संकटमा फलामे डण्डी उद्योग, बैंकलाई ऋण नउठ्ने चिन्ता थपियो



काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पको ठूलो धक्काले झण्डै ८ लाख भवन क्षतविक्षत पार्यो । जसमा ७ लाख ६७ हजार ७०० निजी आवास र ५ हजार ३ सय विद्यालय भवन थिए ।

त्यसयता भूकम्पले भत्काएका निजी आवास र विद्यालयको निर्माण सुरु भयो । यसले निजी आवास निर्माणसँगै सिमेन्ट र छडको माग ह्वातै बढाएको थियो ।

भूकम्पले भत्काएका घर निर्माणका लागि गुणस्तरीय छड माग नेपालमा बढेपछि नयाँ फलामे डन्डी उद्योग स्थापना भए । बैंकहरुले पनि ती उद्योगमा अबौंको लगानी गरे ।

भूकम्पपछिका २ वर्ष बजारमा डन्डीकोे माग बढेर उद्योगहरुले यसको व्यवसायबाट राम्रो मुनाफा गरेका थिए । तर भूकम्पले भत्काएका निजी आवासहरुको निर्माण क्रमिकरुपले सम्पन्न हुँदै जाँदा डन्डीको माग घट्न थाल्यो । जसले उत्पादन पनि घटायो । माग र उत्पादन घटेपछि बैंकहरुले डन्डी उद्योगमा गरेको लगानीको प्रतिफलमा ह्रास आउने देखिएको छ ।

विगतमा भन्दा चालु आर्थिक वर्षदेखि बैंकबाट डन्डी उद्योगमा कर्जा लगानी घटिरहेको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले क्लिकमाण्डूलाई बताए ।

‘अहिले ती उद्योगको व्यापारमा केही मन्दी आएको छ,’ उनले भने, ‘तर बैंकमा बुझाउनुपर्ने ब्याज उनीहरु समयमा नै भुक्तानी गरिरहेका छन् ।’

डन्डीको माग बजारमा घटिरहेको हुँदा उनीहरुको नाफा घट्ने र यसले बैंकलाई लगानी उठाउन समस्या आउन सक्ने उनको भनाइ छ ।

नेपालमा हाल २४ वटा डन्डी उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुमा बैंकहरुले आर्थिक वर्ष २०७४÷७५ असार मसान्तसम्म ६९ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

निजी आवास पुर्ननिर्माणले गति लिएर बजारमा फलामे डन्डीको माग बढेपछि नयाँ उद्योगहरु थपिएका थिए । त्यस समयमा ६ वटा नयाँ फलामे डन्डी उद्योगहरु स्थापना भए ।

बजारमा डन्डीको माग र आपूर्ति बढेसँगै बैंक तथा वित्तीय संस्थाले गतवर्षको भदौ मसान्तसम्म ७६ अर्ब ६४ करोड रुपैयाँ ती उद्योगमा ऋण दिएका थिए ।

उच्च मुनाफा गरिरहेका डन्डी उद्योगमा बैंकहरुको लगानी अर्थिक वर्ष २०७५/७६ असार मसान्तसम्म ९५ अर्ब ७५ करोड रुपैयाँ पुगेको थियो भने आर्थिक वर्ष २०७६/७७ को भदौ मसान्तसम्म १ खर्ब ९५ करोड ऋण पुगेको छ ।

गत आर्थिक वर्षको २ महिनामा बैंकहरुले यो क्षेत्रमा लगानी ११ प्रतिशत बढाउँदा चालु आर्थिक वर्षको पहिलो २ महिनामा ५.४ प्रतिशत मात्र बैंकको लगानी बढेको हो । भूकम्पले भत्काएका घरहरुको पुनः निर्माण सकिएर डन्डीको माग घट्दाँ यी उद्योगहरुबाट कर्जाको माग पनि घटेको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

‘व्यवसायमा घटेर नाफा कम आर्जन गरेपनि यी उद्योगहरुले बैंकमा बुझाउनु पर्ने पैसा बुझाइरहेका छन्’ उनले क्किलमाण्डूसँग भने ‘निर्माणको काम भूकम्पले भत्काएका घरमात्रै होइन, विकास निर्माणका अन्य काम पनि धेरै छन् ।’

भविष्यमा विस्तारै पुनः डन्डीको माग बढेर यी उद्योगको उत्पादन बढ्नुका साथै बैंकमा कर्जाको माग पनि बढ्ने शाहको भनाइ छ ।

नेपालमा सञ्चालित डन्डी उद्योगले कच्चापदार्थ भारतबाट आयात गर्दै आएका छन् । माग र आपुर्ति घटेपछि उद्योगमा डन्डी उत्पादनलाई चाहिने फलाम तथा स्टील प्लान्टको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा ७ अर्ब ६१ करोड रुपैयाँको एमएस बिलेड आयात भएको छ । अघिल्लो वर्षको पहिलो २ महिनामा १३ अर्ब ४३ करोड रुपैयाँको एमएस बिलेडको आयात भएको थियो ।

डण्डी उद्योगमा पायोनियर मानिएको सौरभ ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने फलामे डण्डीको बिक्री घटेको हुँदा यसमा चाहिने कच्चा पदार्थको आयात समेत घटेको बताउँछन् ।


क्लिकमान्डु