एयर इन्डियाको सबै सेयर बिक्री गर्दै भारत सरकार



ऋणमा चुर्लम्मै डुबेको भारतीय सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाको शतप्रतिशत सेयर बिक्रीका लागि भारत सरकारले १७ मार्चसम्म बोलकबोल प्रक्रिया शुरु गरेको छ ।

कुल ६० हजार करोड भारु ऋणमा रहेको एयर इन्डियामा अब नयाँ लगानीकर्ताले जम्मा २३ हजार २८६.५ करोड भारुको जिम्मेवारी मात्रै लिए पुग्छ । बाँकी ३७ हजार करोड भारुको जिम्मेवारी भारत सरकारले लिनेछ ।

सरकारले एयर इन्डियाको म्यानेजमेन्ट कन्ट्रोल समेत जिम्मा दिने बताइसकेको छ ।

यसअघि पनि सन् २०१८ मा पनि सरकारले एयर इन्डिया बिक्रीका लागि पहल गरेको थियो । तर तत्कालिन समयमा कुनै कम्पनीले पनि यसमा चासो देखाएका थिएनन् ।

त्यसैले २ वर्षपछि सन् २०२० मा सरकारले सर्त केही खुकुलो बनाएर प्रक्रिया अगाडि बढाएको हो । सन् २०१८ मा सरकारले जम्मा ७६ प्रतिशत सेयर बिक्री गर्न चाहेको थियो भने अहिले शतप्रतिशत बिक्री गर्न खोज्दैछ ।

साथै सन् २०१९ मा ५१ हजार करोड भारु ऋण मध्ये खरिदारले जम्मा ३३ हजार ३९२ करोड रुपैयाँको ऋण उठाउनु पर्ने थियो भने अहिले त्यो जिम्मेवारी जम्म २३ हजार २८६ हजार करोड भारु छ ।

तत्कालिन समयमा खरिदकर्तासँग ५ हजार करोड भारु हुनु जरुरी थियो भन अहिले खरिदकर्तासँग ३५ सय करोड भारु भए मात्रै पुग्छ । साथै सन् २०१८ मा बोली लगाउने कम्पनी पछिल्लो ५ वर्षमा ३ वर्ष नाफामा रहनु पर्ने सर्त थियो भने अहिले त्यो सर्त हटाइएको छ ।

साथै तत्कालिन समयमा कंसोर्सियमको प्रमुख सदस्यको हिस्सेदारी ५१ प्रतिशत र अन्य सदस्यको २० प्रतिशत हुनु पर्ने थियो भने अहिले प्रमुख सदस्यको २६ प्रतिशत र अन्य सदस्यको १० प्रतिशत जरुरी हुने उल्लेख गरिएको छ ।

लिलामीका क्रममा एयर इन्डिया एक्सप्रेसको समेत शतप्रतिशत सेयर बिक्री गरिनेछ । यो एयर इन्डिया कमपनीको सब्सिडरी कम्पनी हो । जसले सस्तो उडान मात्रै सञ्चालन गर्छ । ज्वाइन्ट भेञ्चर एआईएसएटीएसमा पनि सबै ५० प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको छ ।
एआईएसएटीएस, एयर इन्डिया र एसएटीएस लिमिटेडका बीचमा ५०÷५० प्रतिशतको साझेदारी छ ।

हाल कम्पनीमा १६ हजार ७७ जना कर्मचारी छन् । जसमा स्थायी कर्मचारीका लागि ३ प्रतिशत सेयर रिजर्भमा राखिनेछ ।

८८ वर्ष पहिले टाटाले शुरु गरेका थिए एयरलायन्स

सन् १९३२ मा टाटा एयरलाइनले यो सेवा शुरु गरेका थिए । १५ अक्टोबर १९३१ को जेआरडी टाटाले कराँचीबाट मुम्बईसम्मको उडान आफैले उडाएका थिए । उनी भारतका पहिलो लाइसेन्स लिने पाइलट थिए । सन् १९४६ मा यसको नाम परिवर्तन गरी एयर इन्डिया राखिएको थियो ।

भारत स्वतन्त्र भएपछि सन् १९५३ मा यसलाई राष्ट्रियकरण गरियो । डोमेस्टिक मुभमेन्टका लागि इन्डियन एयरलाइन्स र इन्टरनेशनल फ्लाइट्सका लागि एयर इन्डिया बनाइएको थियो ।

एयर इन्डियालाई अहिले पनि टाटा समूहले खरिद गर्ने चर्चा चलेको छ ।


क्लिकमान्डु