चालु आवको ५ महिनामा बीमा कम्पनीले गरे साढे २ खर्ब बढी लगानी



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीले २ खर्ब ९८ अर्ब ८० करोड ९१ लाख रुपैयाँ विभिन्न शीर्षकमा लगानी गरेका छन् ।

उक्त लगानीमध्ये १९ वटा जीवन बीमा कम्पनीले २ खर्ब ६२ अर्ब २३ करोड ८३ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीले ३६ अर्ब ५७ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले ७८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले धेरै लगानी गर्ने जीवन बीमा कम्पनीमा तेस्रो स्थानमा छ । नेशनल लाइफले २७ अर्ब ८७ करोड ३३ं लाख रुपैयाँ लगानी गरेको छ ।

चौथो स्थानमा राष्ट्रिय बीमा संस्थानले २३ अर्ब ८ करोड ६ लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी दिएको छ ।

सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । महालक्ष्मीले यो अवधिमा १ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ मात्रै लगानी गरेको छ । त्योभन्दा केहीबढी लगानी सानिमा लाइफ इन्स्योरेन्सको छ । सानिमाले १ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ ।

यता २० वटा निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक १९ वटा निर्जीवन बीमा कम्पनीको लगानी मंसिर मसान्तसम्म ३६ अर्ब ५७ करोड ७ लाख रुपैयाँ छ । निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी लगानी गर्नेमा नेको इन्स्योरेन्स छ ।

नेकोले ३ अर्ब २ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै शिखर इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रिमियर इन्स्योरेन्सले २ अर्ब ६६ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ भने निर्जीवन बीमातर्फ सबैभन्दा कम लगानी गर्नेमा सानिमा इन्स्योरेन्स कम्पनी छ । सानिमाले ८४ करोड २२ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

बीमा समितिले बीमकको ‘लगानी निर्देशिका २०७५’ जारी गरी बीमा कम्पनीले लगानी गर्ने क्षेत्र पनि निर्धारण गरिसकेको छ ।

समितिले निर्देशिका जारी गर्दै बीमा कम्पनीले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्नका लागि बाटो खोलेको छ ।

उक्त निर्देशिका अनुसार कृषि, पर्यटन, जलस्रोत, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था पर्याप्त छ । निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न बाटो खुलेको छ ।

यस्तै, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । बीमा कम्पनीले धितोपत्र बोर्डबाट इजाजतप्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

जसले गर्दा बीमा कम्पनीलाई लगानी गर्न सहज भएको छ । अहिलेपनि बीमा कम्पनीहरुले लगानी गर्नुभन्दा पनि मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाने गरेको आरोप लाग्दै आएको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीले मुद्दति निक्षेपमा पैसा राख्ने र त्यसको ब्याज खाने, अन्यत्र क्षेत्रमा लगानीयोग्य रकम जान कम भएकाले र उत्पादनमुलक क्षेत्रमा लगानी बढोस् भनेर समितिले ‘लगानी निर्देशिका २०७५’ जारी गरेको जनाएको छ ।

यता जीवन बीमा कम्पनीहरु भने यतिबेला लगानीको उपयुक्त वातावरण र राम्रा कम्पनी खोजी रहेको बताउँछन् ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले नियामक निकाय बीमा समितिले भनेको क्षेत्रमा नै बीमा कम्पनीहरुले लगानी गर्दै आएको बताए ।

बीमा क्षेत्रको लगानी जनताको पैसा भएकाले जुन पायो त्यही क्षेत्रमा लगानी गर्न समस्या हुने र लगानी गर्दा त्यसको रिस्क कतिको हुन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

जलविद्युत् क्षेत्रमा ५ प्रतिशत लगानी गर्ने भनेर भनिएको र त्यसका लागि सरकारको राम्रो ब्याकअप दिएमा लगानी गर्न सकिने उनको भनाइ छ ।

अर्को प्रोजेक्ट बेस्ड फाइनान्सिमा लगानी गर्ने विषयमा कस्तोमा लगानी गर्ने हो ? कोसँगको सहकार्यमा लगानी गर्ने भन्नेमा प्रष्ट हुन आवश्यक रहेको अध्यक्ष पाण्डेको भनाइ छ । उनले यस विषयमा प्रष्ट हुन आवश्यक रहेको बताए ।


क्लिकमान्डु