आईपीओ निष्काशनमा भारी गिरावट, सेबोन अध्यक्षले भने- सेयर कारोबारको समय लम्बाउनुपर्छ



काठमाडौं । दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको कारोबार आशातित रुपमा नबढेका बेला साधारण सेयर (आईपीओ)को निष्काशनमा समेत भारी गिरावट आएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै दिइएको विवरणमा प्रारम्भिक सार्वजनिक निष्काशनमा भारी गिरावट आएको जानकारी दिइयो ।

बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले नेप्सेमा कारोबारको समय लम्बाउने विषयमा सोच्न सकिने बताए । अहिले धेरै कारोबार अनलाइनबाट हुन थालेकाले कारोबारको समय लम्बाउन सकिनेतर्फ उनले संकेत गरे ।

‘पहिले जस्तो अहिले म्यानुअल सिस्टमबाट काम गर्नुपर्ने अवस्था छैन, अनलाइनबाट नै काम हुन थालिसकेको छ, त्यसैले कारोबारको समय लम्बाउने विषयमा हाललाई नेप्सेलाई इन्डिकेसन मात्रै दिएको हो,’ उनले भने ।

‘हामीले रियल टाइमका काम गर्न सक्नुपर्छ, बिहान लगाएको पैसाले दिनभरीमा ५ वटा काम गर्न सक्नुपर्छ, हामी विस्तारै प्रविधिमैत्री भएर कारोबार सञ्चालन गर्ने दिशामा लागेका छौं,’ उनले भने ।

त्यस्तै, नेप्सेको विकल्पमा प्रतिष्पर्धी ल्याउने वा नल्याउने विषयमा अध्ययन जरुरी रहेको उनले बताए । साथै नेप्सेलाई प्रादेशिक तहमा लैजानका लागि पनि छलफल भइरहेको बताए ।

बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले नेप्सेलाई प्रादेशिक तहमा लैजाने विषयमा छलफल भइरहेको बताए । उनले प्राथमिक सेयर मुलुकका २५ सयभन्दा बढी स्थानबाट कारोबार गर्न सकिने र दोस्रो बजारलाई पनि प्रादेशिक तहमा लैजानका लागि बोर्डले निर्देशन दिइसकेको बताए ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक जलविद्युत कम्पनीले मात्रै आईपीओ निष्काशनसम्बन्धि अनुमति प्राप्त गरेको छ । सो अनुमति प्राप्त गर्ने कम्पनीले ३३ करोड ९१ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न खोजे पनि ७ करोड रुपैयाँ मात्रैको बिक्री भएको छ । त्यो भनेको कुल २१ प्रतिशत मात्रै हो ।

गत आवको सोही अवधिमा आईपीओ निष्काशनतर्फ ९ वटा जलविद्युत कम्पनी र २ लघुवित्त गरी ११ संगठित संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुमति प्राप्त गरेका थिए । अनुमति लिएका कम्पनीको सबै धितोपत्र लगानीकर्ताले खरिद गरेका थिए ।

तर यसपटक अनुमति प्राप्त गर्ने सार्वजनिक संस्था समेत असाध्यै कम देखिएको र तोकिए अनुसारको सेयर समेत बिक्री नभएको पाइएको छ । तर बीमा तथा लघुवित्त कम्पनीले हकप्रद सेयर बिक्रीमार्फत पुँजी वृद्धि गरेसँगै समीक्षा अवधिमा हकप्रद निष्काशनमा बढोत्तरी देखिएको छ ।

यसअवधिमा ७ सूचीकृत कम्पनीले २ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशनका लागि अनुमति पाएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ७० प्रतिशतले बढी हो ।

यस्तै ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा करिब ७० प्रतिशत बढी हो । गत वर्ष ८ अर्ब ६० करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएका थिए ।

यस्तै, १६ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र चालु आवको ६ महिनामा बिक्री भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र बिक्री गर्नुपर्ने व्यवस्था गरेसँगै समीक्षा अवधिमा प्राथमिक बजारमार्फत ऋणपत्र बिक्रीमा उल्लेख्य वृद्धि भएको हो ।

कार्यक्रममा बोल्दै बार्डका प्रवक्ता निरज गिरीले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सरकारले गठन गरेको समितिले दिएका ५८ बुँदे सुझावमध्ये बार्डसँग सम्बन्धित ६८ प्रतिशत सुझाव कार्यान्वयन भइसकेको दाबी गरे ।

उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बुक विल्डिङ विधिमार्फत् सार्वजनिक निष्काशन गर्न सक्ने, हकप्रद सेयर निष्काशनलाई थप प्रभावकारी बनाउनलगायतका व्यवास्था समावेश गरी नियमावली संशोधनका लागि अर्थमन्त्रालयमा पेश भइसकेको जानकारी दिए ।

विशिष्टिकृत लगानी नियमावली, २०७५ लागू गरिएकोमा उक्त कोष सञ्चालन गर्न ५ निवेदन प्राप्त गइ सोको अध्ययन भइरहेको बताउँदै प्रवक्ता गिरीले कमोडिटी बजार सञ्चालन गर्न पूर्व स्वीकृतिका लागि मापदण्ड तयार भएको र अहिलेसम्म ६ वटा निवेदनहरु आएको र त्यसको मूल्यांकन भइरहेको बताए ।


क्लिकमान्डु