सवा १ करोड लागतमा टुरिजम स्याटलाइट, केही दिनमै पाइलटिङ गरिने



काठमाडौं । पर्यटकको तथ्यांक संकलन तथा विश्लेषण गर्ने उद्देश्यले शुरु गरिएको पर्यटन बोर्डले पर्यटन स्याटलाइटको काम अन्तिम चरणमा पुगेको छ । पर्यटन बोर्डका अनुसार केही दिनभित्रै पाइलटिङ प्रोजेक्ट शुरु गरिनेछ ।

बोर्डका रिसर्च, प्लानिङ र अनुगमन विभागका प्रमुख मणीराज लामिछानेका अनुसार पर्यटन स्याटलाइट शुरु भएपछि पर्यटकको यकिन तथ्यांक र उनीहरुले गर्ने खर्चको वास्तविक विवरण आउनेछ ।

‘पर्यटक स्याटलाइटको उद्देश्य ‘फ्याक्ट वेस’ बनाउने हो, यसका लागि राष्ट्र बैंक र केन्द्रीय तथ्यांक विभागसँग मिलेर बोर्डले काम गरिरहेको छ, अब यो अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

बोर्ड अनुसार यसका लागि कुल १ करोड १९ लाख रुपैयाँ खर्च हुनेछ । जसमा आन्तरिक पर्यटकहरुको सर्वेक्षणका लागि ९० लाख रुपैयाँ, विदेशी पर्यटकहरुले गर्ने खर्च सम्बन्धि सर्वेक्षणका लागि १५ लाख रुपैयाँ, टुरिजम स्याटलाइट एकाउन्टका लागि अन्य आवश्यक सर्भेहरु गर्नका लागि ७ लाख रुपैयाँ र टुरिजम स्याटलाइट अकाउन्ट्स युनिटका लागि ७ लाख रुपैयाँ खर्च हुनेछ ।

पर्यटन स्याटलाइट तयार पार्नका लागि वर्ल्ड टुरिजम अर्गनाइजेसनका गाइडलाइन्स पालना गरिएको छ । बोर्डका अनुसार अर्गनाइजेसनका तर्फबाट एक जना विज्ञ समेत नेपाल आउनेछन् ।

पर्यटन स्याटलाइटले के काम गर्छ ?
पर्यटन स्याटलाइटले आन्तरिक र विदेशी पर्यटकको संख्या र उनीहरुले गर्ने खर्चको तथ्यांक संकलन गर्छ र विश्लेषण गर्छ । जसमा उनीहरुको उमेर समूह, लिंक, देश, पेशा, कुन ट्राभल एजेन्सीबाट आए, खर्च कसरी गरे, प्याकेजमा कति खर्च गरे, प्याकेजभन्दा बाहिर कति खर्च गरे भन्ने तथ्यांक संकलन गरिन्छ । र, वास्तविक तथ्यांक आउने बोर्डको विश्वास छ ।

सन् २०१७ को तथ्यांक हेर्दा नेपालमा आउने पर्यटकले औसतमा दैनिक ५४ अमेरिकी डलर खर्च गर्दथे । तर सन् २०१८ मा आउने पर्यटकले गर्ने खर्च औसतमा ४४ अमेरिकी डलरमा झरेको थियो । यस अवधिमा पर्यटकको संख्या बढे पनि खर्च गर्ने रकम भने घटेको देखिएको छ ।

सरकारले १५औं पञ्चवर्षिय योजनामा पर्यटकको दैनिक औसत खर्च ४४ बाट बढाएर १०० पुर्याउने लक्ष्य समेत लिएको छ भने मुलुकको जीडीपीमा १० प्रतिशत हिस्सा पुर्याउने लक्ष्य लिएको छ ।

‘अहिले भइरहेको तथ्यांक संकलन र विश्लेषण सतही भयो, अथवा बैंकिङ प्रणालीमा सबै खर्च नआउँदा वास्तविक तथ्यांक नदेखिएकाले टुृरिजम स्याटलाइट अकाउन्ट्स लागू गर्न लागिएको हो,’ लामिछानेले भने ।

केही दिनमै पाइलटिङ
बोर्डका अनुसार केही दिनमै पाइलटिङ शुरु गरिनेछ । त्यसका लागि शुरुमा नेपालमा आइ विदेश जान लागेका कम्तीमा १०० जना पर्यटकसँग विमानस्थलमा गएर सर्भे गरिनेछ । जसमा उनीहरुको उमेर, लिंग, देश, खर्चको प्रकारबारे विस्तृत विवरण संकलन गरिनेछ । साथै त्यसलाई विश्लेषण गरी प्रतिवेदन तयार पारिनेछ ।


क्लिकमान्डु