युक्रेन युद्ध र चिनियाँ कम्पनीको प्रतिस्पर्धाले साढे ६ लाख कर्मचारी रहेको भोक्सवागनमा परेको असर



चिनियाँ कम्पनीसँगको कडा प्रतिस्पर्धा, तीब्र रुपमा ईभीको उत्पादन र युक्रेन युद्धले जर्मनीको कार उद्योगलाई कस्तो असर पारिरहेको छ ? सरकारले के उपाय र रणनीति तय गर्दैछ ?

एजेन्सी । जर्मनीको लोकप्रिय कार कम्पनी भोक्सवागन विक्रीको हिसाबमा टोयोटापछिको दोस्रो ठूलो कम्पनी मानिन्छ । यसले पोर्से, बेन्टली, लाम्बर्गिनी, हुकाटी र अउडीदेखि लग्जरी ब्रान्ड भक्सवागन, स्कोडा, क्रुपा, स्क्यानिया, मान र सीएट जस्ता ब्रान्ड विक्री गर्दैआएको छ ।

तर पछिल्लो १० वर्षयता यो प्रसिद्ध कम्पनी संकटमा रहेको बताइन्छ । करिब एक दशकअघि अमेरिकी अनुसन्धानकर्ताहरुले भोक्सवागनका गाडीमा उत्सर्जनको फर्जी रिडिङ गर्ने सफ्टवेयरको खुलासा गरे । यसपछि अमेरिका र जर्मनीमा भोक्सवागनमाथि मुद्दा चल्न थाल्यो ।

अनुसन्धानको क्रममा के पत्ता लाग्यो भने भोक्सवागन ग्रुपका तत्कालीन प्रमुख तथा त्यसबेलाका डाइनामिक बिजनेस लिडर भनिने मार्टिन विन्टरकर्नको नेतृत्वमा यस्तो फर्जी काम गरिएको बुझियो । कम्‍पनीले अमेरिकी मुद्दाकै कारण १४ अर्ब ७० करोड अमेरिकी डलर रकम नोक्सान बेहोर्नुपरेको थियो । जरमनीमा भने कम्पनीमाथि मुद्दा जारी छ ।

इलेक्ट्रिक दौडमा कसरी पछाडि परे जर्मन कारहरु ?

डिजलगेट कान्डको रुपमा चिनिएको उक्त मुद्दापछि भोक्सवागनले अब आफू इलेक्ट्रिक कारहरु उत्पादनमा केन्द्रित हुने घोषणा गर्‍यो । यसमा भोक्सवागन केही हदसम्म सफल पनि भयो । यस्तैमा फेब्रुअरी २०२२ मा युक्रेन युद्ध सुरु भयो । जसले गर्दा महंगी बढ्यो । र जर्मनी आफ्नो सैन्य खर्च बढाउन बाध्य भयो ।

जर्मन सरकारले सैन्य खर्च बढाउने र १०० अर्ब युरोको फन्ड बनाउने घोषणा गर्‍यो । तर आवश्यक पैसा जुटाउनका लागि विद्युीय गाडी खरिदमा दिइएको सहुलियत बन्द गरिदियो । यसपछि अन्य कम्पनीसँग भएको प्रतिस्पर्धा र चीनसँग पश्चिमा देशहरुको बढ्दो टकराबले भोक्सवागनसहित अन्य जर्मन कार निर्माताहरुलाई थप चुनौती बढ्यो ।

यससँगै जर्मन भासामा फाउडे भनिने भोक्सवागन आफ्नो सबैभन्दा ठूलो बजार रहेको चीनमा पछाडि पर्‍यो । चिनियाँ अटो बजारमा चीनका सस्ता विद्युतीय गाडीहरु उपलब्ध हुन थाले । महंगा र विद्युतीय मोडेलका कारहरु आएसँगै युरोपमा नयाँ कारहरुको विक्री ज्यादै कम हुन थाल्यो । र हाल जर्मनीको सेकेन्ड ह्यान्ड कार मार्केटमा अहिले पनि पुराना गाडीहरुको मूल्य उच्च छ ।

यस्त कारणको असर जर्मन कार कम्पनीहरुको ब्यालेन्स सिटमा देखिन थालेको छ । २०२४ को पहिलो ६ महिनामा भोक्सवागको शुद्ध नाफामा १४ प्रतिशतले कमी आयो ।

यस अवधिमा १५ प्रतिशतको झट्का बीएमडब्लु र करिब १६ प्रतिशतको कमी मर्सिडिजले सामना गर्नुपर्‍यो । हाल यो संकटको असर सप्लाइ चेनसम्म पुगेको छ । यसबीचमा भोक्सवागनले भने विद्युतीय कारहरुमा धेरै ध्यान दिनुको सट्टा डिजेल र पेट्रोल गाडीहरुको एसेम्बली लाइनमा कटौती गर्नुपर्ने बताएको छ ।

भोक्सवागनमा हजारौं रोजगारी कटौती

भोक्सवागन जर्मनीमा सबैभन्दा धेरै रोजगारी दिने कार कम्पनी हो । ८७ वर्ष पुरानो इतिहासमा पहिलो पटक भोक्सवागने केही मेनुफेक्चरिङ प्लान्टहरु बन्द गर्न लागेको छ ।

जर्मनीमा यसै कारण करिब ३० हजार रोजगारी कटौती हुनसक्ने देखिएको छ । यस्ता कदमबाट कम्पनी १० अर्ब युरो खर्च बचाउन पनि चाहन्छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विश्वभर ६ लाख ५० हजार मानिसहरु भोक्सवागनका लागि काम गरिरहेका छन् । र तीमध्ये ३ लाख मानिस जर्मनीमै काम गरिरहेका छन् ।

यसरी भोक्सवागन संकटको असर जर्मन समाज र जर्मन राजनीतिमा समेत देखिएको छ । जर्मनीका आर्थिक मामिलामन्त्री तथा भिसी समेत रहेका रोबर्ट हाबेकले हालै भोक्सवागनबारे टिप्पणी गर्दै भोक्सवागन जर्मनीमा एक महत्त्वपूर्ण चासोको विषय भएको बताएका थिए । यद्यपि उनले जर्मन सरकारले भोक्सवागनलाई सहयोग गर्ने पनि बताएका छन् ।

जर्मन कार उद्योगको संकट समाधान गर्नका लागि हाबेकले २३ सेप्टेम्बरमा एक कार सम्मेलन समेत आयोजना गर्न लागेका छन् । उक्त सम्मेलमा जर्मन कार उद्योगका सबैजसो सरोकारवालाहरुलाई बोलाइएको छ। अब्बल इन्जिनियरिङका लागि उत्कृष्ट मानिने जर्मन कार उद्योगले यस सम्मेलनमा महत्त्वपूर्ण उपाय तथा रणनीति निकाल्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु