अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग, के हुन्छ अब ?



बाल्टिमोर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभ्स (प्रतिनिधि सभा)ले महाअभियोग प्रस्ताव पारित गरेको छ ।

स्थानीय समयअनुसार बुधबार दिनभरको छलफलपछि साँझ अबेर राष्ट्रपति ट्रम्पमाथि लागेको दुइवटा महाअभियोगको प्रस्तावमा मतदान भएको थियो ।

ट्रम्पमाथि २ वटा भिन्नाभिन्नै आरोपमाथि बुधबार मतदान भएको थियो । जसमा ट्रम्पले शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो ।

बहुमतको लागि २१६ मत आवश्यक पर्ने थियो । त्यस्तै संसदको अवहेलनासम्बन्धी अभियोग पनि पारित भएको छ ।

पारित भएको ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव अब संसदको माथिल्लो सदन सिनेटमा जानेछ । तल्लो सदनमा डेमोक्र्याट पार्टीको बहुमत रहेको र महाअभियोगको प्रस्ताव पनि सोही पार्टीको भएको कारण सजिल्यै प्रस्ताव पारित भएको हो ।

यद्यपि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने वा नहटाउने भन्ने विषयमा भने माथिल्लो सभा सिनेटले मात्रै निर्णय लिन सक्ने छ । सिनेटमा ट्रम्पकै समर्थक पार्टी रिपब्लिकन दलको बुहमत रहेको कारण माथिल्लो सभाबाट यो प्रस्ताव पारित हुने संभावना भने कम रहेको छ ।

इतिहासमा तेस्रो बने ट्रम्प

सन् २०१६ मा राष्ट्रपति बनेदेखि केही न केही विवादमा तानिँदै आएका ट्रम्प विपक्षी दलप्रति निकै आक्रोसित हुँदै आईरहेका थिए । कहिले व्यापार युद्ध तथा कहिले आप्रवासीको विषयमा विवादास्पद टिप्पणीको कारण ट्रम्प विवादमा पर्दै आईरहेका थिए ।

यहाँको स्थानीय सञ्चारमाध्ययमहरुले महाअभियोगको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति भएको भन्दै टिप्पणी गरेका छन् ।

सिएनएनले लेखेको छ ‘अमेरिकाको ईतिहासमा राष्ट्रपतिलाई यस्तो अपराध र शक्तिको दुरुपयोगको आरोपमा महाअभियोग लगाईएको यो तेस्रो घटना हो ।’

यसअघि १७औं राष्ट्रपति जोनसनलाई सन् १८६८ मा र ४२औं राष्ट्रपनि विल क्लिन्टनबिरूद्ध १९९८ मा महाअभियोग पारित भएको थियो । अर्का ३७औं राष्ट्रपनि रिचर्ड निक्सनलाई पनि महाअभियोगको तयारी गरिएको थियो ।

तर उनले मतदान हुनुअघि नै राजिनामा दिएका थिए । बुधबार ट्रम्पविरुद्ध तल्लो सदनले पारित गरेको प्रस्ताव अब माथिल्लो सदनमा जाने छ । जसमाथि अर्को महिना छलफल हुने अनुमान गरिएको छ ।

ट्रम्पको आक्रोस

बुधबार तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएपछि ट्रम्पले आफ्नो काम देखेर विपक्षी तर्सिएको र आगामी चुनाव जित्नको लागि महाअभियोगको नाटक गरिएको आरोप लगाए ।

अमेरिकाको मिसिगनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले विपक्षिहरु घृणाको भावले ग्रसित भएको आरोप पनि लगाए ।


पुष्प दुलाल