२५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब



काठमाडाैं । निजी संघ संस्थाहरुमा सबैभन्दा आर्कषक तलब भत्ता तथा सेवा सुविधा वित्तीय क्षेत्रका कर्मचारीले उपभोग गरिरहेका छन् । जसकारणले गर्दा पनि यो क्षेत्र शिक्षित तथा बेरोजगारलाई रोजगारीको गन्तव्य नै भएको छ ।

सरकारी निकायमा भन्दा वित्तीय क्षेत्रमा औषत तलब वृद्धिले पनि उच्च छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालका अन्य गैर-सरकारी तथा निजी क्षेत्रका कर्मचारीको तुलनामा औषत वार्षिक वृद्धिदर दोब्बर नै छ ।

राष्ट्र बैंकले तलब तथा ज्यालाको औषत विवरण आर्थिक सर्वेक्षण र श्रम सर्वेक्षणको आधारमा सर्वे गरी तलब तथा ज्यालाको औषत सूचांक तयार गरी हरेक महिना सार्वजनिक गर्ने गरेको छ ।

त्यही वेसलाई आधार बनाएर तलब तथा ज्याला मजदुर सूचांक तयार गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले क्लिकमाण्डूलाई बताए ।

‘विभिन्न क्षेत्रका सम्बन्धित रोजगारदाता संस्थाबाट तलब र ज्यालाकोे विवरण संकलन गरी इन्डेक्स तयार पारिन्छ,’ उनले भने ‘त्यो इन्डेक्स २००४/०५ को सर्वेमा आधारित छ ।’ त्यही इन्डेक्सलाई आधार बनाएर विभिन्न क्षेत्रका कर्मचारी, श्रमिकको तलब र ज्यालाको तथ्यांक तयार परिएको उनले बताए ।

राष्ट्र बैंकले औषत तलब तथा ज्यालाको सूचांक अनुसार मासिक रुपमा तलब तथा ज्यालाको विवरण सार्वजनिक गर्ने गरेको छ । तथ्यांकको वेस निर्माण आव २०६१/६२ मा सर्वे गरिएको विभिन्न सरकारी संस्था, निजी क्षेत्रमा कम्पनी तथा र्फम, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुलाई नमूनाका रुपमा लिएर त्यहाँका कर्मचारीको औषत तलब तथा ज्यालाको वेस तयार पारिएको थियो । आर्थिक सर्वेक्षण २०६१/६२ मा सबै क्षेत्रको औषत तबल तथा ज्याला १०० मानिएको थियो ।

वेस कै आधारमा बैंक तथा वित्तीय संस्थाको कर्मचारीको औषत तलब बृद्धि गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २५.४३ प्रतिशतले तलब बृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको औषत तलब सूचांक  ५२९.२ थियो भने चालु आवको साही अवधिमा २५.४३ प्रतिशतले बढेर ६६३.८० पुगेको हो ।

वाणिज्य बैंकहरुको असोज मसान्तसम्मको विवरणअनुसार तलब खर्च अघिल्लो वर्षको तीन महिनाको तुलनामा २० प्रतिशतले बढेको छ । गतवर्ष असोज मसान्तसम्मको विवरणमा ७ अर्ब ८२ करोड रुपैयाँ कर्मचारीका  लागि तलबमा खर्च भएको थियो । यो वर्षको असोज मसान्तमा आइपुग्दा ९ अर्ब ३९ करोड रुपैयाँ बैंकहरुले कर्मचारीको तलबमा खर्च गरेका छन् ।

जबकि उक्त अवधिमा निजामति कर्मचारीको १९.२३ प्रतिशत, सार्वजनिक संस्थाका १८.३७ प्रतिशत, आर्मी पुलिसको ८.९९ प्रतिशत, शैक्षिक संस्थामा १०.५५ प्रतिशत र निजी संगठन तर्फका कर्मचारीको औषतमा वार्षिक तलब वृद्धिदर १७.२३ प्रतिशतले बढेको देखिन्छ ।

साथै, मजदुरहरुको क्षेत्रगत रुपमा कृषि मजदुरको १०.७८ प्रतिशत, औधोगिक मजदुरको १४.८७ प्रतिशत र निर्माण मजदुरको ८.४३ प्रतिशतले वार्षिक औषत तलब वृद्धि भएको छ ।

राष्ट्रिय तलब तथा ज्याला मजदुर सूचांकमा  पनि औपचारीक क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको औषत तलब र बार्षिक वृद्धिदर पनि बढी छ । आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार २०७४/७५ मा बैंक तथा वित्तीय क्षेत्रको कर्मचारीको वार्षिक तलब औषतमा ५२३.२० सूचांक छ । उक्त अवधिमा निजी संगठनको ३५३.१०, औद्योगिक  क्षेत्रको मजदुरको ३९१.८०, निर्माण  मजदुरको ४२६.७३ र कृषि मजदुरको ५४६.३०  छ ।

हालसम्म आर्थिक सर्वेक्षण २००४/०५ को आर्थिक सर्वेक्षणको आधारणमा भइरहेको थियो । अब आर्थिक सर्वेक्षणको आधार वर्ष २०१९/२० हुने भएको छ । जसकारण अब भने आर्थिक सर्वेक्षणमा तलब तथा ज्यालाको वेस परिवर्तन हुने भएको छ ।

नयाँ सर्वेक्षण गरी  तलब तथा ज्यालाको वेस नयाँ तय गरिने राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणकर भट्टले बताए । ‘हाल सर्वे चलिरहेको छ, आगामी आवदेखि नयाँ वेस तयार हुन्छ, उनले भने ‘पुरानो तलबको वेसको आकारभन्दा नयाँ वेस ठूलो हुन्छ ।’ हाल भइरहेको सर्वेक्षण  केन्द्रीय  तथ्यांक विभागले गर्ने नेपाल श्रम सर्वेक्षणलाई समेत आधार बनाएर गरिएको उनले बताए ।

आर्थिक सर्वेक्षणको आधार वर्ष सरकारले १०/१० वर्षमा परिवर्तन गर्दै आर्थिक सर्वेक्षण गर्नुपर्ने हुन्छ तर सरकारले श्रम सर्वेक्षण गरिरहेकाले  तलब तथा ज्यालाको सर्वेक्षण हुन ढिलो भएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणकर भट्टले बताए । ‘श्रम सर्वेक्षणले हामीलाई तलब तथा ज्यालाको सर्वेक्षण गर्ने सहयोग गरेको हुन्छ,’ उनले भने,’सर्वे गर्दा क्षेत्रगत आधारहरु श्रम सर्वेक्षणबाट लिने हुँदा हामीले त्यसलाई कुरेका थियौ ।’ सरकारको सर्वेक्षणलाई आधार बनाएर राष्ट्र बैंकले तलब तथा ज्यालाको सर्वे गरिरहेको उनले जानकारी दिए ।

तलब तथा ज्यालाको सूचांक  तयार गर्दा नमूना सर्वेक्षण गरिन्छ । जसमा बैंक तथा वित्तीय संस्थाको नमूना सर्वेमा नेपाल राष्ट्र बैंकसहित अन्य ३ वटा सरकारी वाणिज्य बैंक, सरकारी संस्थान ५ वटा, सार्वजनिक संस्थानमा ४ वटा संस्थान, निजी उद्योगमा विभिन्न क्षेत्रका १६ वटा उद्योग शैक्षिक संस्थानमा ३ वटा स्कुल र त्रिभुवन विश्वविद्यालय गरी  ४ वटा शैक्षिक संस्थानलाई नमूनाका रूपमा  लिएर कर्मचारीको तलबको औषत सूचांक तयार गरिने राष्ट्र बैंकले जनाएको छ ।

साथै मजदुरको ज्यालाको सूचांक  तयार गर्दा विभिन्न ११ वटा उद्योग र व्यापारिक क्षेत्रबाट थोरैमा ३ वटा युनिट गरी ३३ वटा नमूना लिने गरिन्छ । जसमा उच्च दक्ष, सिकर्मी, डकर्मी ज्यामी, दक्ष र अदक्ष, पुरुष र महिला निर्माण, औद्योगिक र कृषि मजदुरको ज्यालाको नमूना  दिने गरिएको कार्यकारी निर्देशक भट्टले बताए ।

कृषि क्षेत्रको मजदुरको ज्यालाको नमूना  सर्वेक्षण गर्दा ११ वटा क्षेत्रका घरपरिवारबाट ३/३ वटा गरी  ३३ ज्यालाको नमूना  लिएर ज्याला सूचांक तयार गरिन्छ ।


क्लिकमान्डु