सेयर बजारबारे नीरवको टिप्पणीः बाँदर बेचेर धनी भइँदैन, अर्थमन्त्रीका नाममा आफूलाई किन रेट्ने ?



सेयर बजार चक्रमा  संशयात्मक अन्यौलको बादल मडारिरहेको निश्चय छ । यस परिप्रेक्ष्यमा विश्व बजारमा लोकप्रिय बाँदरको खरिद-बिक्रीको आहानबाट शुरु गर्ने अनुमति चाहन्छु । तथापी यो दन्त्य कथा मात्रै हो । तर यहाँ खरिद-बिक्रीको सत्यता भने लुकेको छ ।

कथाको प्रारब्ध एउटा वा कुनै नगरमा एउटा व्यापारीको आगमन र उसको बाँदर खरिद गर्ने घोषणाबाट शुरु हुन्छ । उक्त मानिस गाउँमा आएर गाउँमा भएका बाँदरहरु खरिद गर्ने घोषणा गर्छ ।

जसका लागि प्रतिबाँदर १ सय रुपैयाँ दिने घोषणा गर्छ । उक्त घोषणासँगै गाउँलेहरुमा गज्जबको जोश जाँगर र उत्साहको माहोल हुन्छ । सबै गाउँलेहरु आ-आफ्नो दैनिकी भुलेर नजिकैको जंगलमा भएको बाँदर समातेर पैसा कमाउने सपना बुन्न थाल्छन् ।

केही दिनपछि उक्त व्यापारी आफ्नो कर्मचारीका साथ पुनः गाउँमा आउँछ । र, गाउँलेहरुले समातेको बाँदर १ सय रुपैयाँ प्रतिगोटाका दरले किन्छ । यो क्रम केही दिनसम्म निरन्तर चल्छ ।

केही समयभित्र उक्त मानिसले गाउँलेहरुबाट १ हजारभन्दा बढी बाँदरहरु खरिद गरिसकेको हुन्छ । जसले गर्दा उक्त क्षेत्रमा बाँदरको मात्रामा धेरै कमी आइसकेको हुन्छ । फलस्वरुप आपूर्तीमा कमी आउँछ । बाँदर पाउन धेरै पर/पर जानुपर्ने हुन्छ ।

सिद्दान्तस्वरुप उक्त मानिसले गाउँलेहरुलाई प्रतिबाँदर पहिलेको भन्दा दोब्बर बढी मूल्य २ सय रुपैयाँमा दिने प्रस्ताव राख्छ । आ–आफ्नो काममा लागिरहेका गाउँलेहरु उक्त घोषणासँगै झन धेरै हौसिन्छन । र, पुनः बाँदर समात्ने काममा लाग्छन् ।

क्रमिक रुपैयाँ बाँदरको मूल्य प्रतिगोटा २००, ३०० हुँदै ४०० रुपैयाँसम्म पुग्छ । गाउँलेहरु धेरै उत्साही हुन्छन् । फलस्वरुप उनीहरु आफ्नो खेतबारी, व्यापार सबै छाडेर बाँदरको खोज्ने धन्दा तिर लाग्छन् ।

कुनै एक घमाइलो दिन उक्त व्यापारीले बाँदरको मूल्य ५०० रुपैयाँ दिने बाचा गर्दै आफू बाँदर व्यापारको सिलसिलामा अन्य मुलुक जानुपर्ने र त्यतिञ्जेलसम्मलाई उनको मूख्य कर्मचारीले गाउँलेसँग बाँदर खरिद गर्ने भन्दै गाउँबाट अलप हुन्छ ।

केही दिन उक्त मालिकको कर्मचारीले गाउँलेहरुसँग बाँदर किन्छ त्यो कर्मचारीले एकदिन गाउँलेहरुलाई व्यापारीले गाउँहरुबाट खरिद गरेर पिँञ्जडामा राखेको बाँदरहरु करिब १५०० भन्दा बढी प्रतिबाँदर ३५० रुपैयाँमा किनेर पछि त्यो व्यापारी आएपछि ५०० रुपैयाँमा बिक्री गर्ने प्रस्ताव राख्छ ।

गाउँलेहरु प्रतिबाँदर १५० रुपैयाँ फाइदा हुने लोभमा आफूले बेचेको बाँदर पुनः ३५० रुपैयाँमा किन्न राजी हुन्छन् । र, किन्छन पनि । तर उक्त दिनपछि न त्यो व्यापारी न त उसको कर्मचारी नै त्यो गाउँमा आए । गाउँमा बाँदरको आपूर्ती पूर्ववत् अवस्थामै फर्कियो । तर माग शुन्य ।

निराश हुँदै गाउँलेहरु पूर्ववत् कृषिलगायतका अन्य कर्ममा फर्किए ।

विश्व पुँजी बजारको केन्द्र वाल स्ट्रिटमार्फत् प्रचलित भएको कथन साँढेले पैसा कमाउँछ, भालुले पैसा बनाउँछ, सुँगुरहरु मारिन्छन् । बाँदर र गाउँलेहरुको प्रचलित आहानलाई यस कथाले थप पुष्टि गर्छ ।

साँढे अर्थात् बुल मार्केटमा लगानीकर्ताको आत्मविश्वास उच्च हुन्छ । यस्तो अवस्थाको बजारमा तत् देशको अर्थतन्त्र निकै सुधारिएको हुन्छ । अर्थतन्त्रका सबैजसो सूचकहरु सकारात्मक हुन्छन् । तर यस्तो बुल मार्केट सधै रहन्न ।

तसर्थ, यही बजारको दिवास्वप्नामा अत्यधिक रुपमा जम्मा गरिएका धितोपत्रका कारण लगानीकर्ताहरु घाटामा जान सक्छन् । त्यस्तै, भालु अर्थात् बियर मार्केट अवस्थाको बजारमा आर्थिक सूचकहरु बुल मार्केटको तुलनमा निकै खराब हुन्छन् ।

अन्त्यमा बियर-बुल मार्केटको अवस्थाको आँकलन गर्न सक्दैन ऊ सुँगुर जस्तै मारिन्छ । अत्यधिक लोभी लगानीकर्तालाई सुँगुरको संज्ञा वाल स्ट्रिटले दिएको हो । अन्त्यमा साँढे हुनु, भालु हुनु तर सुँगुर नहुनु ।

तसर्थ, बारम्बार एक अमूख व्यक्तिको हौवामा बजार चलेन भन्नुभन्दा बाँदर बेच्ने र फेरि किन्ने किसान नहुनेतर्फ सोचौं । अर्थमन्त्रीका नाममा आफूले आफैलाई किन रेट्ने ?

(लेखक पुडासैनी पुँजी बजारसम्बन्धी जानकार मानिन्छन्)


क्लिकमान्डु