साना र घरेलु उद्योगीलाई बजेटको अभाव हुन दिन्नः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना र घरेलु उद्योगीको लागि लागि बजेटको अभाव हुन नदिने बताएका छन् ।
नेपाल हस्तकला महासंघको १७औं मेलाको उद्घाटन तथा १५ औं प्रतियोगिताको उद्घाटनमा उनले ठूला उद्योगको लागि बजेटको अभाव भएपनि साना उद्यमको लागि सरकारले बजेट अभाव हुन नदिने बताएका हुन् । ‘ बैंकहरुले पनि साना उद्यममा लगानी गर्नु भनेको छु,’ उनले भने ‘बैंकको एसएमई डेक्स छ त्यो यस्तै क्षेत्रमा कर्जा प्रवाह गर्नको लागि हो ।’
मन्त्री खतिवडाले सहुलियत ऋणको कार्यक्रम अघि बढाएको र त्यसमा हस्तकलाको विकासलाई जोडेर लैजान सक्ने बताए । बैंकर्स एशोसिएसन र सबै बैंकलाई निर्यात बढाउने क्षेत्रमा सहयोग गर्न आग्रह गरेको उनको भनाई छ ।
सामाजिक सुरक्षा कोष, प्यानको समस्या आफुलाई थाहा भएको र त्यो समस्या चाँडै समाधान गर्ने बताए । सामाजिक सुरक्षा संविधानमा नै व्यवस्था भएको उनले बताए ।
कार्यक्रममा मन्त्री खतिवडाले हस्तकला व्यवसायीहरुलाई महत्वकाक्षी योजना ल्याउन आग्रह गरेका छन् । ‘हामीले कुन सामान कति निर्यात गर्न सक्ने हो त्यसको लक्ष्य बनाउने र उद्यमी, सरकारले के गर्ने, कुटनीतिक नियोगले के गर्ने, प्रदर्शनी कसरी गर्न सकिने भन्ने प्रष्ठ योजना बनाउनु पर्छ,’ उनी भन्छन् ‘एउटा कार्ययोजना सहित बस्यो भने निर्णयमा अवश्य पुग्न सकिन्छ । त्यो कार्ययोजनासहित अर्थ मन्त्रालयमा बार्षिक लक्ष्य लिएर आएमा त्यसमा सहकार्य गर्न उनले प्रतिवद्धता गरे ।
मन्त्री खतिवडा भन्छन्–‘उत्पादनको प्रकृयामा अनुदान हो की, उत्पादनको लागि चाहिने कच्चापर्दाथमा, प्रशोधनमा, निर्यातको बिन्दुमा कहाँ कति अनुदान चाहिने हो त्यसमा छलफल गर्न मन्त्रालय तयार छ ।’ मुलुकको निर्यात छिट्टै नै दोब्बर गर्न आवश्यक रहेको उनको भनाई छ ।
अदृश्य रुपमा हुने निर्यात, उपहार, कोसेली, विदेशीलाई घरभित्र दिने सामान, पर्यटकले आफूसँग लैजान सामान, कुरियरबाट पठाउने सामानको अध्ययन सुरु गरेको बताए । यस्ता सबै सामान हस्तकलाको हुने र निर्यात धेरै नै रहेको बताए । धातु, माटो, ललितकला, रेशा, कपास, उन जस्ता बस्तुमा हाम्रो सम्भावना रहेको बताए । उनले भने, ‘मैले यो वर्षको बजेटमा रेशा उत्पादनमा अलि बढी नै जोड दिनुपर्छ भनेर रेशम खेतीलाई प्राथमिकता दिन खोजेको छु । ताकी हाम्रो खेतीबाट उत्पादित कच्चापर्दा, त्यसलाई प्रशोधन गरेर हामीले उत्पादन गर्ने सामानमा धेरै मूल्य अभिबृद्धि हुन सकेको, जसको आधारबाट रोजगारी सृजना होस भन्ने हो ।’
यसको सिप विकास, उद्यमशिलता बढाउन आवश्यक रहेको बताए । बजार, पुँजीको, प्रविधिको सुनिश्चितताबाट व्यवसाय गर्नेलाई उद्यमशिलता हुने आँट बढने बताए ।
‘व्यवसायी हुनको लागि कहाँ कहाँ असन्तुष्टि रहेका छन, कुन कुन बिन्दुमा हो त्यसमा खुलेर कुरा गरौ । हाम्रो हस्तकलाको लागि कच्चापदार्थ उपलब्ध छैन, बजार छैन, संकलन गरेर प्रदर्शन गर्ने ठाँउ छैन वा प्रोत्साहन छैन भने थप छलफल गर्ने छौं’ मन्त्री खतिवडाले भने ।
नेपाल अहिले अन्तर्राष्ट्रिय निकायको आकर्षकको केन्द्र भएको मन्त्री खतिवडाको भनाई छ । दुई महिनाको बीचमा सभा सम्मेलनमा, गोष्टिको लागि १०० भन्दा बढी मुलुकका मान्छे नेपालमा आएको र उनीहरुलाई हाम्रो प्रदर्शनी कक्ष रहेको र त्यहाँ लगेर आधा दिन घुमाउन पनि नसक्ने अवस्था रहेको बताए । उनीहरु पनि हाम्रा सम्भावित ग्राहक हुन सक्ने उनको भनाई छ ।
अहिले भ्रमण वर्ष २०२० मनाउन लागेको र त्यस समयमा हस्तकलाको प्रदर्शनी कक्ष अल्पकालको लागि भएपनि कहाँ कसरी राख्ने भनेर एउटा गन्तव्य बनाउन आवश्यक रहेको बताए । त्यसको लागि पर्यटन बोर्डसँग आफैले छलफल गरिरहेको मन्त्री खतिवडाको भनाई छ ।
उनले नेपालमा हुन लागेको दक्षिण एशियली खेलकुद (साग) हुन लागेको र त्यसको उद्घाटनको दिन त्रिपुरेश्वर वरिपरि कुनै ठाँउमा प्रदर्शनी कक्ष राख्न आवश्यक भएको बताए । खेलाडी र प्रशिक्षकसहित ५ हजार आउन लागेको उनले बताए । उनले भने ‘मैले रंगशालाको अवलोधन गरेको छु, अवलोकन गर्दा मैले प्रदर्शनी कक्ष राख्ने ठाँउ हेरेको छु, त्यो ठाँउमा उद्घाटनको दिन प्रदर्शनी गरौ, त्यसले नेपालमा प्रचार प्रसार हुन्छ, यहाँको सम्भता, आर्थिक सम्भावना देखाउन सकिन्छ ।’ दुई तीन दिनको बीचमा यो गर्न आवश्यक रहेको बताए । त्यो आवश्यक भएको मन्त्री खतिवडाको भनाई छ ।
कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गत आर्थिक वर्षका साढे ५ अर्बको हस्तकलाका सामान निर्णय भएको बताए । उनले चालु आवमा यो अंक बढने जानकारी गराए । उनले भने ‘यो हामीले गरेको निर्यात मात्रै हो, अनौपचारीक रुपमा उपहार, घरासयी सामानको रुपमा गएको पनि हेर्ने हो भने १३ अर्ब ८० करोडको निर्यात भएको छ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निर्यात बढाउनको लागि सरकारले प्रविधिगत उत्पादनमा जोड दिनुपर्ने बताए । भारत र चीनमा प्रविधिसहितको हस्तकलामा सामान्य उत्पादन हुन लागेको भन्दै नेपालले पनि परम्परागत शैलीबाट माथि उठेर प्रविधिमा जान आवश्यक रहेको गोल्छाको भनाई छ । त्यसको लागि तामिल र सहजै ऋण पाउने बाताबरण हुनुपर्ने गोल्छाले बताए । उनले भने ‘नेपालमा लगानीयोग्य रकमको अभाव छ । बैंकहरुले अनियमित रुपमा ब्याज बढाएका छन्, ब्याजको सन्दर्भमा राष्ट्र बैंकले गम्भिर रुपमा हेर्न आवश्यक छ ।’
५ दिनसम्म चल्ने प्रदर्शनिमा भारत, श्रीलंका, बंगलादेशको सभागिता रहेको छ । २०० स्टल रहेको प्रदर्शनीमा १ लाख भन्दा बढीले आवलोकन गर्ने अपेक्षा रहेको बताइएको छ ।