लगानीकर्ताको डाटा सुरक्षित राख्ने जिम्मा लिएको वाइकोसँग ब्रोकर असन्तुष्ट, विकल्प खोज्ने तयारी



काठमाडौं । सेयर दलाल व्यवसायीहरुले आफ्नो डाटालाई व्यवस्थित र सुरक्षित रुपमा राख्नका लागि वाइको कम्पनीलाई दिएका छन् । तर वाइको कम्पनीको काममा चित्त नबुझेपछि त्यसको विकल्प खोज्ने तयारीमा जुटेका छन् ।

गत वर्ष नेप्सेले अनलाइन सिस्टम ल्याएपछि ब्रोकरहरुले नेप्सेको अनलाइन बनाउने वाइको कम्पनीलाई नै दिएका थिए ।

वाइको कम्पनीलाई त्यसबापट ५० वटा ब्रोेकरहरुले मासिक ७ लाख ५० हजार रुपैयाँ पनि तिर्दै आएका छन् । तर वाइकोको कामप्रति ब्रोकरहरु भने सन्तुष्ट हुन सकेका छैनन् ।

नेप्सेले अनलाइन प्रणाली शुरु गर्नु पूर्व आईटी विशेषज्ञको आवश्यकता कम महशुस गरेका ब्रोकरलाई अहिले आईटी अनिवार्य भएको छ ।

त्यही भएर नेप्सेको अनलाइन बनाएको वाइकोलाई नै आईटीको जिम्मेवारी दिएको ब्रोकहरुको भनाइ छ ।

नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले वाइकोसँग गरेको सम्झौता अनुसार सेवा नदिए ब्रोकरले विभिन्न समस्या भोगेर उनीहरुलाई नै राख्नुपर्ने बाध्यता नभएको बताए ।

‘हामीले उनीहरुलाई मासिक साढे ७ लाख दिने गरेका छौं, उनीहरु हाम्रा मान्छे हुन् की नेप्सेका हुन, त्यो छुट्याउन आवश्यक छ’ अध्यक्ष रानाभाटले भने, ‘नेप्सेले राखेको मान्छे को-को हुन् र हामीले राखेको मान्छे कुन-कुन हुन हामीले लिस्ट मागेका छौं ।’ उनले आफूले मागेको विवरण नआए विकल्प खोज्न बाध्य हुने बताए ।

‘सँधै ब्रोकर कम्पनीले आईटी विशेषज्ञ राखेन भनेर आरोप मात्रै लगाउनु भएन, उनीहरु हाम्रो मान्छे हो भने हामीले भनेको समयमा हाम्रो कार्यालयमा आउनु पर्यो,’ उनले भने ।

आगामी दिनमा ब्रोकरहरुले समस्या परेको समयमा उनीहरुबाट पाउनुपर्ने सेवा नपाएको खण्डमा टिएमएस, डाटा सेन्टर आफै हेर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ब्राेकरले आईटी सेवा दिएबापत वाइकोलाई उक्त रकम तिरेको हो । त्याे रकम अनलाइनका लागि मात्रै नभएर टिएमएस, डाटा सेन्टरमा अाएकाे समस्या, अफिसमा अाएकाे समस्या समाधान गर्ने शर्तमा एचअारकाे जिम्मा पनि वाइकाेलाइ नै दिएकाे ब्राेकरहरूकाे भनाइ छ ।

‘ब्रोकरहरुले आईटीको सबै विषय थाहा नपाउन सक्छन त्यसैले हाम्रो कार्यालयमा दैनिक २, ३ पटक ब्रोकरको अफिसमा आउने आईटीको जानकार मान्छे चाहिन्छ,’ उनले भने ।

यता नेप्सेले भने ब्रोकर कार्यालयमै आईटी राख्नुपर्ने बताउँदै आएको छ । झण्डै डेढ वर्ष अघि नै धितोपत्र बोर्ड, नेप्से र ब्रोकरबीच भएको छलफलमा ब्रोकरलाई आईटी राख्न सुझाव दिइएको थियो ।

तर एक/दुई ब्रोकर बाहेक कसैले पनि आईटी बिशेषज्ञ राखेका छैनन् । नेप्सेका एक अधिकारीका अनुसार अनलाइन शुरु भएपछि ब्रोकर कार्यालयमा कम्प्युटरको तार छुट्दा, सिस्टम अफ हुँदा अन नगरेर पनि अनलाइनमा समस्या भयो भन्नेहरु धेरै छन्, आईटीको जानकार राख्ने हो भने त्यो समस्या समाधान हुने छ ।

नेप्सेका एक अधिकारीका अनुसार ब्रोकर कार्यालयमा आफ्नो आईटी राख्दा साना साना पनि समस्याको भागिदार नेप्से हुनुपर्दैन ।

‘आईटी हेर्ने प्राविधिक नहुँदा डिपी चेक गर्ने स्वीच अन छ की अफ छ भन्ने थाहा नहुने, टीएमएसको सानातिना विषय पनि थाहा नपाउने, कुन स्वीच अन, कुन अफ गर्ने भन्ने पनि थाहा नपाउने, लगानीकर्तालाई तत्काल कुनै समस्या आयो भने पनि थाहा नहुने समस्या बढीरहेको छ’ नेप्सेका ति अधिकारीले भने ।

आईटी राम्रो भएको खण्डमा व्यापार बढ्नेतर्फ ब्रोकरले ध्यान नदिएको उनको गुनासो छ ।

यता सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल शतप्रतिशत नजिता आउनको लागि ब्रोकर कार्यालयमा आफ्नै प्राविधिक चाहिने बताउँछन् ।

‘ब्रोकर कार्यालयमा आईटीको जानकार नहुँदा पुँजीगत लाभकर, बेस प्राइज जस्ता विषयमा हामीले निकै दुःख पाएका छौं । लगानीकर्ताले जाने र होस वा नजानी विभिन्न दुःख पाएका छौं,’ उनले भने ।

यो विषयमा नियामक निकायले ध्यान दिन आवश्यक रहेको र यो विषयमा धितोपत्र बोर्डंको अध्यक्ष भिष्म राज ढुंगानासँग पनि कुरा गर्ने अध्यक्ष अर्यालले बताए ।

यता आफ्नै कार्यालयमा आईटी विज्ञ राखेका ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटिज) अध्यक्ष राजकुमार तिमल्सीनाले नियामक निकायले मौखिक रुपमा आईटीको जानकार व्यक्ति राख्नु भनेपनि त्यसको जिम्मा वाईको कम्पनीलाई दिएपछि ब्रोकरलाई अनिवार्य नभएको बताए ।

‘हामीले त पहिलेदेखि नै आईटीबारे जानकार व्यक्ति राखेका छौं, नेप्सेले अनलाइन शुरु गरेपछि प्रत्येक शुक्रबार लगानीकर्ता जो इच्छुक हुनुहुन्छ उहाँहरुलाई तालिम पनि दिइरहेका छौं । झन कनेक्ट आईपिएस चलाउन नजान्ने लगानीकर्तालाई अनलाइनमा समस्या हुन्छ त्यही भएर यो शुरु गरेको हो,’ उनले भने ।

आफूले धेरै लगानीकर्तालाई अनलाइन यूजर नेम र पासवर्ड दिएकाले नेप्सेले सम्मान पनि गरेको उनले स्मरण गरे ।

‘आईटीबारे जानकार राखेपछि सिस्टममा समस्या आउँदा, नेप्से वा वाइकोको सिस्टममा समस्या देखियो भने पनि समस्या समाधान गर्न सजिलो हुन्छ । हामीले सबै विषय जानेको हुँदैन । कुनै समयमा वेवमा समस्या आउला, कुनै समयमा कम्प्युटरमा समस्या आउला, त्यो समस्या समाधान गर्नको लागि आईटिको जानकार राखेको हो,’ उनले भने ।

ब्रोकर कार्यालयले बिजनेश गर्ने हो भने खर्च गर्न डराउन नहुने उनको भनाइ छ । आईटीमा गरेको लगानी खेर नजाने र राम्रो सेवा दिएको खण्डमा त्यो लगानी उठने उनको बुझाइ छ ।

ब्रोकर कार्यालयको पनि सामाजिक उत्तरदायित्व हुने भएकाले त्यसमा लाग्न सबैले आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु