यी बैंकले ब्याजदर बढाए, कस्ले कति पुर्याए ? (सूचिसहित)



काठमाडौं । नाफा सुरक्षित गर्न बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत भनेको नै कर्जा लगानीबाट प्राप्त हुने खुद ब्याज आम्दानी हो । बैंक तथा वित्तीय संस्थाहरुले आधारदर (बेसरेट) लाई आधार बनाएर कर्जा लगानी गर्ने गर्दछन् ।

कर्जाको प्रकार अनुसार बैंकहरुले बेस रेटभन्दा केही प्रतिशत प्रिमियम थपगरि कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बेस रेटभन्दा तल रहेर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई कर्जा दिदैनन् । कर्जाको प्रकार अनुसार फरक-फरक ब्याजदर तोकिएपनि प्रवाहित कर्जाको ब्याजदरभन्दा बैंकहरुको बेसरेट परिवर्तनले कर्जाको ब्याजदरमा हेरफेर हुन्छ ।

प्रायजसो बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासिक रुपमा बेसरेट परिवर्तन गर्दछन् । तर उच्च नाफा कमाउन केही बैंकहरु माहिनै पिच्छे बेसरेट परिवर्तन गरिरहेका छन् । बेसरेटमा माहिनै पिच्छे हेरफेर गर्न सबैभन्दा बढी वाणिज्य बैंकहरु नै रहेका छन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्ये १५ वटा वाणिज्य बैंकले मासिक रुपमा नै बेसरेट परिवर्तन गरिरहेका छन् । जसमा ९ वटा वाणिज्य बैंकले असोज मसान्तको भन्दा बेसरेट बढाएका छन् भने ६ वटा वाणिज्य बैंकले घटाएका छन् ।

१२ वटा वाणिज्य बैंकहरुले भने असोज मसान्तमा परिवर्तन भएको बेसरेटलाई नै आधार बनाएर कर्जा लगानी गरिरहेको छन् ।

महिनै पिच्चे बेसरेट बढाउनेमा सिभिल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नविल बैंक, एनआइसी एशिया बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

महिना नै पच्छिे उच्च बेसरेट हेरफेर गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले असोज मसान्तमा कायम गरिएको बेसरेटमा ३.१६ प्रतिशत वृद्धि गरेको छ । गत असोजमा बैंकको बेसरेट ७.९४ प्रतिशत थियो ।

बैंकले उक्त बेसरेटमा मंसिर मसान्तमा ३.१६ प्रतिशत थप गरि ११.१ प्रतिशत बेसरेट कायम गरि सोहीको आधारमा कर्जा प्रवाह गरिरहेको छ । गत असार मसान्तमा बैंकको बेसरेट ११.११ प्रतिशत रहेको थियो ।

यसैगरि महिनै पिच्चे उच्च बेसरेट बढाउनेमा एभरेष्ट बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकले असोज मसान्तको ८.५२ प्रतिशत बेसरेटमा १.२५ प्रतिशत थपगरि मंसिर मसान्तमा ९.७७ कायमगरि कर्जा लगानी गरिरहेको छ ।

यस्तै कृषि विकास बैंकले ०.१९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.१६ प्रतिशत, नेपाल बैंकले ०.१ प्रतिशत, नविल बैंक०.०९ प्रतिशत, एनआइसी एशिया बैंकले ०.०६ प्रतिशत, सनराइज बैंकले ०.०२ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ०.०१ प्रतिशत असोजको बेसरेटमा थप वृद्धि गरि कर्जा लगानी गरिरहेका छन् ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा बैंकहरुको कर्जाको भारित औषत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १२.२६ प्रतिशत थियो । गत वर्षकोसँग तुलना गर्दा केही घटेको देखिए पनि यो वर्षका महिनाहरुमा ब्याजदर बढाइरहेका छन् ।


पुष्प दुलाल