जाडो बढेपछि विजुलीको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प लाइन काटिँदा के गर्दैछन् कुलमान ?



काठमाडौं । देशभर चिसो बढेका कारण बिजुलीको माग ह्वात्तै बढ्दा काठमाडौं उपत्यका लगायत प्रमुख शहरी क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै गत लक्षमीपूजाको दिनको तुलनामा करिब १३० मेगावाट विद्युत् थप माग बढेको छ । गत लक्षमीपूजाको दिन करिब २८० मेगावाट बराबर विद्युत् माग थियो । सो माग बढेर हाल ४१० मेगावाट पुगेको छ ।

निरन्तर विद्युत् माग बढ्दै गएको छ, प्राधिरकणको भार प्रेषण केन्द्रले जनाएको छ । उसले भनेको छ जाडोको समयमा हिटर तथा कोठा तातो बनाउने उपकरणको अत्याधिक प्रयोग बढेको छ । जसका कारण विद्युत् माग अप्रत्यासित रुपमा बढेको छ ।

देशव्यापी रुपमा विद्युत् माग बढेर १ हजार ३५२ मेगावाट पुगेको छ । विद्युत् माग बढ्नु सकारात्मक भएपनि प्राधिकरणको कमजोर प्रसारण प्रणालीले विद्युत् उपलब्ध गराउन समस्या पैदा भएको छ । जाडोको समयमा दैनिक नै दर्जन बढी पटक विद्युत् लाइन काटिएको सूचना आएको छ ।

मर्मतका लागि जनशक्ति परिचालित भएपनि एकै वितरण केन्द्रका धेरै स्थानमा समस्या आउने गरेको छ ।

समस्या समाधानका लागि प्राधिरकणको जनशक्ति नियमित परिचालन भएपनि विद्युत् माग बढ्दा त्यसलाई व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मे हम्मे परेको छ । राजधानीमा मात्रै सोचेभन्दा बढी विद्युत् माग भएको छ ।

प्राधिकरणले अनौपचारिक रुपमा विद्युत् खपत बढाउन गरेको आग्रहले ग्राहकलाई सकारात्मक प्रभव परेको हुन सक्ने देखिएको छ । विद्युत् उपलब्धता बढेपनि उपभोक्ताले विद्युतीय सामग्रीको प्रयोगलाई बढावा दिएका छन् । जसका कारण माग एकै पटक १३० मेगावाटको हाराहारीमा बढेको छ ।

दिउँसोको माग समेत उस्तै बढेको छ । सामान्यता साँझ विहानको समयमा बढी माग हुने भएपनि जाडोको समयमा एकै प्रकारको माग बढ्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।

माग बढेपछि अघिल्लो साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राविधिक टोलीसहित राजधानीका नयाँ बानेश्वर, बलाजु, सिफल, सानो ठिमी, टेकुलगायतका सवस्टेशनको अनुमगन समेत गरेका थिए ।

माग र आपूर्ति व्यवस्थापनमा समस्या नहोस्, उपभोक्ताले सहज रुपमा विद्युत् सेवा पाउनु भन्ने अपेक्षा राखिएको भएपनि जाडो त्यसमाथि बर्षा भएका कारण समस्या बढी देखिएको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा सहज रुपमा विद्युत् आपूर्ति हुने समय भनेको भदौ, असोज, कात्तिक र मंसिर मात्रै हो । ती महिना बाहेक अन्य समयमा विद्युत् व्यवस्थापन गर्नु चुनौतीपूर्ण नै देखिएको छ ।

राजधानीमा विद्युतीय उपकरण प्रयोग गर्नेको संख्यामा बढोत्तरी भएपनि प्राधिकरणले प्रसारण एवम् वितरण प्रणालीमा आशातित सुधार गर्न सकेको छैन । सुधारको क्रम जारी भएपनि पुग्दो भएको छैन ।

वितरण प्रणालीको सुधार, ट्रान्सफर्मरको क्षमता वृद्धि लगायतका काम जारी भएपनि त्यसले अपेक्षित नतिजा निकाल्न सकेको छैन ।

‘काम जारी छ, प्रयास भइरहेको छ, माग बढेको छ,’ प्राधिरकण स्रोतले भन्यो ‘ व्यवस्थापनका लागि गृहकार्य सहित काम भइरहेको छ, तर कहीँ कतै समस्या अझै देखिएको छ । त्यसलाई सुधार गर्न लागिपरेका छौ ।’

प्रमुख शहरहरु विशेष गरी पोखरा, विारटनगर, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज तथा धनगढीमा पनि विद्युत् माग ह्वात्तै बढेको छ । बढेको मागलाई व्यवस्थापन गर्न प्राधिकरणले जनशत्तिःलाई त्म्तयारी हालतमा राखेको छ ।

समस्या आउने बित्तिकै प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा ग्रीडहरुमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । यस्तै उसले चोरी नियन्त्रणको कामलाई समेत उत्तिकै प्रभावकारी बनाएको छ ।

माग बढ्नुलाई सकारात्मक रुपमा लिँदै वितरण र प्रसारण प्रणालीलाई चुस्त बनाउन गरिएको प्रयासको निकट भविस्यमा नै त्यसको सार्थक परिणाम निस्कने प्राधिकरणको विश्वास छ ।

‘हामीले विद्युत् खपत बढाउन आग्रह गरेकै हौ, तर वितरण प्रणाली एवम् प्रसाराण् प्रणालीको काम नसकिदै आएको माग व्यवस्थापन गर्दा कही कतै समस्या आएको हुन सक्छ, त्यसको व्यवस्थापनमा हामी लागेका छौ,’ स्रोतले भन्यो ।

विद्युत् माग अझै बढ्ने प्राधिकरणको प्रक्षेपण छ, चालु आवको अन्त्यसम्म प्रणालीमा थप १ हजार मेगावाट विद्युत् थप हुँदा त्यसलाई व्यवस्थापन गर्न अझै ठूलो जोखिम मोल्नुपर्ने देखिएको छ ।


पुष्प दुलाल