सरकारी जागिरे भुवन दाहाल ‘एक्सिडेन्टल’ बैंकर हुँदै यसरी बने संघको अध्यक्ष, यस्ता छन् एजेण्डा



काठमाडौं । अनुहारमा मधुर मुस्कान, नरम र मीठो बोली, सरल जीवन र सकरात्मक सोच, भर्खरै बैकर्स संघको अध्यक्ष निर्वाचित भएका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललाई परिचय गराउन यी विशेषता पयार्य हुन् ।

२८ वर्षे लामो बैंकिङ यात्राको अनुभव संगालेका दाहाल अहिले सर्वसम्मतमा बैंकर्स संघको नेतृत्व सम्हाल्दै छन् ।

झण्डै ३ दशकको बैंकिङ क्षेत्रको अनुभव संगालेका उनी बैंकिङ क्षेत्रलाई राम्रोसँग केलाएका छन्, समस्याका गहिराइमा गइ चिर्न सक्ने ल्याकत राख्छन् । मृदुभाषी दाहालको यही चरित्रले उनलाई बैंकर्स संघ नेतृत्वमा ल्याए हो भन्ने धेरैको बुझाइ छ ।

बैंकर्स संघको अध्यक्ष हुने भएपछि क्लिकमाण्डूसँग साक्षात्कार गर्दै दाहालले आफूलाई एक्सिडेन्टल अध्यक्ष भएको बताए ।

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई एक्सिडेन्टल प्राइममिनिस्टर रुपमा लिइन्छ । यही शीर्षकमा पुस्तक लेखिएको छ, चलचित्र पनि बनेको छ । त्यसैलाई उदाहरण दिँदै दाहाल आफैलाई तुलना गरे । र, एक्सिडेन्टलको उपमा अध्यक्षका अगाडि जोडे ।

‘शिक्षण पेशालाई करिअरको उद्देश्य बनाएको मेरा लागि सरकारी जागिर जसरी एक्सिडेन्टल थियो, साथै नबिल बैंकको जागिर र बैंकर्स संघको अध्यक्ष पनि एक्सिडेन्टल नै हो,’ उनले भने ।

बैकर्स संघ बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था हो । जसले बैंकिङ क्षेत्रको विषयमा सरकार र केन्द्रीय बैंकलाई सल्लाह र सुझाव दिने काम गर्छ । संघमा उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रचलन छ । संघको हालका उपाध्यक्ष एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नाकर हुन् । अर्थमन्त्रालयले भारतीय नागरिक भट्नाकरलाई अध्यक्ष नबनाउन सुझाव दियो ।

त्यसपछि बैंकरहरु नयाँ अध्यक्ष खोज्न लागे । कोही तयार नभए संघबाट निवर्तमान अध्यक्ष हुन लागेका नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानलाई दोहर्याउन केहीले सुझाव दिए । ढुंगाना कोही नआए दोहर्याउने पक्षमा थिए ।

तर,अन्तिममा केही बैंकरले दाहाललाई अध्यक्ष बन्न आग्रह गरे ।

‘सिनियर दाईहरुले अध्यक्ष बन्न आग्रह गर्नुभयो, सानिमा बैंक अब टिमले संचालन गर्न सक्ने भएको हुँदा केही समय संघलाई दिनुपर्छ भन्ने लाग्यो, त्यसपछि अध्यक्ष बन्न तयार भए,’ दाहालले सुनाए ।

करिअरको ग्राफ

रौतहटको किसान परिवारमा जन्मी हुर्किएका दाहालसँग भविष्यका लागि ठूला सपना थिएनन् । आफूलाई बैकर्स संघको ‘एक्सिडेन्टल अध्यक्ष’ भन्न रुचाउने उनको बाल्यकालको लक्ष्य अंग्रेजी शिक्षक बन्ने थियो ।

यसका पछाडि कारण छ । उनी विद्यालयमा पढ्दा एक जना अंग्रेजीका धुरन्धर शिक्षक प्रेमनारायण चौधरी । उनको शिक्षण कलाको वाहवाही तत्कालिन समयमा त्यहाँको समाज परिचित थियो । समाजले पुजेको मानिसको प्रभाव दाहालको जीवनमा नपर्ने कुरै नभए । उनी ती अंग्रेजी शिक्षकको फ्यान भए । उनै शिक्षकलाई रोल मोडल मान्दै उनी जस्तै शिक्षक बन्ने सपना बुने ।

विद्यालयको पढाइ सकिएपछि उनी एकाध वर्ष शिक्षण गर्न थाले । केही समय शिक्षण पेशामा रमाएपछि कसैले सुझाव दियो । सरकारी सेवामा जानुपर्छ, जीवन सुरक्षित बनाउनुपर्छ । उनले त्यसैलाई शिरोधार्य गर्दै लोकसेवाको परीक्षा दिए । परिणाम, उनी सरकारी जागिरे भए ।

जागिर थियो, संसद सचिवालयमा  खरिदार रुपमा  त्यहाँ काम गर्दा उनको तलब १२ सय जति थियो । त्यहाँ उनले डेढ वर्ष काम गरे । डेढ एक वर्षपछि नबिल बैंकले पनि जागिर खुलायो ।

कसैले भनिदियो, के सरकारी जागिर खाइरहनु, बैंकमा राम्रो छ त्यतै जानु । साथीले सुझाएको सुझावलाई मनन गर्दै नबिल बैंकमा जागिरका लागि आवेदन दिए । लिखित परीक्षा सकियो, पास भए । अन्तर्वार्तामा सामान्य ज्ञान जस्ता प्रश्न सोधियो । लोकसेवामा पढेको ज्ञान त्यही काम लाग्यो । फलतः नबिल बैंकमा जागिर हुने भयो ।

उनका अगाडि २ वटा विकल्प थिए, संसद सचिवालयको सरकारी जागिर र निजी क्षेत्रको बैंकको जागिर । दुबै राम्रा जागिर थिए । तर उनले बैंक रोजे । यसको कारण थियो, संसद सचिवालयमा पाउँदै आएको १२०० मा झण्डै ४ हजार रुपैयाँ बढी तलब । अर्थात् ४५०० रुपैयाँ । अहिले उनले तलबभत्ता तथा सेवा सुविधा गरी मासिक १७ लाख रुपैयाँ बुझ्छन् ।

उनलाई यही कुराले तान्यो र उनी बैंकिङ क्षेत्रमा प्रवेश गरे । आजका दिनमा उनले बैंकिङ क्षेत्रमा २८ वर्ष बिताइसकेका छन् । हरेक समय आफूलाई बलियो प्रमाणित गर्दै सानिमा बैंकको प्रमुख कार्यकारीसम्म पुगेका छन् ।

उनको बैंकरको यात्रा नबिल बैंकबाट सुरुवात भयो, सन् १९९१ मा नविल बैंकमा प्रवेश गरेपछि उनले बल्ल अर्थशास्त्रका पुस्तक पढे, बैंकिङ क्षेत्रको ज्ञान बढाए । उनलाई थाहा थियो, सामान्य ज्ञानको भरमा बैंकर बन्न सकिन्न, बैंकमा प्रगति गर्न सकिन्न ।

त्यसैले अंग्रेजी र अर्थशास्त्रमा स्नातक पूरा गरेपछि उनले फाइनान्समा एमबीए गरे । विभिन्न तालिम लिए, ज्ञानको दायरालाई फराकिलो बनाउँदै लगे ।

दाहालले नबिल बैंकमा सन् १९९१ डिसेम्बर २६ मा प्रवेश गरेका थिए । जहाँ उनले असिस्टेन्ट तहदेखि असिस्टेन्ट जनरल म्यानेजरका पदमा रहेर काम गरे ।त्यहाँ रहँदा अफिसर (ओ १), अफिसर (ओ२), म्यानेजर (एम१), म्यानेजर (एम२), म्यानेजर (एम३), म्यानेजर (एम४) हुँदै असिस्टेन्ट जनरल म्यानेजरका रुपमा सन् २०१० सम्म काम गरे ।

सानिमा बैंकमा उनी सन् २०१३ को जुन २० मा प्रवेश गरेका हुन् । सन् २०१४ जनवरी २५ सम्म डेपुटी सीईओका रुपमा काम गरेपछि उनी सीईओ भए ।

उनी स्वाभलम्बन माइक्रो क्रेडिङ डेभलप्मेन्ट बैंकका निर्देशक, नेपाल राष्ट्र बैंकको अकर्ड इमप्लिमेन्टेसन ग्रुप (बासेल २), बासेल ३ का सदस्य भइसकेका छन् भने राष्ट्र बैंककै बैंकिङ रेगुलेसन ड्राफ्टिङ टास्क फोर्समा सदस्य समेत भइसकेका छन् ।

त्यति मात्रै होइन, अर्थमन्त्रालयमा बैंक, एफआईएस, इन्स्योरेन्स, पूँजी बजार, सहकारीका लागि रेभन्यू सल्लाहकार उपसमितिमा बसेर काम समेत गरिसकेका छन् । साथै सेक्यूरिटी बोर्ड अफ नेपालमा एएसबीए टास्कफोर्सको सदस्य भइसकेका छन् । त्यस्तै, नेपाल बैकर्स एसोसिएसनमा कभेनोर फाइनान्स कमिटीमा कार्यकारी सदस्यका रुपमा काम गरिसकेको अनुभव छ ।

४८ वर्षे दाहालको अध्ययनमात्रै होइन लेखनमा पनि उत्तिकै रुचि राख्छन् । कलम पनि चलाउँछन् । उनले हालसम्म ‘अ ह्यान्ड बुक टु ब्यांकिङ’ र ‘ग्रोसरी अफ बैंकिङ टर्मस्’ पुस्तकमा सह लेखनको काम गरिसकेका छन् भने बैंक तथा फाइनान्ससम्बन्धि कैयन लेखहरु समेत लेखेका छन् ।

दाहालले अमेरिकाको हवार्ड बिजनेस स्कुल बोस्टनमा लिडिङ ग्लोवन बिजनेस तालिम, भारतमा इन्फोसिस टेक्नोलोजी लिमिटेडमा तालिम, भारतको पुणेमा एसेट लाइविलिटी म्यानेजमेन्ट, नेशनल इन्स्टिच्युट फर बैंक म्यानजेमेन्ट तालिम, क्रेडिट म्यानेजमेन्ट तालिम, एसेट लाइविलिटी म्यानेजमेन्ट एन्ड क्यापिटल एडिक्युसी प्लानिङ सिंगापुर, टोटल क्वालिटी म्यानेजमेन्ट इन सर्भिस सेक्टर, इन्डोनेसिया र जर्मनीको फ्रयांकफटमा इन्टरनेसनल स्प्रिङ सेमिनार कमर्जबैंकमा तालिम समेत लिइसकेका छन् ।

दाहालको जीवनशैली

उनको व्यवहार जस्तै जीवनशैली पनि उत्तिकै सरल छ उनको । सातामा ६ दिन बैंककै काममा बिताउने उनी बिदामा पुस्तक पढ्न र ट्रेकिङमा जान रुचाउँछन् । उनले हालसम्म ७० जिल्लामा पाइला राखिकेका छन् । ट्रेकिङमा जाँदा प्रकृतिसँगको साक्षातकार र सामिप्यता उनलाई औधी मनपर्छ ।

कहिले काही माछा मासु खान्छन्, मद्यपान र धुमपान गर्दैनन् । पार्टीमा कमै बस्छन् । पार्टीमा बसि हाले भने पनि भेज आइटमको स्वादमा रमाउँछन् । बिदा सदुपयोग गर्न पुस्तक पढ्छन्, मोबाइलमा एपमा समाचार नियाल्छन र निकै कम तर चलचित्र पनि हेर्छन् ।

दाहालका दुई छोरा छन् । एक जना भारत नयाँ दिल्लीमा रहेको आईआईआईटीमा कम्प्युटर साइन्स एन्ड म्याथम्याटिक्स अध्ययन गरिरहेका छन् भने अर्का छोराले राजधानीकै एक विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका छन् ।

अध्यक्षका रुपमा के छन् एजेन्डा ?

बैंकिङ क्षेत्र नाफामुलक संस्था भएकाले पारदर्शी बैंकिङ गर्दै राम्रो रिटर्न जेनेरेट गर्ने साथसाथै सरकारले लिएको उद्देश्य पूरा गर्नु हो । जसलाई हामी रोवोट्स बैंकिङ भन्छौं । साथै सरकारले लिएको नीति अनुसार अगाडि पनि बढ्नुपर्छ । अध्यक्षका रुपमा यी दुबै चिजलाई एकैसाथ अगाडि बढाउने मेरो उद्देश्य हुनेछ ।

अर्को विषय हो अहिले बैंकर अजय श्रेष्ठको गिरफ्तारीपछि देखिएको भय र त्रासका वातावरणलाई सहज बनाउनु । बैंकहरुमा अहिले त्रासको वातावरण फैलिएको छ । कर्मचारीदेखि माथिल्लो तहसम्म यो फैलिएको छ । अजय श्रेष्ठको केसपछि अहिले मोरालिटी डाउन भएको छ ।

बदनियतले काम गरेकालाई कहिल्यै छाड्नु हुँदैन, कारबाही गर्नुपर्छ तर नियत ठीक भएकालाई त्यसो गर्नु हुँदैन् । त्यसलाई संयन्त्र बनाएर काम गर्नुपर्छ । ऐनको संशोधन गरेर हुन्छ वा प्रक्रियाको संशोधन गरेर हुन्छ त्यो वातावरण मिलाउनु पर्नेछ । यस विषयमा पनि म एजेन्डाका साथ अगाडि बढ्छु ।


क्लिकमान्डु