शिव श्री हाइड्रोपावरको सेयर बाँडफाँड नहुँदा लगानीकर्ता अन्योलमा, अन्डरराइटर कम्पनीले के गर्लान ?



काठमाडौं । शिव श्री हाइड्रोपावरको साधारण सेयर (आइपिओ) कहिले बाँडफाँड हुने भन्नेमा अन्योलता देखिएको छ । जसले गर्दा अन्डरराइटरहरुले २६ करोड रुपैयाँभन्दा बढी रकम सकार्न बाध्य भएका छन् ।

कम्पनीले सर्वसाधारणलाई खुला गरेको सेयर अहिलेसम्म बाँडफाँड हुन सकेको छैन ।

शिव श्री हाईड्रोले कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुन आउने २२ करोड १४ लाख ६० हजार रुपैयाँ बराबरको २२ लाख १४ हजार ६ सय कित्ता सेयर आयोजना प्रभावितलाई सेयर जारी गरेको थियो ।

जसमा बिक्री हुन बाँकी रहेको ११ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको ११ लाख ३५ हजार ५४० कित्ता सेयर थपेर सर्वसाधारणका लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता सेयर जारी गरेको थियो ।

त्यसबाट २ लाख ६८ हजार ९१ कित्ता सेयर सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वासाधारणका लागि जारी गरेको थियो ।

३३ करोड ५१ लाख १४ हजार रुपैयाँमध्ये झण्डै ७ करोडको सेयर बिक्री भएको छ । नबिकेको सेयर दुई अण्डर राइटर कम्पनी भिबोर क्यापिटल र सीबीआईएलले सकार्नु पर्ने भएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर खुला भएपनि माग अनुसार आवेदन नपरेपछि अण्डर राइटर गर्ने कम्पनीहरु समस्यामा परेका छन् ।

‘हाम्रो कम्पनी २० करोडको छ, शिव श्रीको सेयर सकार्दा १३ करोड जति खर्च हुन्छ । यस्तो भयो भने हामी कम्पनी नै चलाउन नसक्ने अवस्थामा पुग्छौं । धितोपत्र बोर्डले केही गर्ला की भन्ने अपेक्षामा रहेका छौं’, एक अण्डरराइटर कम्पनीका अधिकारीले भने ।

वैशाख अन्तिम साता अन्डरराइटिङका लागि सम्झौता पत्रमा हस्ताक्षर भयो, असार अन्तिमसाता पहिरो आएर आयोजना डुबायो, भौतिक संरचना ध्वस्त भएको उनको भनाइ छ ।

आयोजना तयारी हुने अन्तिम अवस्थामा रहे पनि पहिरोका कारण समस्या भएको ती अधिकारीको भनाइ छ ।

वैशाखसम्म प्रति मेगावाट १३ करोड ५ लाख रुपैयाँ हाराहारीमा लागत लाग्नेमा असारपछि यसको लागत बढेर २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ पुग्ने भएको छ ।

पहिरोले आयोजना ध्वस्त बनाउँदा पनि कम्पनीले जानकारी नगराएकाले आफूहरुले न्याय नपाएको खण्डमा मुलुकी देवानी संहिता २०७४ को करार तथा अन्य दायित्व सम्बन्धि व्यवस्थाको दफा ५३१ को खण्ड ‘क’ र ‘ख’ मा भएको व्यवस्था अनुसार अघि बढने बताए ।

त्यसमा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिने उल्लेख छ । यस्तै (क)मा करार अवैध भई पालना गर्न नहुने भएमा, र (ख) मा युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प, ज्वालामुखी जस्ता मानवीय नियन्त्रणभन्दा बाहिरका परिस्थिति उत्पन्न भई करारको परिपालना हुन सम्भव नहुने भएको  परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्नु नपर्ने व्यवस्था छ ।

जलविद्युतको सेयर घटिरहेको समयमा सेबोनले यसलाई रोकेको खण्डमा सबैको हित हुने उनको भनाइ छ ।

यता तत्कालिन भिबोर अहिलेको मुक्तिनाथ क्यापिटलले सेयर बाँडफाँडको विषयमा धितोपत्र बोर्ड, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलसँग छलफल भइरहेको जनाएको छ । आयोजना, अण्डरराइटर र बोर्ड बसेर पटक–पटक छलफल गर्दा पनि केही समाधानको बाटो ननिस्किएको उनको भनाइ छ ।

यता धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले शिव श्री हाईड्रोको विषयमा सरोकारवाला सबैसँग छलफल गरेर के गर्ने भन्ने मोडालिटी बनाएको बताए । यो अलि फरक खालको घटना भएकाले यस विषयमा निकै छलफल भएको उनको भनाइ छ ।

बोर्ड स्रोतका अनुसार यो विषय सञ्चालक समितिमा पुग्ने भएको छ । अहिले बोर्डका अध्यक्ष नभएकाले केही समय लाग्ने र बोर्ड निकट स्रोतको भनाइ छ ।

यसका लागि बोर्डले ऐनलाई नै टेकेर निर्णय लिनुपर्ने भएकाले समय लाग्ने बताइएको छ । स्रोतका अनुसार आगामी दिनमा यस्तो केस आएमा कस्तो नजिर बसाउने भन्ने पनि यही घटनाले देखाउने भएकाले निकै गम्भीर विषय बनेको छ ।

बोर्डका एक अधिकारीले भने, ‘सेयर बिक्री गर्नु ७ दिनअघि सूचना जारी हुन्छ, त्यो बेलामा अण्डरराइटरले थाहा नपाउने, जुन सेयर बिक्री भएन अनी हामीलाई थाहा छैन भनेर उम्कन मिल्दैन, यसले उनीहरुलाई नै प्रश्न उठाँउछ, हामीले गम्भीर रुपमा यो विषयलाई हेरेका छौं, पहिरोको सूचना समयमा नदिएको हो भने कम्पनीको पनि कमजोरी हो, त्यसको लागि ऐन छ ।’
जलविद्युुत आयोजनाले मनलाग्दी लागत बढाउने भएकाले त्यसलाई कसरी रोक्ने र आयोजनाको लागत घटाउने भनेर बोर्ड पनि चिन्तित बनेको छ ।

आयोजनाको लागत बढ्दा लगानीकर्ताले समयमा नै प्रतिफल नपाउने भएकाले यसविषयमा विद्युत् नियमन आयोगसँग आवश्यक समन्वय गरेर अघि बढने बोर्डका एक अधिकारीको भनाइ छ ।

आगामी दिनमा आयोजनाले वास्तविक खर्च पहिला नै देखाउनुपर्ने ती अधिकारीको भनाइ छ । मर्चेन्ट बैंकर्सहरु पनि सुरुमा सेयर बिक्छ होला भनेर अन्डरराइटिङ गर्ने र पछि सेयर नबिकेपछि विभिन्न बाहना निकाल्न थालेको बोर्डको ठहर छ ।

‘अब मर्चेन्ट बैंकलाई पनि व्यवसायीक बनाउन आवश्यक छ’, ती अधिकारीले भने ।

कम्पनीले आयोजना प्रभावितका लागि सेयर छुट्याएको थियो । त्यो सेयर नबिकेपछि सर्वसाधारणलाई बिक्री गरियो । त्यहाँ पनि नबिकेपछि कम्पनीले सञ्चालक, संस्थापक उनीहरुको एकाघरका परिवारलाई तथा अन्य कर्मचारीका आफन्तलाई पनि साधारण सेयरमा लगानी गर्ने व्यवस्था गरेको थियो । त्यति गर्दा पनि सेयर बिकेन । नबिकेको सेयर अन्डरराइटरले सकार्नुपर्ने भएको छ ।


क्लिकमान्डु