दैलेखमा पेट्रोलियम सर्भेको काम अन्तिम चरणमा, २ वर्षपछि नेपालमै उत्पादन हुने



काठमाडौं । चीन सरकारको सहयोगमा दैलेखको दुल्लुमा पेट्रोलिय पदार्थ अन्वेषणको काम तीव्र पारिएको छ । कुनै अवरोधको समाना गर्न नपरे आगामी २ वर्षमा नेपालीले नेपालमै उत्पादित पेट्रोलियम पदार्थको प्रयोग गर्न पाउने छन् ।

चिनियाँ सरकारको सहयोगमा करिब २ अर्ब रुपैयाँको लागतमा अन्वेषणको शुरु गरिएको हो । अन्वेषणको काम हाल चाईना जियोलोजिकल सर्भेले गरिरहेको छ ।

अर्को दशैंपछि ड्रिलिङको काम शुरु हुने पेट्रोलियम अन्वेषण तथा प्रवर्दन केन्द्रका प्रमुख सुधिर रजौरेले बताए । उनका अनुसार सर्भे पश्चात साढे ४ किलोमिटर ड्रिलिङ गर्नुपर्ने हुन्छ यो काम अर्को वर्षको दशैंपछि शुरु गरिने छ ।

यस्तो खाले अन्वेषणको सफलता करिब १० प्रतिशतमात्रै हुने भएकाले पूर्ण परिणाम आउन अबको २ बर्ष लाग्ने उनले बताए ।

चिनियाँ टोली अन्वेषणका लागि असारको दोस्रो साता नेपाल आएको थियो । विभिन्न चरणमा गरिने अन्वेषण क्रममा कात्तिक महिनाबाट दैलेखको पश्चिमी भागमा सेस्मिक सर्भे गरिएको थियो । ३ महिनाको अवधिमा सर्भेको काम ८० प्रतिशत सकिएको छ । बाँकी २० प्रतिशत २ महिनाभित्र सकिने केन्द्रले जानकारी दिएको छ ।

संविधानमा असहमती जनाउँदै भारतीय पक्षले नाकाबन्दी लगाएपछि नेपालमै पट्रोलियम पदार्थको उत्पादनमा नेपालले चासो दिएको थियो । यसैको परिणमास्वरुप सरकाले पेट्रोलियम अन्वेषणका लागि चीनलाई भित्राउने पहल गरेको थियो । यसैको परिणामस्वरुप ०७२ चैतमा तत्कालिन प्रधानमन्त्री केपीओलीको चीन भ्रमणमा द्विपक्षीय सम्झौता भएको थियो ।

सम्झौतापछि चिनियाँ टोली ०७३ मा नेपाल आई सम्भावित ठाउँको चट्टानलगायतका नमूना संकलन गरी फर्किएको थियो । उक्त नमूनाको अध्ययन पश्चात चिनियाँ टोली अन्वेषणका लागि नेपाल आएको हो ।

नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थ भए पनि कुन ठाउमा कस्तो अबस्थामा कति परिणाम भण्डार रहेको छ यकिन भन्न सकिने अबस्था छैन । यसका लागि हुनुपर्ने विस्तृत भौगर्भिक, भूरसायनिक र भूभौतिक ड्रिलिङ पश्चात मात्रै यसबारे भन्न सकिने प्रमुख रजौरे बताउँछन् ।

केन्द्रका अनुसार नेपालको दक्षिणमा रहेको तराई र चुरे पर्वत श्रृ्रखलाले ओगटेको क्षेत्रमा ग्यास तथा पेट्रोलियम पदार्थ उन्वेषणका लागि उपयुक्त छ । नेपालको जुन भूभागमा पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको छ, भारत र पाकिस्तनका त्यस्तै क्षेत्रमा पनि पेट्रोलियम पदार्थ रहेको छ ।

भारतले चुरे पर्वत श्रृखलामुनीबाट पेट्रोलियम पदार्थ निकालिरहेको छ भने पाकिस्तानले पनि केही क्षेत्रमा उत्खनन गरेको छ ।

नेपालमा पेट्रोलियम पदार्थको वितृत खोजी गरिएको यो दोस्रो पटक हो । यसभन्दा पहिले मोरङको बाहुनीमा यसखालको अन्वेषणको काम भएको थियो । सरकार त्योबेला अन्तराष्ट्रिय बोलपत्रमार्फत् एउटा अन्तर्राष्ट्रिय कम्पनीलाई ठेक्का दिइएको थियो । ३५ सय किलोमिटर छेडेर अन्वेषण गरिए पनि उक्त ठाउँमा औद्योगिक मात्रामा उत्पादन गर्ने गरी पेट्रोलियम पदार्थ भने भेटिएको थिएन ।

अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल बगिरहेका अवस्थामा पाइएको छ भने श्रीस्थानमा जमिन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपीकाको रुपमा मन्दिरमा बालिने गरिएको छ । दैलेखका पादुका, नाभीस्थान र धुलेश्वरमा बाहिरी अबस्थामै कच्चा पेट्रोलियम पदार्थ देखिएको छ ।


क्लिकमान्डु