विमान व्यवसायमा ‘कोड सेयरिङ’ र ‘अलाइन्स’, व्यापार बढाउने यस्ता सम्झौता किन हुन सक्दैनन् ?



काठमाडौं । हवाई उड्डयन क्षेत्रमा विमानबीच हुने कोड सेयरिङ व्यवसायका दृष्टिले महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा पछिल्लो दिनमा कोड सेयर सम्झौता सामान्य भइसकेको छ ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय हवाई नीति –२०७६’ को उद्देश्यमा पनि नेपालमा आवागमन गर्ने यात्रुहरुको संख्या अभिवृद्धि गर्ने उद्देश्यले नेपाली वायुसेवाहरुको अन्तर्राष्ट्रिय सञ्जाल एवम् पहुँच वृद्धि गर्न विश्वका अन्य वायुसेवा संस्थाहरुमा अलाइन्स तथा कोड सेयर सम्झौता गर्ने उल्लेख गरिएको छ ।

तर हालसम्म नेपाली एयरलाइन्सहरुले त्यस्तो सम्झौता गरेका छैनन । न त कुनै अलाइन्ससँग आबद्ध छ । व्यापार बढाउनका लागि र बजार विस्तारका लागि महत्वपूर्ण रणनीति मानिने कोड सेयरिङ र अलाइन्समा आबद्ध हुन नसक्दा नेपाल एयरलाइन्सले मौका गुमाइरहेको छ ।

निगमका पूर्व कामु महाप्रबन्धक राजुबहादुर केसी हाम्रो जस्तो कमजोर नेटवर्क भएको एयरलाइन्ससँग कोड सेयरिङ गर्दा अर्को विमान कम्पनीलाई फाइदा कम भन्छन् । उनका अनुसार त्यसै कारणले अन्य विमान कम्पनीसँग कोड सेयरिङ हुन सकेको छैन  ।

‘जम्मा ४ वटा विमान छन्, फेरि सेवा सुविधा पनि सोही अनुसारको छैन, कोड सेयरिङ गर्दा विमान कम्पनीले आफ्नो लेभल जत्तिकै एयरलाइन्ससँग सम्झौता गर्न चाहन्छन, ताकी सेवा र सुविधाको गुणस्तर कमजोर नहोस,’ उनले भने ।

विगतमा इत्तेहाद एयरलाइन्स, कतार एयरवेज र ब्रुक एयरसँग यस विषयमा कुरा नभएको होइन तर केसी भने आफैले आफ्नो सुधार नगर्दासम्म यस्तो सम्झौता हुन नसक्ने उनको भनाइ छ ।

नेपाल वायु सेवा निगमका प्रवक्ता अर्चना खड्का अनुसार विगतमा केही प्रयास भए पनि दुबै पक्षको रुचि र फाइदाको सम्भावना कम भएकाले सम्झौता हुन सकेको थिएन ।

‘पहिले कुवेत एयरलाइन्ससँग केही प्रारम्भिक छलफल भएको हो, तर कुरा अगाडि बढ्न सकेन,’ उनले भनिन् ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नीति भए पनि यस प्रकारको सेवा नेपाली एयरलाइन्सले नलिएको बताउँछन् ।

‘कोड सेयरिङ आर्थिकरुपमा, सुरक्षाका रुपमा र व्यवस्थापनका रुपमा सहज हुने भयो भने एक अर्का विमान कम्पनीबीच सम्झौता हुने र कार्यान्वयन हुने हो, यसले आफ्नो सेवा विस्तार नभएका विमान कम्पनीहरुलाई फाइदा पुर्याउँछ,’ उनले भने ।

उनका अनुसार मार्केटिङ र अपरेटिङ गरी दुई प्रकार हुन्छ । जसमा एउटा कम्पनीले मार्केटिङ गर्ने र अर्को कम्पनीले सेवा सञ्चालन दिने हुन्छ ।

के हो कोड सम्झौता ?
कोड सम्झौता यस्तो विमान व्यवसाय हो जसमा दुई वा दुईभन्दा धेरै विमान कम्पनीहरु एउटै साझा उडान गर्छन् । अर्थात् एउटा विमान कम्पनी व्यापार गर्छ भने अर्को विमान कम्पनीले सञ्चालन गर्छन । जसमा व्यापार मात्रै गर्ने कम्पनी पनि हुन्छ भने सञ्चालन मात्रै गर्ने पनि हुन्छ ।

जस्तै नेपालबाट लन्डनमा सिधा उडान नभएको अवस्थामा दिल्लीसम्म नेपाल एयरलाइन्समा जाने र त्यहाँबाट लन्डन नेपाल एयरलाइन्सले कोड सेयरिङ गरेको अर्को विमानमा जाने हुन्छ । यसमा यात्रुले एउटै टिकटमा दुई वटा विमानमा यात्रा गर्न सक्छन् । जसलाई कोड सेयरिङ भनिन्छ ।

खासगरी विमान लामो दूरी हुने उडान तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवसाय र उडान विस्तार गर्न महत्वपूर्ण मानिन्छ । कोड सेयरिङका माध्यमबाट विमान कम्पनीहरुले आफ्नो व्यवसाय बढाउनका लागि उत्तम विकल्प पनि हो ।

जसको पाइदा नेपाल एयरलाइन्सले लिन सक्ने हो भने एकातिर नेपाल एयरलाइन्सको व्यापार बढ्ने भने यसले नेपालसँग सोझो उडान नहुने विभिन्न गन्तव्यबाट समेत पर्यटकहरु नेपाल आउने सहज माध्यम हुनेछ ।

कोड सेयरिङमा यात्रुका लागि कुनै विमान कम्पनीको टिकटको आरक्षण, सोही उडान कम्पनीको उडान नम्बर दिइन्छ तर यसको सञ्चालन भने अर्को कुनै कम्पनीले गर्छ ।

यात्रुहरुले कोड सेयरिङमार्फत् एउटा कम्पनीको माध्यमबाट दोस्रो सहयोगी कम्पनीको उडानको टिकट बुक गर्ने सुविधा पाउँछन् । कोड सेयरिङबाट यात्रीहरुलाई पास डिस्टिनेसन छनोट गर्ने विकल्प पाउँछन् ।

के हो अलाइन्स ?
दूई वा सोभन्दा बढी विमान कम्पनीबीच हुने गठबन्धन नै एयरलाइन्स अलाइन्स हो । विश्वमा स्टार एयरलाइन्स, वन वल्र्ड र स्काइ टिम गरी ३ प्रकारका अलाइन्स छन् ।

यो गठबन्धनले मार्केटिङको काम गर्छ । यस समूहमा आबद्ध भइसकेपछि अलाइन्सले नै विमान कम्पनीको मार्केटिङ एउटै प्लेटफर्मबाट गर्छ । र, विमान कम्पनीले यसबाट आफ्नो व्यापार विस्तार गर्न सक्छन् ।

स्टार अलाइन्समा हाल २६ वटा सदस्य छन् भने नन–भोटिङ सदस्यको संख्या ४० छ । जसमा ५ हजार ३३ वटा विमान छन् । यी विमानले वर्षेनी १९५ वटा देशका १२९० वटा विमानस्थलमा उडान गर्छन् । स्टार एयरलाइन्सले मात्रै वर्षेनी ७६ करोडभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्छ ।

त्यस्तै, स्काइ टिम अलाइन्सले वर्षमा ६३ करोड यात्रुलाई सेवा दिन्छन् । स्टार टिमसँग १९ वटा सदस्य छन् भने ११५० वटा विमानस्थलमा सदस्य विमानहरुले उडान गर्छन् । यस अलाइन्समा ३ हजार ५४ वटा विमान सञ्चालनमा छन् ।

त्यसतै, वन वल्र्ड अलाइन्सले ५२ करोडभन्दा बढी यात्रुलाई सेवा दिन्छन् । जसमा १३ वटा सदस्य छन् भने नन–भोटिङ सदस्यको संख्या ३० छ । यस अलाइन्सभित्र विश्वका १ हजार १२ वटा विमानस्थलमा उडान गर्ने अनुमति छ ।

एयरलाइन्सबीच हुने अलाइन्स सबैभन्दा पहिले सन् १९३० मा ब्राजिल र अमेरिकाबीच अलाइन्स भएको थियो । त्यस्तै, सन् १९९० मा द अफ्रिकन ज्वाइन्ट एयर सर्भिसको स्थापना भएको थियो ।

जसमा अफ्रिकन मुलुकहरु तान्जानिया, युगान्डा, मोजाम्बियालगायतका मुलुकबीचको हवाई रुट समावेश गरिएको थियो । जसले सन् १९९४ ‘अलाइन्स एयर’ स्थापना गरेका थिए । यस अलाइन्समा साउथ अफ्रिकन एयरवेज, एयर तान्जानीया र युगान्डा एयरलाइन्स सहभागी थिए ।


क्लिकमान्डु