सडक निर्माणमा सिमेन्टको प्रयोगः अलकत्राभन्दा ३ गुणा टिकाउ, सस्तो कति ?



काठमाडौं । सिमेन्टमा मुलुक आत्मनिर्भर भएपछि सिमेन्टको प्रयोगको अन्य कुन-कुन क्षेत्रमा हुनसक्छ भनेर खोजी शुरु भएको छ । जसमध्ये अहिले सिमेन्ट उद्यागी तथा सरकारले सडक निर्माणमा विटुमिन (अलकत्रा)को साटो सिमेन्ट प्रयोग गर्नेतर्फ योजना बनाउन थालेका छन् ।

केही वर्षअघिसम्म भारतबाट आयात गर्नुपर्ने सिमेन्टमा अहिले मुलुक आत्मनिर्भर भइसकेको छ । मुलुकमा २ वटा सरकारी उदयपुर र हेटौंडा सिमेन्ट उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित ५९ वटा गरी कुल ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

जसमध्ये अहिले कुनै पनि उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । त्यसैले उद्योगीहरु यतिबेला सडक निर्माणमा यसको खपत बढाउन सोही अनुसारको नीति अबलम्बन गर्नुपर्ने भन्दै सरकारसँग सहकार्यका लागि लविङ शुरु गरेका छन् ।

सिमेन्टबाटै सडक निर्माण गर्ने हो भने पनि अहिले सञ्चालित सिमेन्ट उद्योगीले पूर्णक्षमतामा सञ्चालन गरे मात्रै माग धान्न सकिन्छ । त्यसबाहेक भारततर्फ निर्यात गर्न पनि सकिन्छ ।

उद्योग राज्यमन्त्री मोतिलाल दुडगले पनि नेपालमा बढी उत्पादन भएको सिमेन्ट भारतीय सीमावर्ती क्षेत्रमा निर्यात गर्न सकियो भने नेपालभन्दा ठूलो बजार सिमेन्ट उद्योगीले पाउने उल्लेख गरे । त्यसका लागि आफूले भारत सरकारसँग पहल थाल्ने समेत उद्योगीलाई बचन दिएका छन् ।

‘तपाईहरु गुणस्तरीय सिमेन्टको उत्पादन बढाउनु होस्, म भारत सरकारसँग पहल गर्छु, पाम आयलमा केही समस्या देखिएको थियो, त्यसलाई पनि वार्तामार्फत समाधान गरिसकेको छु, सिमेन्ट निर्यातको समस्यालाई पनि समाधान गर्छु,’ दुगडले भने ।

हाल मुलुकमा १ लाख किलोमिटरको सडक विस्तार भइसकेको छ । त्यस्तै, दीगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा मुलुकमा २ लाख किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था छ । त्यसका लागि अर्बौ रुपैयाँ बराबरको बिटुमिन आवश्यक पर्छ ।

मुलुकमा निर्माण भइसकेको १ लाख किलोमिटर सडकमध्ये १५ हजार किलोमिटर सडक राष्ट्रिय र बाँकी ८५ हजार किलोमिटर सडक प्रदेशको मातहतमा छन् । त्यस्तै, कुल १ लाख किलोमिटर सडकमध्ये एक चौथाई मात्रै सडक गुणस्तरीय छन् ।

वर्तमान समयमा सडक निर्माणका लागि बिटुमिन र केही ठाउँमा सिमेन्टको प्रयोग हुँदै आएको छ । तर विटुमिनको गुणस्तरीयता, बिटुमिन प्रयोग गरिएका सडकको गुणस्तर, ती सडकको लाइफका आधारमा विश्लेषण गर्दा विज्ञहरुले सडक निर्माणका लागि सिमेन्ट प्रयोग गर्न सुझाव दिएका छन् ।

विज्ञहरु बिटुमिनको प्रयोग गरी सडक निर्माण गर्दा त्यसको आयु अधिकतम १५ वर्ष हुन्छ । तर सिमेन्टको प्रयोग भएको सडक कम्तीमा ३० वर्ष र बढीमा ५० वर्षसम्म टिकाऊ हुन्छ ।

सडक डिभिजनका उपमहानिर्देशक राजेन्द्रराज शर्माका अनुसार सरकारले आर्थिक वर्ष २०७४/७५ मा वर्ष मात्रै ६५ हजार ७९५ मेट्रिकटन बिटुमिन विभिन्न देशबाट आयात गरेको छ । जसका लागि ३ अर्ब ३४ करोड रुपैयाँको बाहिरिएको थियो ।

यसले मुलुकको व्यापार घाटा पनि निकै बढाएको छ । तर सडक निर्माणमा बिटुमिनको साटो सिमेन्टको प्रयोग बनाउने हो भने त्यसले एकातिर व्यापार घाटा कम गर्छ भने अर्कोतिर सडकको आयु पनि ३ गुणा बढाउँछ ।

‘मुलुकमा बढ्दो सिमेन्टको उत्पादन भएसँगै सडक निर्माणमा यसको प्रयोगलाई बढाउन सकियो भने मुलुकका लागि फाइदा हुन्छ, यसले सडकको आयुलाई बढाउँछ भने खर्च पनि कम गराउँछ,’ शर्माले भने ।

सडक निर्माणमा सिमेन्टका प्रयोग आर्थिक र वातारणीय हिसाबले प्रभावकारी हुने देखिएको छ । सिमेन्टको प्रयोग गर्दा शुरुमा झण्डै ४० प्रतिशतसम्म खर्च बढी भए पनि मर्मतका दृष्टिले सिमेन्टको प्रयोग १३ प्रतिशतले कम पर्न जान्छ ।

सडक विभागका इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार बिटुमिनको प्रयोग हुने सडक निर्माणमा लाग्ने खर्च हिसाब गर्दा कुल रकमको ३६ प्रतिशत निर्माणमा र ६४ प्रतिशत रकम ममर्तमा खर्च हुने देखिएको छ भने सिमेन्ट प्रयोग गरी बनाइएका सडक निर्माणमा ९१ प्रतिशत र ९ प्रतिशत मात्रै मर्मतमा खर्च हुन्छ ।

जस्तै, बिटुमिनको प्रयोग गरी सडक निर्माण गर्दा जति खर्च लाग्छ त्यसको ४० प्रतिशत बढी सिमेन्टको प्रयोग गर्दा लाग्छ । तर बिटुमिनको प्रयोग हुने सडक १५ वर्ष आयुका हुन्छन् भने सिमेन्ट प्रयोग भएका सडकको आयू कम्तीमा ३० देखि ५० वर्षसम्मका हुन्छन् । साथै यसमा ममर्त खर्च निकै कम पर्न जान्छ । यसले मर्मत र आयुका हिसाबले १३ प्रतिशत सस्तो पर्न जान्छ ।

अहिले कतिपय ठाउँमा सडक निर्माण गर्दा सिमेन्ट नै प्रयोग गर्न थालिएको भए पनि त्यसको प्रयोग खासै भएको पाइन्न । कुनै ठाउँमा सडक निर्माणका क्रममा ढलान गर्दा सिमेन्टको प्रयोग गरिन्छ ।

फाइदा पनि, बेफाइदा पनि

अहिले बिटुमिन सडककै बाहुल्यता छ । तर सिमेन्टबाट बनेका सडकहरुमा अहिले कुनै मापदण्डमा बनेका छैनन् । आगामी दिनमा यसलाई निश्चित मापदण्ड बनाएर बनाउनतर्फ लानुपर्ने सडक विभागका उपमहानिर्देशक शर्माको भनाइ छ ।

उनका अनुसार खर्चका हिसाबले सस्तो पर्ने र आयु लामो हुनेसँगै यो सिमेन्टबाट निर्माण गरिएको सडक पानीले पनि असर गर्दैन् । त्यस्तै, रातिको समयमा बढी ‘रिफ्लेक्टिभिटी’ हुने भएकाले सहज हुन्छ ।

सिमेन्ट सडकका फाइदालाई हेर्दा यो प्रतिकुल मौसममा पनि बिग्रदैन । साथै फ्युल खर्चमा समेत १४ प्रतिशत बचत हुन्छ ।

तर दिउँसोको समयमा भने हेर्नका लागि केही समस्या हुन सक्छ भने सडक निर्माण भइसकेपछि बिटुमिनबाट निर्माण भएको सडकमा जस्तै तुरुन्तै प्रयोग गर्न मिल्दैन । बिटुमिनबाट बनाइएको सडक तुरुन्तै प्रयोग गर्न मिल्छ भने सिमेन्टबाट बनाइएको सडक बढीमा २८ दिनसम्म प्रयोग गर्न मिल्दैन ।

तर नयाँ प्रविधिको प्रयोगलाई बढाउन सकियो भने छिट्टै प्रयोग गर्न मिल्ने बनाउन सकिन्छ ।

अहिले मुलुकमा ९० प्रतिशत सामान सडकको माध्यमबाट ओसारपसार हुन्छ । जसका लागि गुणस्तरीय सडक आवश्यक रहेको उनको भनाइ छ ।

आन्तरिक कच्चा पदार्थ

बिटुमिन आयात गर्नुपर्छ भने सिमेन्ट उत्पादनका लागि चुनढुंगा नेपालमै पाइन्छ । र, नेपालमा उत्पादन पनि पर्याप्त छ । अहिले ६१ वटा उद्योगमध्ये ४० वटा ग्रिन्डिङ प्लान्ट र २१ वटा इन्टिग्रेटेड उद्योग छन् । त्यस्तै, सिमेन्टको माग प्रत्येक वर्ष १० प्रतिशतले बढिरहेको छ भने आगामी वर्षमा १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा क्लिङकरको माग ८ मिलियन टन भने उत्पादन क्षमता ८.२ मिलियन टन क्षमताको छ । त्यस्तै, अर्को वर्ष क्लिङकरको माग १२.२० मिलियन टन र क्षमता २५ मिलियन टन डलरको हुने अनुमान गरिएको सिमेन्ट उद्योग संघका अध्यक्ष धुव्र थापाले बताए ।

उद्योगी भन्छन- सस्तोमा दिन्छौं

सडक निर्माणमा सिमेन्टको प्रयोगको नीति ल्याउनका लागि माग गरिरहेका उद्योगीहरुले सरकारलाई सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराउने संकेत गरेका छन् ।

अहिले प्रतिबोरा ७८० रुपैयाँ पर्ने सिमेन्टलाई ५७५ रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट उद्योगीले बचन दिएको सडक विभागको भनाइ छ ।


क्लिकमान्डु