पर्यटकलाई रातिमा पनि विश्व सम्पदा घुमाइने, पुर्ननिर्माण ६०% सकियो, पूरा हुन अझैं २ वर्ष लाग्ने



काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अब रातिमा पनि सास्कृतिक सम्पदा घुम्न पाइने बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न ‘भ्याली वाइ नाइट’ कार्यक्रम सञ्चालन गरिने बताए । जसअन्तर्गत रातिमा पनि पुरातात्विक, एतिहासिक र सास्कृति सम्पदा घुम्न पाइनेछ ।

‘भक्तपुरमा शुरु भइसकेको छ, त्यहाँ अहिले लाइटिङको काम भइरहेको छ, अब वसन्तपुर, हनुमानढोका र पाटन दरबार स्क्वायर क्षेत्रमा पनि रातिमा पर्यटक घुम्न सक्नेछन,’ उनले भने ।
भट्टराईले ती क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन लागेको बताए ।

भूकम्पबाट ध्वस्त भएको धरहरालाई भूकम्प स्मारकका रुपमा यथावत राखी नयाँ प्रविधिबाट धरहरा निर्माण गरिने समेत मन्त्री भट्टराईले जानकारी दिए ।

‘पुरानो भत्किएको धरहरा यथावत नै रहन्छ, छेवैमा नयाँ धरहरा बन्छ, जसमा पुराना र नयाँ सामग्री प्रयोग गरी पुरानै शैलीमा निर्माण गरिनेछ,’ उनले भने ।

नेपालमा झण्डै ५ हजार वर्षअघिदेखिको मावनवस्ती भएको उल्लेख गर्दै विश्व सम्पदाको केन्द्र भएकाले मानव सभ्यता, इतिहासबारे जानकारी लिन नेपाल नआइ पूरा नहुने बताए ।

‘नेपाल विश्वसम्पदाबारे अध्ययन गर्न विश्वविद्यालयका विद्यार्थीहरु नआइ नहुने गन्तव्य हो, प्राचिन सस्कृति, सम्भयता र इतिहासको अध्ययन गर्न नेपाल उपयुक्त छ,’ उनले भने ।

त्यस्तै, पुरातत्व विभागले भूकम्पका कारण क्षतिग्रस्त ९२० वटा सम्पदामध्ये ४०० वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिएको छ ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमले पुर्ननिर्माणका लागि ३७० वटा सम्पदा बाँकी रहेको बताए । जसमध्ये चालु आर्थिक वर्षमा १५० वटा पूरा हुने र बाँकी २ वर्षभित्रमा निर्माण सम्पन्न भइसक्नेछ ।

भूकम्पबाट क्षतिग्रस्त ९२० सम्पदामध्ये ७३७ विभागबाट र १८३ स्थानीय निकायलगायत अन्य संघसंस्थाबाट सञ्चालन हुनेछन् ।

जसमध्ये पशुपति क्षेत्र विकासले ६२ वटा, भारतीय अनुदानमा २८ वटा, एसियाली विकास बैंकले २० वटा, चीन सरकारले २ वटा, जापान सरकारले २ वटा, श्रीलंकन सरकारले २ वटा, यूनेस्कोले २ वटा र केभीपीटीले १५ वटा सम्पदा पुर्ननिर्माण गर्नेछन् भने बाँकी सम्पदा सरकारले पुर्ननिर्माण गर्नेछ ।

जसका लागि सरकारले पुर्ननिर्माण गर्ने ७३७ वटा सम्पदाका लागि ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँमध्ये बाँकी ३ अर्ब ६२ करोड ५ लाख ६० हजार रुपैयाँ खर्च हुन बाँकी छ ।


क्लिकमान्डु