समा प्रमुख लगानीकर्ता व्यवसायिक घराना चौधरी ग्रुप र एमडब्लु ग्रुप छन् । धेरैलाई युनाइटेड फाइनान्स पनि बैंकसँग मर्जरमा जान्छ जस्तो लागे पनि फाइनान्सले भने अब आफ्नो लक्ष्य विकास बैंक बन्ने रहेको सीइओ मिश्र सुनाउँछन् ।

‘साधारणसभाले अन्य फाइनान्स कम्पनी लिएर विकास बैंक त्यो नभएमा ठूलो फाइनान्स बन्नका लागि म्यानडेट दिएको छ, केन्द्रीय बैंकको नीति फोर्स गर्ने नभएमा संस्था बचाएर अगाडि जाने छौ,’ मिश्रले भने ।

काठमाडौंमा केन्द्रित भएर व्यवसाय गरेको युनाइटेडले विगतमा शाखा नै खोल्दै खोलेन भन्दा पनि हुन्छ । विस २०५२ सालमा खोलेको युनाइटेडले २०६६ सालमा आएर मात्र बिराटनगरमा अर्को शाखा विस्तार गरेको थियो ।

एक शाखाबाट २ पुर्याउन १४ वर्ष लगाएको युनाइटेडले अहिलेसम्म २३ वटा शाखामा मात्रै खोलेको छ । अघिल्लो वर्षसम्म १५ वटा रहेको शाखालाई ३० वटा पुर्याउने र आगामी वर्ष ५० वटासम्म विस्तार गर्ने योजना युनाइटेडको छ ।

‘अब शाखा विस्तार नगर्दासम्म व्यवसायको आकार बढ्दैन, मुथुटको ब्राण्डको कारण सीमावर्ती क्षेत्रमा शाखा खोलेर व्यवसाय बढाउन सक्छौं त्यसैले अबको प्राथमिकता शाखा विस्तार नै हो,’ प्रमुख कार्यकारी अधिकृत मिश्रले भने ।

शाखा खोल्नका लागि सबैभन्दा ठूलो समस्या दक्ष कर्मचारीको अभाव रहेको मिश्र सुनाउँछन् । वाणिज्य बैंक र विकास बैंकले दिने सेवा सुविधाको तुलनामा फाइनान्स कम्पनीको कम हुने हुँदा कर्मचारी तान्न सक्ने अवस्था छैन ।

वाणिज्य बैंक र विकास बैंकले पनि रिटेल व्यवसायमा फोकस गरेको कारण फाइनान्स कम्पनीलाई व्यवसाय गर्न नै गाह्रो स्थिती उत्पन्न भएको बुझाइ मिश्रको छ ।

‘राज्यले विकास बैंक र फाइनान्स कम्पनी चाहिदैन भनेर सो अनुसारको नीति लिने हो भने लगानीकर्ता र कर्मचारीले आफ्नो नीति बनाउन सजिलो हुने थियो, अब चाहिने हो भन्ने हो भने व्यवसायमा सिलिङ लगाउनुपर्छ,’ मिश्रले भने । राज्यले लिएको नीतिको कारण सहकारीले फाइनान्स कम्पनीलाई अर्को समस्या थपेको छ ।

उनले फाइनान्सले रिटेल व्यवसायमा नै फोकस गर्ने योजना बनाएका छन् । युनाइटेडले २५ वर्षमा गरेको फोकस हायरपर्चेज लोनमा हो । सबैभन्दा ठूलो पोर्टफोलियो त्यसमा भएपनि युनाइटेडको एनपीएल औसतभन्दा कम छ ।

यस्तो छ लगानीकर्तालाई दिएको प्रतिफल

युनाइटेडले २५ वर्षको अवधिमा २५७.८२ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै नगद लाभांशको हिसाब गर्दा १२० प्रतिशत नगद लाभांश दिएको छ । यो अवधिमा १ करोडमा खुलेको फाइनान्स १ अर्ब रुपैयाँ बनेको छ ।

२० जना कर्मचारी रहेकोमा अहिले कर्मचारीको संख्या २०५ पुगेको छ । युनाइटेड फाइनान्सले बजारले दिएकै जस्तो लाभांश विगतमा पनि दिएको र आगामी दिनमा पनि लाभांश सोअनुसार दिन सक्ने विश्वास सीइओ मिश्रसँग छ ।

२०५६ सालमा २२ करोड रुपैयाँ रहेको निक्षेप ६ अर्ब ५५ करोड रुपैयाँ असार मसान्तसम्म प्रवाह गरेको छ । ६ अर्ब १४ करोड रुपैयाँ कर्जा दिएको छ ।


क्लिकमान्डु