सेयरधनीलाई नै वास्ता छैन लाभांशको, लिन गएनन् करोडौंको नगद लाभांश, कुन बैंकको कति ?



काठमाडौं । हरेक सेयर लगानीकर्तालाई आफूले लगानी गरेको कम्पनीले कति लाभांश दिन्छन् भन्नेमा सदैव चासो हुन्छ । त्यसमा पनि बोनस त लगानीकर्ताको निकै चासोको विषय हो ।

तर सबै कम्पनीले बोनस मात्रै पनि दिन्छन् भन्ने छैन । कम्पनीहरुले बोनससँगै नगद लाभांश पनि दिन्छन् । बैंकहरुको तथ्यांक हेर्ने हो भने पनि लगानीकर्ताहरुले नगदमा खासै चासो देखिएको पाइँदैन ।

यो समाचार तयार पार्नुअघि हामीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा गरेका र लाभांश घोषणा गरेका १५ वटा वाणिज्य बैंकको तथ्यांकलाई केलायौं । लगानीकर्ताले उक्त बैंकबाट करोडौं रुपैयाँ नगद लाभांश लिन बाँकी रहेको देखियो ।

बैंकहरुले ५ वर्षसम्म कुनै पनि लगानीकर्ता लाभांश दाबी गर्न नआएको खण्डमा उक्त नगद लाभांशलाई लगानीकर्ता संरक्षण कोषमा पठाउने व्यवस्था छ ।

वित्तीय संस्थामा यसको परिमाण बढ्नुको मुख्य कारण लगानीकर्ताले सेयर खरिद गरेको सस्था अन्य संस्थामा मर्ज वा एक्वायर भएर जानु र त्यसको विस्तृत जानकारी लगानीकर्तामा नहुनु हो ।

राष्ट्र बैंकले २०६८ सालदेखि मर्जर तथा प्राप्तिको नीति र २०७२ सालमा पुँजी वृद्धिको योजना ल्याएपछि सेयरधनीलाई आफ्नो सेयर कुन संस्थामा छ भन्ने कुरा नै थाहा नभएको पाइन्छ । आफ्नो सेयरको जानकारी नहुनेमा नेपालभन्दा बाहिर भएका, लाभांश वितरण गर्ने कार्यालयसम्म पहुँच नभएका अथवा ग्रामीण भेगका सेयरधनी हुन्छन् ।

साथै डिम्याट नगरेको वा डिम्याटमा बैंक खाता नराख्नु र अपडेट नगर्नु, धितोमा सेयर राखेकाहरूले फुकुवाको चिठी नल्याउनु र कतिपयले बीचमा सेयर बेचेर लाभांश बिर्सिएका कारण बैंक तथा वित्तीय संस्था अथवा लाभांश दिएका कम्पनीमा सेयरधनीले बुझिलिन बाँकी लाभांशको परिमाण बढेको हो ।

कतिपय सेयरधनीमा सूचनाको कमीका कारण लाभांश वितरण गरेको जानकारीसमेत पाएका हुँदैनन् । यसरी ५ वर्षसम्म संघ संस्थाले छुट्याएको लाभांश रकम सेयरधनीहरु बुझ्न नआएमा सो रकम कम्पनी रजिष्ट्रारको कार्यलयमा रहेको लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

कम्पनी ऐन- २०६३ ले कोष स्थापनाको सैद्दान्तिक व्यवस्था गरेपछि लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि- २०७३ ल्याइ कार्यान्वयन गरिएको हो ।

२०७३ असार मसान्तभन्दा ५ वर्ष अगाडिका सेयरधनीले नबुझेका लाभांश रकम हाल लगानीकर्ता संरक्षण कोषमा रहेको छ ।
यद्यपि ५ वर्षपछि पनि सेयरधनीहरु आफ्नो लाभांशको दाबी गर्न आएमा उक्त लाभांश कम्पनी रजिष्ट्रारको कार्यलयबाट भुक्तानी लिन सकिने व्यवस्था छ ।

नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामध्ये अधिकांश वाणिज्य बैंकहरुमा सेयरधनीको खातामा नगएको लाभांश रकम छ । सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्वायर गरेर देशको निजी क्षेत्रमा सबै धेरै पुँजी भएको बैंकको रुपमा चिनिएको ग्लोवल आइएमई बैंककोे सेयरधनीले आर्थिक बर्ष २०७५/७६ सम्म पारित भएको लाभांशमध्ये बुझिलिन बाँकी रहेको लाभांशको रकम ३ करोड ४ लाख ३१ हजार ९ सय ६४ रुपैयाँ ७८ पैसा छ ।

यस्तै, पछिल्लोपटक ग्लोवलले मर्ज गरेर एकीकृत कारोबार गर्न लागेको जनता बैंकबाट सेयरधनीलाई वितरण हुन बाँकी रहेको लाभांश रकम १३ करोड २८ लाख ८३ हजार १६३ रुपैयाँ छ ।

जसमध्ये आव ०६९/७० को ४१ लाख ३४ हजार ३३५ रुपैयाँ र आव २०७४/७५ को १२ करोड ५० लाख ५० हजार ७९३ रुपैयाँ जनता बैंकले नै घोषणा गरी पारित गरेको लाभांश रकम छ भने जनता बैंकमा मर्ज भएका बैंकको २०७०/७१ को तत्कालिन त्रिवेणी विकास बैंकको आव २३ लाख २५ हजार ८०८ रुपैयाँ, तत्कालिन ब्राइड डेभलपमेन्ट बैंकको २ लाख ५६ हजार १३ रुपैयाँ, एकता विकास बैंकको ११ लाख १६ हजार २१४ रुपैयाँ वितरण हुन बाँकी लाभांश हो ।

जनता र ग्लोबल मंसिर २० देखि एकीकृत कारोबार शुरु गरेका छन् । ग्लोवल आइएमई बैंकका सेयरधनीले बुझिलिन बाकी लाभांश रकम १६ करोड ३३ लाख १५ हजार १२७ रुपैयाँ हुनेछ ।

यस्तै अन्य वाणिज्य बैंकहरुको पनि करोडौं लाभाश रकम संकलन गर्न सेयरधनी आएका छैनन् । जसमा कुमारी बैंकको सेयरधनीले बुझिलिन बाँकी रहेको लाभांश आव ०६६/६७ को १२ प्रतिशत नगद लाभांश तथा आव ०६८/६९ को ७ प्रतिशत नगद लाभांशमध्ये २०७६ असार मसान्तसम्म सेयरधनीले नगद लाभांश वारेन्ट बुझिसकेको तर नगद लाभांश बुझिलिन बाँंकी रहेको लाभांश ६ लाख ३ हजार ५४९ रुपैयाँ छ ।

बैंकले गरेको अन्य बैंक तथा वित्तीय संस्थाहरुको मर्ज तथा एक्वायरपछि २४ लाख ५३ हजार रुपैयाँ थप नगद लाभांश २०७६ असार मसान्तसम्म सेयरधनीले बुझिलिन बाँंकी छ ।

सोबाहेक गत आवमा सेयरधनीले नलगेका नगद लाभांश ६० लाख ५४ हजार ७५४ रुपैयाँ ३३ पैसा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिसकेको छ ।

सिद्धार्थ बैंकले आव २०६६/६७ देखि २०७४/७५ सम्ममा पारित भएका नगद लाभांशमध्ये गत आर्थिक वर्षसम्म १ करोड ६३ लाख ७५ हजार १५१ रुपैयाँ लाभांश बुझिलिन बाँकी छ । जसमा बैंकमा मर्ज भएका साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताको समेत लाभांश रकम भुक्तानी हुन बाँकी छ ।

माछापुच्छ्रे बैंकका लगानीकर्ताले विगत ५ वर्षदेखिको ७ करोड ५३ लाख २२ हजार ६४८ रुपैयाँ लाभांश भुक्तानी लिन बाँकी छ । जसमा बैंकमा मर्ज भएको तत्कालिन स्ट्यान्डर्ड फाइनान्सको आव २०६१/६२ को १९ हजार ९५० रुपैयाँ, आव २०६६/६७ को २ लाख ८७ हजार २१८ रुपैयाँ र ४१ पैसा र माछापुच्छ्रे बैंकको आव ०६२/६३ मा ३३ हजार २८० रुपैयाँ लगानीकर्ताको लाभांश बाँकी छ ।

उक्त लाभांश बैंकले कम्पनी रजिष्टारको कार्यालयको निर्देशनअनुसार लगानीकर्ता सुरक्षणकोषमा जम्मा गरिसकेको छ । यस्तै बैंकले आव २०७३/७४ मा २ करोड ३२ लाख ९१ हजार ८१६ रुपैयाँ लाभांश रकम सेयरधनीले लिन बाँकी छ ।

त्यस्तै, आव २०७४/७५ मा वितरण गरिएको लाभांश रकममध्येको ५ करोड १६ लाख ९० हजार ३८४ रुपैयाँ सेयरधनीले भुक्तानी लिएका छैनन् ।

नेपाल बंगलादेश बैंकको आर्थिक वर्ष २०७५ असार मसान्तसम्म सेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांश रकम २० करोड ७१ लाख ३६ हजार ५२२ रुपैयाँ रहेको थियो ।

नेपाल एसबीआई बैंकको १४ वर्ष अगाडिदेखिको लगानीकर्ताहरुले भुक्तानी लिन बाँकी रहेको लाभांश रकम ७ करोड ७८ लाख ६० हजार १४४ रुपैयाँ रहेको छ ।

बैंकले आव २०५२/५३ देखि २०६९/७० सम्मको वितरण हुन बाँकी ७२ लाख २० हजार ९ सय ११ पैसा लाभांश कम्पनी रजिष्टार कार्यालयको लगानीकर्ता संरक्षण कोषमा रकमान्तर भइसकेको छ भने सेयरधनीहरुले भुक्तानी लिन बाँकी लाभांश रकममा आव २०७०/७१ को ३२ लाख ५५ हजार ९२९ रुपैयाँ ८८ पैसा र आव २०७४/७५ को ६ करोड ७० लाख ८३ हजार ३१४ रुपैयाँ ७ पैसा बैंकमा बैंकमा नै रहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले गत असार मसान्तसम्म २ करोड ८४ लाख १४ हजार ५१० रुपैयाँ ८४ पैसा लाभांश रकम लिन बाँकी छ ।

कृषि विकास बैंकका सेयरधनीले आर्थिक वर्ष २०७४/७५ सम्मको पारित लाभांश रकममध्ये २०७५ आषाढ मसान्तमा ४५ करोड ४१ लाख ९ हजार ८५ रुपैयाँ बुझिलिन बाँकी थियो ।

सिटिजन्स बैंकका सेयरधनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ७ करोड १० लाख २३ हजार ८७६ रुपैयाँ ७२ पैसा लाभांश रकम वितरण भएको छैन् । जसमध्ये बैंकले कम्पनी ऐन अनुसार ५ वर्षसम्म पनि सेयरधनी बुझ्न नआएको ४० लाख २८ हजार ९३३ रुपैयाँ ३३ पैसा लाभांश रकम कम्पनी रजिष्ट्रार कार्यालयको लगानीकर्ता संरक्षण कोषमा पठाइसकेको छ ।

बैंकमा लगानीकर्ताले नबुझेका लाभांश रकममध्ये तत्कालिन हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सको आर्थिक २०६६/६७ को २ लाख ४३ हजार १०४ रुपैयाँ ६० पैसा, आव २०६७/७८ को १ लाख ४८ हजार १७९ रुपैयाँ २५ पैसा र तत्कालिन पिपुल्स फाइनान्सको आव २०६०/६१ र ०६१/६२ को ४ लाख ८१ हजार ७७० रुपैयाँ, आव ०६६/६७ को १३ लाख ७९ हजार ९१८ रुपैयाँ १२ पैसा लाभांश सेयरधनीले बुझेका छैनन् ।

साथै तत्कालिन प्रिमियर फाइनान्सको आव ०६३/६४ को ७५ हजार ७२३ रुपैयाँ ३२ पैसा र आव ०६६/६७ को ८ लाख ७६ हजार ७०३ रुपैयाँ १० पैसा लाभांश सेयरधनीहरुले नबुझेका हुन् । यी सबै फाइनान्सहरु सिटिजन्स बैंकमा मर्ज तथा एक्वायर भएका हुन् ।

सनराइज बैंकका सेयरधनीले २०७६ असार मसान्तसम्म ४ करोड ९९ लाख ३६ हजार ६१० रुपैयाँ बुझिलिन बाँकी छ ।

सानिमा बैंकका सेयरधनीलले २०७६ असार मसान्तसम्म ७ करोड ७७ लाख ९ हजार ७७६ रुपैयाँ लाभांश रकम बुझिलिन बाँकी रहेको छ उक्त लाभांश रकम बैंकले मर्ज गरेको तत्कालिन बागमति विकास बैंकका सेयरधनीहरुको समेत वितरण हुन बांकी रहेको हो ।

मेगा बैंकबाट सेयरधनीहरुलाई वितरण हुन बाकी लाभांश १८ करोड ८९ लाख ६२ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश मध्ये अघिल्लो आवको २ करोड ८८ लाख ९१ हजार रुपैयाँ र गत आवको १६ करोड ७१ लाख रुपैयाँ लाभांश सेयरधनीलाई वितरण हुन बाँकी हो ।

प्रभु बैंकबाट सेयरधनीहरुले हालसम्म पारित भएको ३ करोड २ लाख ५ हजार ८०९ रुपैयाँ लाभांश रकम बुझेका छैनन् ।

बैंक अफ काठमाडूका सेयरधनीले आव २०५८/५९ देखि २०७६ असार मसान्तसम्म १ करोड ६७ लाख ८३ हजार रुपैयाँ लाभांश रकम बुझेका छैनन् ।

जसमध्ये २०५८/५९ देखि २०६९/७० सम्म सेयरधनीले बुझिनलिएको १ करोड ३४ लाख ८२ हजार ८२५ रुपैयाँ १८ पैसा लगानीकर्ता संरक्षणकोषमा बैंकले जम्मा गरिसकेको छ । २०७६ आषाढ मसान्तसम्म सेयरधनीले बुझिलिन बाँकी रकम ३३ लाख ५३६ रुपैयाँ ९६ पैसा लाभांश रकम बैंकमा नै छ ।


पुष्प दुलाल