ऋण तिरिदिएर जेल जानबाट जोगिएका भाइ अनिलको कम्पनी खरिद गर्न मुकेशले इच्छा देखाएनन्



यसै वर्षको गत मार्च महिनामा ऋण तिर्न नसक्दा जेल जाने अवस्थामा पुगेका भारतीय व्यापारी अनिल अम्बानीलाई दाजु मुकेश अम्बानीले जोगाएका थिए ।

तत्कालिन समयमा रिलायन्स कम्युनिकेशनका प्रमुख अनिल अम्बानीले तोकिएको म्यादभित्र एरिक्सन कम्पनीलाई साढे ५ अर्ब भारु नतिरेको भए उनी जेल जानु पथ्र्यो ।

तर जीवनको कठीन समयमा दाई मुकेशले उक्त ऋण तिरिदिएर अनिललाई जेल जानबाट जोगाएका थिए ।

तर मंगलबार अनिल अम्बानीको कम्पनी खरिद गरी कम्पनीलाई परिवारभित्रै राख्दै कम्पनी बचाउनका लागि बोलकबोलको प्रक्रियामा भने दाजु मुकेश सहभागी भएनन् ।

अनिलको सम्पत्ति खरिद गर्न भारतीय एयरटेल, भारतीय इन्फ्राटेल तथा प्राइभेट इक्विटी कम्पनी बेर्दे पार्टनर्स इंकसहित ६ वटा कम्पनी इच्छुक देखिएका छन् । जसले टाटपल्टि सकेको अनिलको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) तथा सब्सिडेरी कम्पनी रिलायन्स टेलिकम (आरटीएस) रिलायन्स इन्फ्राटेलको सम्पत्ति खरिद गर्नका लागि बोली लगाएका छन् ।

तर आम अपेक्षाको ठ्याक्कै विपरीत आश्चर्यजनक रुपमा खरिदको यस दौडमा मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो इन्फोकम कम्पनी भने सहभागी छैन ।

मुकेश अम्बानीको कम्पनी जियोले बोली लगाउनका लागि आरकमको रिजोलुसन प्रोफेशनल (आरपी)सँग १० दिनको समय मागेको बताइएको थियो । जबकी अन्तिम मिति ११ नोभेम्बरलाई तोकिएको थियो ।

आरकम कम्पनीलाई ऋण दिने बैंकहरुको समितिले १३ नोभेम्बरमा बोलकबोल खुला गर्नेछ ।

अहिले नेशनल कम्पनी ल ट्राइब्युनलले रिजोलुशन प्रोफेशनल डेलाएट कम्पनीलाई आरकम तथा उसको इकाइ कम्पनीहरुको कामकाज हेर्ने जिम्मा दिएको छ ।

यो प्रक्रिया पूरा गर्नका लागि १० जनवरीसम्मको समय निर्देश गरिएको छ । यसैवर्ष केही समय पहिले जियोसहित करिब एक दर्जन कम्पनीले आरकम तथा कम्पनीका इकाइ कम्पनी खरिदका लागि अभिरुचि पत्र दायर गरेका थिए ।

यस सम्बन्धमा आरकम रिजोल्युसन प्रोफेसशल, भारतीय एयरटेल, भारतीय इन्फ्राटेल र वेर्दे पार्टनर्सलाई इमेलमार्फत सोधिएको प्रश्नको जवाफ आएको छैन ।

४६ हजार करोड भारु ऋणमा छ आरकम

आरकम तथा यसका इकाइ कम्वनीमाथि अहिले ४६ हजार करोड भारुको ऋण छ । सबै ऋणदाता कम्पनीहरु अदालतमार्फत् कम्पनीको सबै सम्पत्ति बिक्री गरी रिकभर गर्ने प्रयास गरिरहेका छन् ।

कम्पनीको सम्पत्तिमा स्पेक्ट्रम, टावर, फाइभरआदि छन् । सोहीअनुसार बोली लगाइएको थियो ।

आरकमसँग देशका २२ वटा सर्कलमा १४ वटा स्पेक्ट्रम छन् । जोसँग ४३ हजार टेलिकम टावर छन् । ती टावरहरु अहिले रिलायन्स इन्फ्राटेलको मातहतमा सञ्चालन भइरहेका छन् । कम्पनीसँग रियल स्टेट सम्पत्ति समेत छ ।

यसैबीच आरकम कम्पनीको दूरसञ्चार विभाग तथा अन्य अपरेशनल क्रेडिटर्ससँग कानूनी विवाद समेत चलिरहेको छ ।सबै कम्पनीहरुले ९० हजार करोड भारु रुपैयाँको दाबी गरेका छन् ।

यसअघि जियो आरकमको वायरलेस विजनेस खरिदको नजिक पुगेको थियो । तर दूरसञ्चार विभागले स्पेक्ट्रमको लायविलिटीबारे स्पष्ट पार्नुपर्ने भनेपछि उक्त डिल बीचमै तुहिएको थियो । त्यसपछि आरकमले आफैलाई ऋण चुक्ता गर्न नसक्ने भनी घोषणा गरेको थियो ।

दाजुभाइको तितो सम्बन्ध

कुनै समय दुई अम्बानी दाजुभाइबीच सम्बन्ध राम्रो थिएन । उनीहरु एकअर्कालाई कट्टर प्रतिद्वन्द्वीका रुपमा थिए । सन् २००८ मा रिलायन्स कम्प्युनिकेशनका प्रमुख अनिल अम्बानी विश्वका आठौं धनी व्यक्ति थिए ।

तत्कालिन समयमा रिलायन्स कम्युनिकेशनलाई एसियामा राम्रो दूरसञ्चार कम्पनीका रुपमा लिइन्थ्यो । तर उक्त कम्पनीले बजारमा अन्य कम्पनीसँग प्रतिष्पर्धामा उत्रन सकेन । अझ भनौ दाजु मुकेशको कम्पनी जियोसँगको प्रतिष्पर्धामा पनि खरो उत्रन सकेन ।

जसकाकारण एकवर्षभित्रमा अनिल अम्बानी माथि ७ अर्ब डलर बराबरको ऋण थप्रिएको थियो ।


क्लिकमान्डु