तरुल, सखरखण्ड र पिँडालुको आयात रोकियो, १३ सय मेट्रिक टन कन्दमुल राजधानी भित्रियो



काठमाडौं । माघे संक्रान्ती पर्वलाई लक्षित गरी कालिमाटी तरकारी तथा फलफुल बजारमा १ हजार मेट्रिक टन तरुल र ३ सय टन मेट्रिक सखरखण्ड र पिँडालु भित्रिएको छ ।

कालिमाटि तरकारी तथा फलफुल बजार समितिका अनुसार माघे संक्रान्तीमा तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमुलको विशेष महत्व भएकाले ठूलो परिमाणमा तरुल भित्रिएको हो ।

कालिमाटि तरकारी तथा फलफुल बजारका निर्देशक तेजेन्द्रप्रसाद पौडेलका अनुसार गत वर्षभन्दा यो वर्ष १ सय मेट्रिक टनबढी तरुल, सखरखण्ड भित्रिएको हो ।

गत वर्षका माघे संक्रान्ति पर्वलाई लक्षित गरेर मात्रै कालीमाटी फलफूल तथा तरकारी बजारमा ९ सय ६५ मेट्रिक टन तरुल र १ सय ५० टन पिँडालु र सखरखण्ड भित्रिएको थियो ।

आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्दा भारतबाट ७१ हजार ९ सय केजी तरुल आयात गरिएको थियो । यो वर्ष भने बजार माग अनुसार सबै आन्तरिक उत्पादनको नै कालीमाटी भित्र्याइएको पौडेलले जानकारी दिए ।

हाल बजारमा तरुलको प्रकार अनुसार ४५÷५० रुपैयाँदेखि २ सय ५० प्रतिकेजीमा बिक्री भइरहेको छ । अन्य कन्दमुलको तुलनामा गत वर्षको तुलनामा यो वर्षको संक्रान्तीमा तरुलको मूल्यमा ३० रुपैयाँ वृद्धि भएको छ ।

गत वर्ष ३५ रुपैयाँ प्रतिकेजी तरुल खरिद बिक्री भएको थियो भने अहिले कालीमाटी तरकारी बजारमा ६५ रुपैयाँ प्रतिकेजी तरुल खरिदबिक्री भइरहको छ ।

गत वर्ष तरुलको मूल्य सबैभन्दा कम थियो । यस्तै, सखरखण्डको मूल्यमा १७ रुपैयाँ वृद्धि भएको छ । गत वर्षको संक्रान्तीमा सखरखण्डको ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको सखरखण्डको अहिले ६२ रुपैयाँ प्रतिकेजी खरिद बिक्री भइरहेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

कात्तिकदेखि माघ महिनासम्म व्यवसाय हुने तरुल सबैभन्दा बढी पुस महिनाको अन्त्यतिर बिक्री हुने गरेको व्यापारीहरुको भनाइ छ ।

कालीमाटी तरकारी बजारमा आएका ८० प्रतिशतभन्दा बढी तरुल सर्लाहीबाट आएको छ । माघे संक्रान्ती सकिए पनि जाडो महिनाभर उपभोक्ताले तरुल मन पराउने हुँदा सामान्य रुपमा फागुन १५ गतेसम्म नै तरुलको व्यापार हुन्छ ।

तरुलको मूल्य पुस महिनाको पहिलो साता र माघे संक्रान्ती सकिएपछि सामान्य हुने भए पनि पुसको तेस्रो हप्तामा भने मूल्य बढ्ने गरेको छ ।

मूल्य बढ्नुको कारण माघे संक्रान्ती लक्षित हुँदै माग बढ्ने भएकाले मूल्य बढेको व्यापारी स्वयम बताउँछन् ।

यो वर्ष काठमाडौमा माघे संक्रान्ती लक्षित गरी सबैभन्दा धेरै सर्लाहीमा उत्पादित तरुल भित्रिएको छ भने बारा, धादिङ, नवलपरासी, चितवन, तनहुँलगायत जिल्लाबाट पनि केही मात्रामा भित्रिएको छ ।

नेपाली समाजमा हिन्दुहरुले माघे संक्रान्तीमा पुसको मसान्तमा पकाएर माघको संक्रान्तीमा खाने परम्परा छ ।

हाम्रो समाजमा ‘पुसमा पाक्यो, माघमा जाक्यो’ भन्ने किवंदन्ती पनि छ । कन्दमूलसँग माघेसंक्रान्ती पर्व जोडिएकाले अन्य समयभन्दा पुस महिनामा यसको व्यापार बढी हुन्छ ।


क्लिकमान्डु