जीवन बीमा कम्पनीको अर्बौं रकम बैंकको मुद्दति निक्षेपमा, कुन कम्पनीको कति ?



काठमाडौं । सञ्चालनमा रहेको १७ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासमा २ खर्ब ११ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छन् । यी जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, ऋणपत्र, सेयर लगायतका शीर्षकमा लगानी गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको पहिलो त्रैमासको जीवन बीमा कम्पनीको लगानी विवरणअनुसार सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गरेको छन् । समितिले उपलब्ध गराएको लगानीको विवरणमा रिलायन्स लाइफ इन्सोरेन्स र युनियन लाइफ इन्सोरेन्सको विवरण समावेश भएको छैन् ।

बीमा समितिले बीमकको गतवर्ष बीमा कम्पनीलाई लगानीको दायरा फराकिलो बनाउँदै ‘लगानी निर्देशिका २०७५’ जारी गरिसकेको छ । यो निर्देशिका जारी गर्नुअघि बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्र लगानी गर्न पाउने व्यवस्था थियो ।

लगानी निर्देशिका जारी भएपछि बीमा कम्पनीहरुले समितिले तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था समितिले गरिसकेको छ ।

समितिले जारी गरेको निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । साथै साधारण सेयरमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था निर्देशिकामा छ ।

जसअनुसार जीवन बीमा कम्पनीले चालु आवको पहिलो ३ महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् ।

जीवन बीमा कम्पनीले २० लाख रुपैयाँदेखि ५९ अर्ब रुपैयाँसम्म लगानी गरेका छन् । जसमा सबैभन्दा बढी ५९ अर्ब रुपैयाँ लगानी गर्ने नेपाल लाइफ इन्सोरेन्स र सबैभन्दा कम २८ लाख रुपैयाँ लगानी गर्ने सिटिजन्स लाइफ इन्सोरेन्स छन् ।

असोज मसान्तसम्म ६ वटा जीवन बीमा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । जसमा लाइफ इन्सोरेन्स कर्पोरेसनको ४५ अर्ब रुपैयाँ, नेशनल २८ अर्ब, राष्ट्रिय बीमा संस्थान २१ अर्ब एशियन लाइफ १६ अर्ब र प्राइम लाइफको ११ अर्ब रुपैयाँ बढी लगानी रहेको छ ।

अबौं लगानी गरेका यी जीवन बीमा कम्पनीले सबैभन्दा बढी बैंक र फाइनान्सको मुद्दति निक्षेपमा, ऋणपत्र र सेयरमा लगानी गरेका छन् ।

समितिका अनुसार २०७६ असोज मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ५९ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानीको हिस्मामध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरुको मुद्दतीमा कुल लगानीको ८०. ९ प्रतिशत अर्थात् ४७ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ र विकास बैंकको मुद्दती निक्षेपमा ९.०५ प्रतिशत अर्थात् ५ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ लगानी रहेको छ ।

कम्पनीले धितोपत्र बजारमा सूचिकृत पब्लिक सेयरमा ७.२५ प्रतिशत अर्थात् ४ अर्ब ३० करोड ८३ लाख रुपैयाँ र ‘क’, ‘ख’ र ‘ग’ वर्गको वैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने ) र ऋणपत्रमा २.७५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ लगानी छ ।

यस्तै उक्त अवधिमा कम्पनीले लगानी निर्देशिका २०७५ ले व्यवस्था गरेपछि पर्यटन÷ होटलमा ४६ लाख ४६ हजार रुपैयाँ, जलस्रोतमा ६ करोड ६९ लाख ९९ हजार रुपैयाँ र पूर्वाधार बैंकमार्फत् अन्य पूर्वाधारका क्षेत्रमा १ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ४५ अर्ब ९६ करोड ८० लाख रुपैयाँमध्ये वाणिज्य बैंकको मुद्दतीमा ८६.२८ प्रतिशत अर्थात् ३९ अर्ब ६६ करोड रुपैयाँ, विकास बैंक मुद्दतीमा २.७२ प्रतिशत अर्थात् १ अर्ब २५ करोड रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दतीमा ०.३३ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै कम्पनीले असोज मसान्तसम्म गरेको लगानीमा २ अर्ब १७ करोड ४० लाख रुपैयाँ धितोपत्र बजारको पब्लिक कम्पनीका सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्रमा २ अर्ब २६ करोड २६ लाख रुपैयाँ र म्युचअल फण्ड वा नागरिक लगानी कोषका योजनामा १९ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो ।

सबैभन्दा बढी लगानी गर्ने सूचीको तेस्रो नम्बरमा रहेको नेशनल लाइफको २८ अर्ब ९ करोड ६० लाख रुपैयाँमध्ये वाणिज्य बैंकको मुद्दतीमा ७४.७० प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ८५ लाख रुपैयाँ, विकास बैंक मुद्दतीमा २.८५ प्रतिशत अर्थात् ८० करोड २० लाख रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दतीमा ०.१५ प्रतिशत अर्थात् ४ करोड २५ लाख रुपैयाँ लगानी छ ।

यस्तै, कम्पनीले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र, नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र १ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ, पूर्वाधार बैंक ५ करोड रुपैयाँ, घरजग्गा व्यवसाय ३६ करोड २४ लाख रुपैयाँ, धितोपत्र विनियम बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा १ अर्ब ३ करोड ५९ लाख रुपैयाँ, डिवेञ्चरमा ३ अर्ब ८२ करोड ५० लाख रुपैयाँ, म्युचअल फण्ड वा नागरिक लगानी कोषका योजनामा १५ करोड ३२ लाख रुपैयाँ र अन्य क्षेत्रहरुमा ६४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको हो ।

राष्ट्रिय बीमा संस्थानको असोज मसान्तसम्मको २१ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कुल लगानीमध्ये वाणिज्य बैंकको मुद्दतीमा ११ अर्ब ३१ करोड रुपैयाँ, विकास बैंकमा २ अर्ब ८० करोड रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ छ ।

यस्तै बीमा सस्थानले बचतपत्र वा ऋणपत्र ४२ करोड, डिवेञ्चरमा १ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ, हाइड्रो पावर कम्पनीका सेयरमा १ अर्ब ३७ करोड ७८ लाख रुपैयाँ, अन्य विभिन्न संघ सस्थाका सेयरहरुमा ७० करोड ३५ लाख रुपैयाँ र अपर तामाकोसी हाइड्रो पावर प्रोजेक्टका लागि ३ अर्ब १४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसैगरी एसियनको १६ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ लगानीमध्ये वाणिज्य बैंकको मुद्दतीमा ६२.७८ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड ४५ लाख रुपैयाँ, विकास बैंक मुद्दतीमा १४.०१ प्रतिशत अर्थात् २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दतीमा ०.२७ प्रतिशत अर्थात् ४ करोड ५० लाख रुपैयाँ लगानी छ ।

साथै कम्पनीले पब्लिक लिमिटेड कम्पनीको सेयरमा ७.२४ प्रतिशत अर्थात् १ अर्ब २२ करोड १९ लाख रुपैयाँ, म्युचअल फण्ड वा नागरिक लगानी कोषका योजनामा ७ करोड १० लाख रुपैयाँ, पूर्वाधार विकास बैंकमा ३३ करोड २५ लाख र नेपाल रि-इन्स्योरेन्समा ७ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म गरेको ११ अर्ब ३१ करोड ८० लाख रुपैयाँमध्ये बाणिज्य बैंकको मुद्दती निक्षेप कुल लगानीको ७५.०७ प्रतिशत अर्थात् ८ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ, विकास बैंकको मुद्दती निक्षेप २.३९ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ र वित्त कम्पनीको मुद्दती निक्षेप ०.०९ प्रतिशत अर्थात् १ करोड रुपैयाँ लगानी गरेको छ ।

साथै कम्पनीले सामूहिक लगानी योजना तथा विभिन्न फण्डमा १२ करोड ७७ लाख रुपैयाँ, पब्लिक कम्पनीको वण्ड/डिवेन्चरमा १ अर्ब १५ करोड ९९ लाख रुपैयाँ, पब्लिक कम्पनीको साधारण सेयरमा ९३ करोड १४ लाख रुपैयाँ, उत्पादनशिल तथा राष्ट्रिय महत्वका क्षेत्रमा २० करोड ५५ लाख रुपैयाँ र कल डिपोजिटमा ११ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।


पुष्प दुलाल