स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकले कल डिपोजिट बढाए, कुन बैंकको कति ? (सूचिसहित)



काठमाडौं । राष्ट्र बैंकले बैंहरुलाई कल डिपोजिटको हिस्सा कम गर्न निर्देशन दिएपनि सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकले कल डिपोजिटको हिस्सा बढाएका छन् ।

यी दुई बैंकमा कल डिपोजिटको मात्रा अस्वाभाविकरुपमा बढेको हो । ०७६ पुस मसान्तसम्ममा कूल ७६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप रहेको एनसीसी बैंकसँग २४.१५ प्रतिशत अर्थात १८ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ कल डिपोजिट छ । ०७५ पुसमा यस्तो हिस्सा १९.७६ प्रतिशत मात्रै थियो ।

त्यसैगरी, स्टयान्डर्ड चार्टर्ड बैंकको ०७६ पुस मसान्तसम्ममा कूल ८१ अर्ब १० करोड ९४ लाख रुपैयाँ निक्षेपमध्ये २०.८० प्रतिशत अर्थात् १६ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ कल डिपोजिटको हिस्सा छ । जबकि ०७५ पुस मसान्तमा स्टयान्डर्ड चार्टर्ड बैंकमा कल डिपोजिटको हिस्सा ७.२२ प्रतिशत थियो ।

एक वर्षको अवधिमा स्टयान्डर्ड चार्टर्डले कल डिपोजिटको मात्रा ३ गुणाले बढाएको छ ।

राष्ट्र बैंकले ०७५ फागुनमा गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कल डिपोजिटको हिस्सा १० प्रतिशतमा झार्न निर्देशन दिएको थियो ।

तर, ०७६ जेठ ६ गते राष्ट्र बैंकले निर्देशन जारी गर्दै त्यसका लागि समय तोकेको थियो । जेठ ६ गतेको निर्देशन अनुसार ०७७ असार मसान्तसम्ममा बैंकहरुले कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा माथि राख्न पाउने छैनन् ।

राष्ट्र बैंकले एक वर्षअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दा प्राइम कमर्शियल बैंक र एनसीसी बैंकको कल डिपोजिट निकै धेरै थियो । प्राइमको २५.४ प्रतिशत थियो भने एनसीसीको १९.८ प्रतिशत थियो । प्राइमले क्रमशः कल डिपोजिटको हिस्सा घटाउँदै लगेको छ भने एनसीसीले बढाउँदै लगेको छ ।

१ वर्षपछि अर्थात् ०७६ पुस मसान्तमा प्राइमले कल डिपोजिटको हिस्सा झारेर १९.७६ प्रतिशतमा झारेको छ भने एनसीसीले बढाएर २४.१५ प्रतिशत पुर्याएको छ ।

०७५ पुस मसान्तसम्ममा सिद्दार्थ, सेञ्चुरी र सिभिल बैंकको कल डिपोजिट १७ प्रतिशतभन्दा बढी थियो । ०७६ पुस मसान्तमा सिदार्थले १४.५२, सेञ्चुरीले १५.२८ र सिभिलले १६.३६ प्रतिशतमा झारेका छन् ।

०७६ पुस मसान्तको तथ्यांकमा १५ प्रतिशतभन्दा बढी कल डिपोजिट हुने बैंकलाई ०७७ असार मसान्तमा राष्ट्र बैंकले तोकेको १० प्रतिशतको सीमामा झार्न निकै चुनौतिपूर्ण देखिएको छ ।

यस्ता बैंकबाट ठूलो परिमाणमा कल डिपोजिट अरु बैंकमा बाहिरिने हुँदा ती बैंकहरुको निक्षेप बढ्न नसक्ने अवस्था आउन सक्छ ।

उदाहारणका लागि प्राइम बैंकलाई हेरौं ०७५ पुसमा ७६ अर्ब ७२ करोड रहेको निक्षेप ०७६ असार मसान्तमा घटेर ६८ अर्ब रुपैयाँमा झरेको थियो । ०७६ पुस मसान्तमा भने बढेर ८९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

‘हामीले कल डिपोजिटलाई क्रमिकरुपमा घटाउँदै लगेका छौं, हाम्रो बैंकमा भएको कल डिपोजिट अरु बैंकमा गएकाले गत असार मसान्तमा निक्षेप घटेको थियो,’ प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले भने, ‘अहिले भने अवस्था सहज भएको छ ।’

यद्यपि अबको ६ महिनामा झन्डै १० प्रतिशतले कल डिपोजिटको माज्ञा घटाउनु प्राइम बैंकका लागि चुनौतिपूर्ण छ । बचत र मुद्दति निक्षेप म्यासिभरुपमा बढाएर पनि कल डिपोजिटको मात्र कम गर्न सकिन्छ ।

०७६ पुस मसान्तसम्म १६ वटा वाणिज्य बैंकको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । औषतमा बैंकहरुको कल डिपोजिट भने ११.७६ प्रतिशत छ । पुस मसान्तसम्ममा २७ वटा वाणिज्य बैंकले कूल ३० खर्ब ६२ अर्ब २१ करोड २५ लाख रुपैयाँ डिपोजिट रहेकोमा ३ खर्ब ३७ अर्ब १७ करोड रुपैयाँ कल डिपोजिट छ ।

पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकसँग २६ खर्ब ५६ अर्ब रुपैयाँको निक्षेप थियो । जसमा कल डिपोजिट अन्तर्गत बैंकहरुमा २ खर्ब ८४ अर्ब रुपैयाँ थियो । जसअनुसार औसतमा वाणिज्य बैंकहरुसँग कल निक्षेपमा १०.७१ प्रतिशत रकम थियो ।

धरै कल डिपोजिट उठाउने बैंकहरु समस्यामा परेका कारण बैंकिङ प्रणालीमै समस्या जटिल बन्दै गएको बैंकरहरु बताउँछन् ।

‘ठूला बैंकको बचत खातामा रहेको पैसा तान्न साना बैंकले कल डिपोटिज बढाएका छन्, जसकारण बैंकहरुमा बढी समस्या देखियो,’ एक बैंकरले भने ।

ती बैंकरका अनुसार जुन बैंकले कल डिपोजिटको मात्रा बढाउँछ त्यो बैंक जोखिममा हुन्छ । किनभने कल डिपोजिटमा रहेको निक्षेप जुनसुकै बेला पनि बाहिरिने भएकाले त्यसलाई आधार मानेर ऋण दिँदा बैंकहरु समस्या फस्ने गरेका हुन् ।

‘सामान्ययता कूल निक्षेपमा १० देखि १५ प्रतिशतसम्म कल डिपोजिटको हिस्सा हुनु ठीकै हो । तर, २० प्रतिशत माथि कल डिपोजिटको हिस्सा हुनु भनेको त्यो बैंक जोखिममा छ भन्ने संकेत हो,’ ती बैंकरले भने ।

कल डिपोजिटले समस्या थप बढाएपछि नियामक राष्ट्र बैंकले कल डिपोजिट कम गर्न निर्देशन दिएको हो ।


पुष्प दुलाल