रोजगारदातालाई जवरजस्ती भएपनि सहभागी गराउने सामाजिक सुरक्षा कोषको नीति, पत्र पठायो



काठमाडौं । सामाजिक सुरक्षा कोषमा सहभागी नहुने रोजगारदाता कम्पनीमाथि सुरक्षा कोष आक्रमक बनेको छ । जवरजस्ती भए पनि सहभागी गराउनका लागि कोषले व्यवसायीका छाता संगठनलाई पत्राचार गरेको छ ।

हालसम्म ९ हजारभन्दा बढी १३ हजारदेखि ७ लाख रुपैयाँ मासिक पारिश्रमिक भएका १ लाख बढी योगदानकर्ताहरु कोषमा आवद्ध भइसकेका छन् । हालसम्म कोषमा आवद्ध नभएका संघ सस्थाहरु अब १ महिनभित्र आवद्ध हुनका समय थप गरिएको छ ।

अहिलेसम्म आवद्ध नहुने योजगारदाता कम्पनी भनेका श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिने र अत्यधिक धेरै पारिश्रमिक दिनेहरु भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

‘न्यूनतम पारिश्रमिक नदिएकाले कोषमा आवद्ध हुनकै लागि भए पनि सरकारले तोकेको पारिश्रमिक दिनैपर्ने हुन्छ अनि धेरै पारिश्रमिक दिनेलाई पनि कोषमा आउँदा कर बढी तिर्नुपर्ने हुँदा आवद्ध हुन उनीहरु डराएका हुन्,’ ज्ञवालीले क्लिकमाण्डूसँग भने ।

सामाजिक सुरक्षा कोषमा हालसम्म ९ हजारभन्दा बढी रोजगारदाता कम्पनीहरु आवद्ध भए पनि अझै पनि साना व्यापारी संस्थादेखि धेरै ठूला उद्योग, बैंक तथा वित्तीय संस्थाहरुले आवद्ध भएका छैनन् ।

कोषभन्दा अगावै उस्तै प्रकृतिका काम नागरीक लगानीकोष, कर्मचारी सञ्चय कोषलगायत विभिन्न संस्था आफैले अवकाश कोष सञ्चालन गरेका छन् । आवद्ध नभएकाहरुले ती संस्थाहरुको तुलनामा कोषले दिने सेवा सुविधा थोरै भएको कारण देखाउँदै आएका छन् ।

‘यो सरकारले जनतालाई अवकास रकमको नाममा बुढेसकालमा दिने औषधी हो’, कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने, ‘औषधी नखाने बच्चालाई आमाले मुखमा खोलेर कोच्याए जस्तै सरकारले पनि जनतालाई जवरजस्ती भए पनि औषधी खुवाउँछ ।’

हालसम्म कोषमा नहुने रोजगारदाता संघ सस्थाहरुलाई १ महिनाभित्रै आवद्ध हुन पत्र पठाएको उनले जानकारी दिए । कोषले दिएको समयमा आवद्ध नभएमा कारबाही गरिने भनेर बैंकर्स एसोसिएसन, होटल एसोसिएसन, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मस, प्याब्सन, हिसान, मुद्रण संघ लगायत व्यवसायीका छाता संगठनलाई पत्राचार गरिसकिएको ज्ञवालीले जानकारी दिए ।

‘कात्तिक १४ गते कोषमा आवद्ध हुन विभिन्न रोजगारदाता कम्पनीका छाता संगठनलाई पत्र पठाएका छौं,’ ज्ञवालीले भने, ‘सरकारले ल्याएको योजनामा आवद्ध नहुनेलाई कारबाही हुन्छ ।’
त्यसैगरी, कोषको लगानी कार्यविधि पारित भएको छ । कार्यविधि अनुसार अब कोषले योगदानर्ताले कोषमा जम्मा गरेको रकम विभिन्न उत्पादनमुलक क्षेत्रहरुमा लगानी गर्नुका साथै योगदानकर्तालाई कर्जा समेत वितरण गर्ने भएको छ ।

कोषमा जम्मा भएको रकमको राम्रो प्रतिफल योगदानकर्तालाई दिनुपर्ने भएकाले कर्जा कार्यविधि ल्याइएको ज्ञवालीले बताए ।

‘कोषमा जम्मा गरिएको रकम होल्ड गरेर राखेर त्यसले केही प्रतिफल दिँदैन, पैसा जम्मा गर्ने मान्छेले त प्रतिफल खोज्छन नै, त्यसै कारणले कार्यविधि ल्याएको हो’ उनले भने ।

लगानी कार्यविधि अनुसार योगदानकर्तालाई कोषले ३ किसिमको कर्जा उपलब्ध गराउने छ । जसमा आवस कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा रहेका छन् । यसबाहेक लगानी ऐनमा व्यवस्था भएअनुसार कोषमा जम्मा भएको रकम बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने सम्पूर्ण क्षेत्रमा सामाजिक सुरक्षा कोषले पनि लगानी गर्ने उनले जानकारी दिए ।

‘योगदानकर्ताले पाउने कर्जाको सीमा भने छैन्’, उनले भने ‘योगदानकर्ताले जम्मा गरेको रकमको आधारमा भन्दा कोष कर्जा दिँदा धितोको आधारमा दिन्छ ।’

कोषले लगानी गर्ने मूख्य उत्पादन मुलक क्षेत्रमा नै लगानी गरिने छ । यसका साथै कोषले मुद्दतिमा लगानी गर्नुका साथै व्यापारिक भवन बनाएर भाडा लगाउने योजना कोषको रहेको छ ।


क्लिकमान्डु