रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई फाइदा के, बेफाइदा के ?: चिन्तामणि शिवाकोटी



विश्वव्यापी रुपमा सुरु भएको आर्थिक उदारीकरणको असर नेपालमा पनि परेपश्चात उल्लेख्य मात्रामा नेपाली कामदारहरू रोजगारीको सिलसिलामा विभिन्न मुलुकहरूमा जाने क्रममा वृद्धि भएको पाइन्छ । विगत दुई दशकदेखि सुरु भएको सो क्रममा हालसम्म पनि जारी रही हाल नेपाली युवाशक्ति कामदारको रुपमा ठूलो संख्यामा विभिन्न मुलुकमा जाने गरेका छन् ।

मुलुकमा पर्याप्त मात्रामा रोजगारीको अवसरहरू नहुनु, कलकारखाना, उद्योगधन्दाको विकास नहुनु, श्रमप्रति सम्मान गर्ने चलनको विकास नहुनु, न्युन पारिश्रमिक हुनु जस्ता कारणले गर्दा वैदेशिक रोजगारीमा जाने प्रचलन बढेकोे हो ।

परम्परागत रुपमा खाडी मुलुकहरूमा जाने गरेकोमा हाल कामको सिलसिलामा नेपालीहरू विश्वको विभिन्न विकशित देशमा पनि रहेका छन । यसरी विदेशी भूमीमा कार्यरत श्रमशक्तिबाट मुलुकले उल्लेख्य मात्रामा विप्रेषण प्राप्त गरिरहहेको छ ।

ठूलो मात्रामा कामदारहरू वैदेशिक रोजगारीमा जाँदा नेपालमा आउने विप्रेषणमा भने केही घटवड भईरहेको देखिन्छ । रोजगारीमा गएका मुलुकहरूको आर्थिक अवस्था, राजनीतिक अवस्था तथा रोजगारी सम्बन्धी नीतिगत व्यवस्था आदिमा परिवर्तन हँुदा नेपालमा आउने विप्रेषणको रकममा स्थायित्व नभएको हो ।

सन् २०१९ को विश्व बैंकको तथ्यांक अनुसार विश्वमा विप्रेषण प्राप्त गर्ने प्रमुख मुलुकहरुमा व्रmमश भारत (अमेरिकी डलर ८२.२ अर्ब), चीन (अमेरिकी डलर ७०.३ अर्ब), मेक्सीको (अमेरिकी डलर ३८.७ अर्ब), फिलिपिन्स (अमेरिकी डलर ३५.१ अर्ब), र इजिप्ट(अमेरिकी डलर २६.४ अर्ब) हुन भने कुल ग्राहस्थ उत्पादनसँगको तुलनामा विप्रेषण प्राप्त गर्ने प्रमुख मुलुकहरुमा व्रmमश टोङ्गा (३८.५ प्रतिशत), हेईटी (३४.३ प्रतिशत), नेपाल (२९.९प्रतिशत ), ताजिकिस्तान (२९.७ प्रतिशत) आदि रहेका छन् ।

यसरी नेपाल विश्वमै ठूलो मात्रामा विप्रेषण भित्रिने मुलुकहरुमध्ये रहेको, ठुलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको, मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएको आदि कारणले गर्दा विप्रेषणको ठुलो महत्व रहिआएको छ ।

नेपालमा विप्रेषण

आर्थिक वर्ष २०६५/६६ मा रु. २०९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा सो मा वृद्धि हुदै आर्र्थिक वर्ष २०७५/७६ सम्म आउँदा रु. ८७९ अर्ब पुगेको देखिन्छ । विगतमा विप्रेषण आप्रवाहमा भारी वृद्धि भएकोमा हालका वर्षहरूमा सो को वृद्धिदरमा कमी आइरहेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरूमा घटदै गई आर्थिक वर्ष २०७१/७२ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा ७.७ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ४.७ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ८.६ प्रतिशत, र आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशत बढेको देखिन्छ । यसैगरी आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी भई रु. ३०४ अर्ब ९७ करोड कायम भएको छ ।

यसरी विप्रेषण आप्रवाह उच्च रहेको सन्दर्भमा सो को तुलना देशको कुल ग्राहस्थ उत्पादनसँग गर्दा आर्थिक वर्ष २०६५/६६ मा २१.२ प्रतिशत रहेकोमा सो दरमा व्रmमश वृद्धि भई हाल आर्थिक वर्ष २०७५/७६ मा आईपुग्दा २५.४ प्रतिशत रहेको छ । सो अनुपात आर्थिक वर्ष २०७२/७३ मा सर्वाधिक उच्च रही २९.६ प्रतिशतमा रहेको थियो । यधपि सो अनुपातले कुल ग्राहस्थ्यमा विप्रेषणको योगदान भनेर बुभ्mने नभई विप्रेषणको आकारलाई मात्र जनाउछ ।

 विप्रेषणबाट हुने फाइदाहरू

तेश्रो घर परिवार सर्वेक्षणका अनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण मुलुकको ५५.८ प्रतिशत घरधुरीमा पुग्ने गरेको र मुलुकका करिव ३१ लाख घर परिवारले प्रतिपरिवार औसत ८० हजार ४०० रुपैयाँका दरले विप्रेषण प्राप्त गरिरहेको देखिन्छ ।

विप्रेषणको अर्को योगदान भनेको चरम गरिबीमा रहेको जनसंख्यालाई गरिबीवाट छुटकारा दिलाउनु हो । केही वर्ष अगाडिसम्म नेपालको गरिबीको रेखामुनिको जनसंख्या ३१ प्रतिशत रहेकोमा हाल २३.८ प्रतिशतमा घटेको आर्थिक सर्भेक्षण प्रतिवेदन २०७०/०७१ मा उल्लेख गरिएको छ । यसरी गरिबी घट्नुमा विप्रेषण एउटा महत्वपूर्ण कारक बन्न पुगेको तथ्य पनि उक्त प्रतिवेदनले उल्लेख गरेको छ । अझ आर्थिक सर्वेक्षण २०७५÷७६ ले मुलुकको गरिबी १८.७ प्रतिशतमा झरेको तथ्यांक प्रस्तुत गरेको छ ।

यसैगरि विप्रेषणका कारण मुलुकमा साक्षरता दरमा वृद्धि गर्नुका साथै शिक्षाको गुणस्तरमा समेत सुधार हुदै गएको छ । आर्थिक अवस्थामा सुधार भए सँगै स्वास्थ सुबिधाहरुको मागमा व्यापकता तथा गुणस्तरमा समेत सुधार हुदै गएकाले जनजीवनको स्वास्थमा समेत सुधार भइरहेको छ ।

यीवाहेक वैदेशिक रोजगारबाट नेपालले प्राप्त गर्नेे अर्को फाईदा भनेको सीपयुक्त जनशक्ति हो । विदेशमा सिकेको सीप स्वदेश फर्केपछि प्रयोग गरी रोजगारी सृजना गर्नेहरूको संख्या पनि उल्लेख्य वृद्धि हुँदै गैरहेको छ । यसवाहेका वैदेशिक रोजगारीका कारण हाम्रो मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि व्यापकता, आर्थिक वृद्धि, भुक्तानी सन्तुलन, नेपालबारे अन्तर्राष्ट्रिय जगतमा जानकारी र प्रचार प्रसार गर्ने, याहाँको कला कौशल, संस्कृति विश्व सामु पुर्याउने, नेपालको प्रमुुख पर्यटकीय गन्तव्यहरूजस्तै सगरमाथा, लुम्विनी लगायत ठाँउहरुको बारेमा विश्व समुदायलाई अवगत गराउदै नेपालमा विदेशी पर्यटकको आगमन बढाउन र विदेशी मुद्रा आर्जन बढाउन समेत वैदेशिक रोजगारीको माध्यमबाट योगदान पुग्ने गरेको छ ।

 वैदेशिक रोजगारीमा जाने कामदारको संख्या

आ.ब. २०६३/०६४ मा वैदेशिक रोजगारीमा जाने कूल संख्या २ लाख थियो भने यो संख्या आ.ब. २०७०/०७१ आईपुग्दा बढेर ५ लाख नाघ्यो । शुरुका वर्षहरूमा पुरुष कामदारहरू मात्रै जाने गरेकोमा हालका वर्षहरूमा महिला कामदारको संख्या समेत उल्लेखनीय रुपमा बढ्न थालेको देखिन्छ । जस्तै आ.ब. २०६३/०६४ मा वैदेशिक रोजगारमा जाने महिला कामदार संख्या ३९० जना मात्र करिव दश वर्ष पछि आ.ब. २०७३/०७४ सम्म आईपुग्दा कूल १ लाख ८२ हजार ७३२ पुगेको देखिन्छ । यसरी वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आ.ब. २०७४/०७५ को जेष्ठ मसान्तसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ५० लाख नाघिसकेको छ ।

यसवाहेक २०६८ को जनगणनाले भारतमा रहेको नेपालीहरूको संख्या ५ लाख ८९ हजार ५० रहेको देखाएको छ जसमा ८८.३ प्रतिशत पुरुष र ११.७ प्रशित महिला रहेको देखिन्छ । सो संख्यामा अझ बढोत्तरी भएको अनुमान गर्न सकिन्छ ।

यी वाहेक श्रम स्वीकृति नलिई जाने तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूको यकिन तथ्यांक हामीसँग नभएको अवस्था छ । यसका साथै शिक्षा, व्यापार, विवाह लगायत विभिन्न प्रयोजनका लागि विदेश जानेहरू, भारतमा रोजगारीका लागि गएका नेपालीहरूको संख्यालाई अभिलेख गर्न सकेमा समग्र संख्या वृहत रुपमा फरक हुने अवस्था आउनेछ ।

वैदेशिक रोजगारमा जाने कामदारमा प्रदेश नं १ र २ को हिस्सा करिब ५० प्रतिशत रहेको देखिन्छ भने प्रदेश नं ३ र ५ मा १६÷१६, प्रदेश नं. ४ मा १३, प्रदेश ६ मा ३ प्रतिशत र प्रदेश ७ मा २ प्रतिशत रहेको देखिन्छ भने सो मध्य दक्ष कामदार १.५% अर्धदक्ष २४% अदक्ष कामदार ७४.५% रहेका छन् ।

प्रमुख गन्तव्य मुलुकहरू

नेपालले ११० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुला गरेकामा व्यक्तिगत श्रम स्वीकृतिमा करिब १७२ मुलुकमा नेपालीहरू कामका लागि गएको पाइन्छ । नेपाली कामदारहरूको मुख्य गन्तव्यका मुलुकका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र यूएई रहेका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरूको पछिल्लो आँकडा समग्रमा अध्ययन गर्दा मलेसिया सहित खाडी मुलुकहरूले ८६.४२% हिस्सा ओगटेको देखिन्छ ।

विगतमा रोजगारीको प्रमुख गन्तव्यमा मुख्यतया खाडि मुलुकहरू रहने गरेकोमा हाल गन्तव्यमा विविधता आई विकशित मुलुकबाट पनि विप्रेषण आउने गरेको छ । खाडी मुलुकहरू र मलेशिया बाहेक जापान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया जस्ता मुलुकहरू विप्रेषणको महत्वपूर्ण श्रोतको रुपमा रहेका छन् ।
यसैगरि अन्य मुलुकहरूमा भारत, जापान, बहराइन, अस्ट्रेलिया लगायतका रहेका छन् । विप्रेषणको आप्रवाहको अध्ययन गर्दा विभिन्न १२ मुलुकहरू प्रमुख श्रोतको रुपमा रहेका छन् । तलको तालिकाले सो तथ्यलाई प्रष्ट पार्दछ ।

गन्तव्य मुलुकहरूको राजनीतिक तथा आर्थिक अवस्था

गन्तव्य मुलुकको राजनीतिक तथा आर्थिक अवस्थाले पनि रोजगारीको लागि सो मुलुकहरूमा जाने कामदारको संख्या, सो कामदारहरूले पठाउने रकम, आदि जस्ता परिसुचकहरूलाई असर गर्ने गर्छ ।

गन्तव्य मुलुकमा राजनीतिक स्थायित्व हुदा सो मुलुकमा जाने कामदारहरूको संख्यामा वृद्धि हुनुका साथै रोजगारीमा पनि केही हदसम्म स्थायित्व सुनिश्चित हुन्छ । राजनीतिक स्थायित्व र आर्थिक स्थायित्व केहि हद सम्म सगसगै जाने हुदा सो मुलुकमा श्रमिकहरूले पाउने पारिश्रमिक, सुविधा आदि आर्कषक भई स्वदेशमा भित्रने विप्रेषणलाई पनि स्थायित्व प्रदान गरिरहेको हुन्छ ।

हालैका वर्षहरूमा विभिन्न गन्तव्य मुलुकमा विभिन्न राजनीतिक तथा आर्थिक उतारचडाव भएका कारण, नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा चालेको सुधारात्मक कार्यव्रmम, तथा मुलुकमै राजनीतिक स्थायित्व सुनिश्चित भएको र रोजगारी तथा उद्यमशिलताका लागि सुमधुर वातावरण बनिरहेका जस्ता कारणहरूले गर्दा बैदेशिक रोजगारीमा जाने कामदारको संख्या तथा सो कामदारहरूबाट मुलुकमा भित्रने विप्रेषणको रकममा स्थिायित्व आउन नसकेको हो ।

 विप्रेषणको लागत

रेमिट्यान्स प्राइस वर्डवाइड नामक विश्व बैंकको एक अङ्गले विश्वमा विप्रेषण आप्रवाह गर्दा लाग्ने शुल्कको बारेमा अध्ययन गर्दछ । विश्वव्यापि रुपमा विप्रेषणको शुल्कलाई घटाउन सन् २००८ देखि सुरु भएको सो प्रयासमा जीटूओ मुलुकहरूको प्रतिवद्धता समेत रहेको छ भने सो अङ्गको प्रयास विश्वव्यापि रुपमा विप्रेषणको खर्चलाई हाल रहेको ६.८२ प्रतिशतवाट ५ प्रतिशत भन्दा कममा लानु हो । यसैगरी संयुक्त राष्ट्र«संघको स्रह–शताब्दी विकास लक्ष्यले सन् २०३० सम्ममा सो दरलाई विश्वव्यापि रुपमा ३ प्रतिशत औसत भन्दा कम लाने लक्ष्य राखेकोे छ।

सन् २०१९ मा दक्षिण एसिया विप्रेषणका लागि न्यून शुल्क भई ४.९० प्रतिशत रहेको छ भने उच्च शुल्क भएको मुलुकमा सव–सहाराको मुलुकहरू रहेका छन् जँहा सो को शुल्क ९.१० प्रतिशत सम्म रहेको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारहरू अधिकांश रुपमा अदक्ष र अर्धदक्ष हुने हुदा सो कामदारहरूले पढाउने रकम समेत कम हुन्छ । सामान्यतया कामदारहरूले अमेरिकी डलर २०० भन्दा कम रकम पढाउने हुदा सो सिमा भित्र रकम पढाउदा शुल्क कम भएमा वैकल्पिक रुपमा रकम पढाउने कार्यमा कमी हुने भई विप्रेषण भित्रिने व्रmम पनि बढने अपेक्षा गर्न सकिन्छ । नेपालको हकमा संयुक्त राज्य अमेरिकाबाट अमेरिकी डलर २०० भन्दा कम पठाउन सबैभन्दा बढी र मलेशियाबाट सबैभन्दा कम लागत लाग्ने देखिन्छ ।

अन्य सरोकारहरू

यसरी रोजगार शिलसिलामा विदेशिने नेपाली कामदारहरूको संख्या बृद्धि सँगसँगै वैदेशिक रोजगारको क्षेत्रमा विभिन्न विकृतिहरू पनि देखा पर्दै आएका छन् ।

म्यानपावरहरूवाट हुने ठगी सो विकृतीहरू मध्य एक प्रमुख हो । सो वाहेक वैदेशिक रोजगारीको क्रममा दूर्घटना लगायत अन्य कारणबाट मृत्यु हुने, अंगभंग हुने, फौजदारी अभियोगमा जेल सजाय पाउने, गम्भिर प्रकृतिका रोगबाट पीडित हुने, दुर्घटना पश्चात आवश्यक क्षतिपुर्ति नपाउने, प्रकृया पुरा नगरि गैर कानुनी तरिकाले रोजगारीका लागि जाने, जस्ता समस्याहरूमा समेत वृद्धि हुँदै गएको छ ।

यस वाहेक वैदेशिक रोजगारीले विप्रेषणका माध्यमवाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान गरेता पनि सो का कारणले हाम्रो देशमा विभिन्न नकरात्मक प्रभावहरू पर्दै आएको देखिन्छ ।

मुलुकमा विकास निमार्ण तथा खेतिपातिमा श्रमिकहरूको अभाव हुनु, गाँउ घरमा उब्जाउ हुने भुिम मरुभुमीकरण हुनु, लामो समय रोजगारीका लागि बाहिर बस्दा समाजिक चाल चलन तथा सम्बन्धहरूमा उतारचडाव आउनु, रोजगारीमा गएकाहरूलाई विभिन्न प्रकारको रोगहरूलाग्नु, रोजगारीको नाममा चेलीबेटी बेचबिखन जस्ता कु–कार्यमा वृद्धि हुनु, विप्रेषण प्राप्त गने घर परिवारमा विलासिताका सामानहरूको प्रयोगमा लगाब बढदै जानु, उत्पादनमुखी कार्यहरूमा संकुचन हुदै जानु, आदि रहेका छन ।

अन्त्यमा

विप्रेषणले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । मुलुकभित्र उल्लेख्य मात्रामा रोजगारीका अवसरहरूको सिर्जना नभइसकेको वर्तमान अवस्थामा वैदेशिक रोजगारीका मार्पmत भएपनि जनताहरूले जीवनयापनका साथै जीवनस्तरमा व्यापक सुधार गरिरहेका छन् ।

गरिबी निवारण, औसत आयुमा वृद्धि, साक्षरता दरमा वृद्धि, स्वदेशि अर्थतन्त्र विस्तार, अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि, आदिमा मुलुकमा भित्रने विपे्रषणले ठुलो भुमिका रहेको वारे विभिन्न अध्ययन अनुसन्धान आदिले पुष्टि गरेको छ ।

हालको अवस्थामा वैदेशिक रोजगारीका माध्यमवाट आउने विप्रेषणले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेता पनि यसकै कारण राज्यले ठुलो सामाजिक मूल्य चुकाउनु परेको यथार्थ छ ।

विप्रेषणले गरेको योगदानलाई सकारात्मक रुपमा लिनसकेता पनि कालान्तरमा यसमै निर्भर रहनु हाम्रो प्राथमिकता होइन । आन्तरिक रोजगारीको अवसरहरूको सिर्जना भई कोहि पनि वैदेशिक रोजगारीमा जानु नपरोस, आफ्नो पसिना र विवेक मुलुककै विकास तथा समृद्धिमा प्रयोग भई आत्मनिर्भर अर्थतन्त्रको निर्माण होस भन्ने हाम्रो ध्येय हो ।
यसका लागि हामीले योजनावद्ध किसिमले काम गर्र्नु पर्ने हुन्छ । तत्कालका लागि वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउन पर्ने आवश्यकता छ । यसो गर्न सकेमा वैदेशिक रोजगारीमा जाने कामदार, उनीहरूमा आश्रित परिवार तथा राज्यले पनि भरपुर फाइदा लिन सक्ने देखिन्छ ।

हालका लागि अन्तर्राष्ट्रिय श्रम बजारमा प्रवेश गर्नुअगावै रोजगारीका लागि चाहिने सिप अनिवार्य रुपमा प्रदान गर्नुलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।

यसैगरि दिर्घकालिन रुपमा वैदेशिक रोजगारीवाट फर्किएका कामदारहरूको सिप तथा दक्षता मुलुकमै प्रयोग हुने किसिमको सहयोगी मुलक योजनाको निमार्ण गर्नुपर्ने, स्वदेश फर्किएका कामदारहरूलाई सामाजिक तथा आर्थिक पुनरएकिकरणका कार्यव्रmममार्पmत स्वरोजगार हुने वातावरण तयार पार्ने, वैदेशिक रोजगारी सुरक्षित र स्वेच्छिक बनाउने, मुलुकमा भित्रिने विप्रेषणलाई उत्पादनमुखि क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्ने, जस्ता कार्यव्रmमहरू प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।

(कृषि विकास बैंकको स्मारिकाबाट साभार)


पुष्प दुलाल