राष्ट्र बैंकले बैंकासुरेन्स रोकेपछि बीमा समिति एक्सनमा, बैंकलाई बीमाको लोभ देखाएर निक्षेप तान्न कडाइ




काठमाडौं । बैंकहरुले निक्षेप संकलनको नाममा बीमा सम्बन्धि विभिन्न योजना ल्याएर बचतकर्तालाई लोभ्याउन नपाउने भएका छन् । बैंकहरुले बचतकर्तालाई बीमाको प्रलोभन देखाएर बचत तान्दै आएका थिए ।

बैंकहरुले निःशुल्क बीमा गर्ने भन्दै प्रचार–प्रसार गर्दा बीमा कम्पनीहरुको अस्तित्व गुम्ने खतरा देखेपछि बीमा समितिले अब बैंकले बचत गर्नेहरुलाई निःशुल्क बीमा गर्ने योजना बन्द गर्न लागेको हो ।

लामो समयदेखि बैंकहरुले आफ्ना बचतकर्तालाई निश्चित रकमसम्मको बीमा गराउने भन्दै बचत संकलन गर्दै आएका छन् ।

राष्ट्र बैंकले बैंककासुरेन्स बन्द गरेपछि बीमा समितिले बैंकहरुलाई बीमा कम्पनीको नाम उल्लेख नगरी बीमा गर्ने भन्दै प्रचार गर्न नपाइने व्यवस्था गर्न लागेको हो ।

‘बैंकले निक्षेपकर्तालाई बीमाको पनि सुविधा दिन्छौं भनेर प्रचार गर्दा देशमा बीमा कम्पनी नै छैनन् कि भन्ने जस्तो देखियो,’ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्किकमाण्डूसँग भने, ‘त्यसैले हामीले यो प्रवृत्ति रोक्न लागेका हौं ।’

बचतकर्ताको हिसाबले हेर्दा यो विषय राम्रो भएपनि बैंकहरुले त्यसलाई बचत ल्याउने औजारको रुपमा मात्रै लिएका थिए ।

‘यो योजनाले अहिले बीमा कम्पनीलाई पनि नोक्सानी भएको छ । त्यसैले समितिले यसलाई रोक्दैछ,’ बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले भने ।

उनका अनुसार बैंकहरुले डिपोजिट तान्नका लागि बीमालाई देखाएका छन् । केहीले दुर्घटना बीमा, केहीले घातक रोग बीमा गर्ने भनेका छन् । बीमा गर्नु राम्रो हो । तर बचत गर्दा निःशुल्क बीमा गर्ने भन्न पाइँदैन । त्यसैले समितिले यसलाई रोक्न लागेको छ ।

उनले अब कुनै पनि बैंक र बीमा कम्पनीबीच सम्झौता (एमओयू) हुँदा नै निःशुल्क बीमा गराउने भनेर राख्न नपाउने व्यवस्था गर्न लागेको जानकारी दिए ।

‘बैंकहरुले बीमा गर्न पाउँछन्, त्यसमा समस्या छैन तर बैंक र बीमाबीच सम्झौता हुँदा निशुल्क बीमा हुन्छ भन्नु भएन,’ उनले भने ।
उनका अनुसार बैंकले त ५ लाख बचत गरे निःशुल्क बीमा गर्ने भनेकाले यो मिल्दैन् ।

आगामी दिनमा बीमा कम्पनीलाई बैंकसँग एमओयू गर्दा निःशुल्क भन्ने शब्द नराख्न निर्देशन दिने अन्तिम तयारी भएको अधिकारीको भनाइ छ ।

यतिबेला बैंकहरुले बचत गर्नेलाई कुनैले ३ लाख, कुनैलाई ५ लाखको जीवन बीमा, दैनिक २५ हजार वा सोभन्दा बढी बचत गर्नेका लागि विभिन्न प्रकारका १३ वटा घातक रोगको बीमा गर्दै आएका छन् ।

दैनिक बचत भने बैंकअनुसार कतै कम र कतै बढी छ । बचतकर्ताको आत्महत्या बाहेकको मृत्यु, घातक रोग लागेको खण्डमा बीमा गर्ने र त्यो बापत लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयमले व्यहोर्ने योजना ल्याएका छन् ।

बीमा समितिले कडाइ गर्ने भनेपछि केही बैंकले बीमा कम्पनीको नाम उल्लेख गरेर प्रचार गर्न थालिसकेका छन् ।


पुष्प दुलाल