नागढुंगामा सधै सडक बिग्रन्छ, मर्मतको पहल गर्दै सरकार
काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुंगामा हरेक वर्ष सडक बिग्रिन्छ । बढी भार बोकेका सवारी साधानका कारण सो सडकमा धेरै नै समस्या आउने गरेको छ ।
सोही कारण वर्षेनी काठमाडौं भित्रिने र बाहिरिने यात्रुले हैरानी भोग्नु परेको छ । सो समस्यालाई समाधानका लागि पहल शुरु भएको छ ।
सो क्षेत्रमा हाल सडक स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको छ । चेकपोष्टबाट पिपलामोडसम्मको झण्डै २.५ किलोमिटर सडकमा डिभिजन सडक कार्यालयले कालोपत्र थप्ने काम गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलिया, डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीलगायतले सडक स्तरोन्नतीको कामको शनिबार स्थलगत अवलोकन गरेका थिए ।
उनीहरुले काम सन्तोषजनकरुपमा अघि बढिरहेको जानकारी दिए । आगामी चैतसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि आगामी सातासम्म सम्पन्न गर्न गरी निर्माण अघि बढिरहेको छ ।
सवारीसाधनको चाप उच्च रहेको सो सडक खण्डमा निर्माणमा समन्वय गर्न ट्राफिक प्रहरी नियमित खटिएका छन् ।
सो अवसरमा मन्त्री नेम्वाङले काठमाडौं उपत्यका बाहिरका ठूला आयोजनासँगै उपत्यकाको सडक व्यवस्थित बनाउने काम शुरु भएको बताए ।
नागढुंगामा २÷३ वर्षमा सुरुङ बने पनि हालका लागि उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहजरुपमा आवतजावत गर्न सकुन् भनी सडक स्तरोन्नतिको काम अघि बढेको उनले जानकारी दिए ।।
‘विशिष्ठ व्यक्तिको भ्रमणमा वा ठूला कार्यक्रम हुँदा मात्रै होइन यो काम सडक विभागले नियमितरुपमा गर्नुपर्छ,’ मन्त्री नेम्वाङ्ले भने ।
प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ थपलियाले सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको बताए । काठमाडौँ उपत्यकाका खाल्डा हटाइसकेपछि उपत्यका बाहिरका सडकमा समेत काम हुने उनले जानकारी दिए ।
उपत्यकामा धेरै स्थानमा खाल्डाखुल्डी पुर्नका लागि गत मंसिरमा नै ठेक्का सम्झौता भइसकेको थियो । आगामी चैतमा अवधि सकिने भए पनि त्योभन्दा एक महिना पहिले नै सम्पन्न हुने देखिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यस सडकको विकल्प नभएकाले सवारी साधन आलोपालो रोकेर निर्माणको काम भइरहेको जानकारी दिए ।
एकातिरको सडक १०÷१२ मिनेटसम्म रोकेर अर्कातिर निर्माण हुने र फेरि त्यो दिशामा सवारी साधन चल्ने र अर्कातिर निर्माण हुने गरी काम अघि बढेको छ ।
कालोपत्रको काम सकेसम्म सवारी साधनको चाप कम हुने समयमा भइरहेको छ ।
‘सहजीकरणका लागि ट्राफिक प्रहरीको यहाँको युनिट नियमितरुपमा यहाँ खटिएको छ,’ उनले भने ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताए ।
ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको छ ।
डिभिजनले चालू आवमा झण्डै ४१ किमी सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमीमा काम भइसकेको छ । उनले ३१ किमी सडकमा पनि निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए ।
सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमितरुपमा अघि बढिरहेको बताए ।
सो स्थानमा जारी काम आगामी १० दिनभित्रमा सम्पन्न भइसक्ने उनले जानकारी दिए ।
मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री नेम्वाङले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्र पारेका छन् । समयसमयमा निर्माण स्थलमा पुगेर अनुगमन समेत उनले गर्दै आएका छन् ।
काठमाडौँका ९५ ललितपुरको ३८ र भक्तपुरको १९ स्थानमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।