आजदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १०% भ्याट फिर्ता पाइने, यस्तो छ कार्यविधि
काठमाडौं । मंगलबारदेखि विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने भएको छ ।
तपाईंले १००० रुपैयाँ बराबरको सामान किन्दा १३ प्रतिशत अर्थात् १३० रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्छ ।
तपाईंले अब विद्युतीय माध्यमबाट भुक्तानी गर्नुभयो भने उक्त १३० रुपैयाँको १० प्रतिशत अर्थात् १३ रुपैयाँ तत्कालै फिर्ता पाउनु हुने भएको छ । यसरी फिर्ता भएको रकम तपाईंको बैंक खातामा आउँछ ।
सरकारले यसका लागि ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया-२०७६’ गत महिना नै जारी गरेपनि भोलिदेखि मात्रै कार्यान्वयन गर्ने भएको हो ।
सरकारले बजेटमार्फत् नै विद्युतीय माध्यमबाट भुक्तानी बढाउनका लागि १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा गरेको थियो ।
‘मंगलबारदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता प्रक्रिया शुरु हुनेछ, हालसम्म यस प्रणालीमा जोडिएका कम्पनीमार्फत् मात्रै कारोबार गर्दा भ्याट फिर्ता हुनेछ,’ विभागका महानिर्देशक बिनोद बहादुर कुँवरले क्लिकमाण्डूसँग भने ।
विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले हालसम्म ३ वटा बैंक मात्रै यस प्रणालीमा दर्ता भइसकेको जानकारी दिए ।
‘अन्य बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रदायक निकायहरु आवेदनको प्रक्रियामा छन्, तर हालसम्म ३ वटा बैंक मात्रै प्रक्रिया पूरा गरी दर्ता भएका छन्, दर्ता भएका कम्पनीबाट भुक्तानी गर्दा मात्रै १० प्रतिशत भ्याट फिर्ता हुन्छ,’ पाण्डेले भने ।
विभागका अनुसार जुनसुकै विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता तुरुन्तै उपभोक्ताको बैंक खातामा फिर्ता हुन्छ । तर यसका लागि विभाग र भुक्तानी प्रदायक संघ संस्थाहरुको प्रणाली मिल्ने गरी अपडेट गराउनु पर्ने हुनाले यसमा केही ढिलाइ भएको विभागको भनाइ छ ।
उपमहानिर्देशक पाण्डेका अनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता हुनेछ । जसका लागि विभागले विद्युतीय भुक्तानी सम्बन्धि उपकरण माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनका लागि भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरु विभागको एकीकृत कर प्रणालीमा आवद्ध हुनुपर्नेछ ।
यसका लागि विक्रेताले अनिवार्य विद्युतीय विजकको प्रयोग गर्नुपर्नेछ । त्यस्तै विद्युतीय भुक्तानी उपकरण सेवाप्रदायकसँग समेत आबद्ध हुनुपर्ने कार्यप्रक्रियामा उल्लेख छ । साथै कर लाग्ने वस्तु आपूर्ती गरी बैंक खातामा भुक्तानी प्राप्त गर्ने र स्वचालित रुपमा उपभोक्तालाई कर फिर्ता गरेर सबै रकमको हिसाब राख्नुपर्ने उल्लेख छ ।
उपभोक्ताको बैंक खातामा फिर्ता भएको भ्याटको विवरण कर अवधिको विवरण पेश गर्दा प्रत्येक पटक समावेश गर्नुपर्नेछ ।
यसका लागि बिक्रेताले उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनका लागि विभाग समक्ष निवेदन दिनुपर्नेछ । जसमा कुन वर्गको विद्युतीय माध्यमबाट कारोबार हुने हो त्यो समेत उल्लेख गर्नुपर्नेछ । जसमा पेमेन्ट कार्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ, पेमेन्ट सिस्टम अपरेटर, पेमेन्ट सर्भिस प्रोभाइडर के हो उल्लेख गर्नुपर्नेछ ।