निस्प्रभावी बन्यो राष्ट्र बैंकको स्प्रेडदर नीति, नाफा बढाउन बैकहरु चलाख



काठमाडौं । राष्ट्र बैंकले आफ्नो निर्देशन कार्यान्वयन भएको भन्दै औषतमा स्प्रेडदर घटेको तथ्यांक सार्वजनिक गरिरहँदा बैंकहरुको रिपोर्टले भने त्यो नभएको प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म बैंकहरुलाई कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) घटाएर ४.४ प्रतिशतसम्म पुर्याउन निर्देशन दिएको छ । तर अधिकांश वाणिज्य बैंकहरुले स्प्रेडदर घटाउनुभन्दा बढाएका छन् । सञ्चालनमा रहेको अधिंकाश वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्प्रेडदर ५ प्रतिशतभन्दा माथि छ ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् बैंकहरुले २०७७ असार मसान्तसम्म स्प्रेडदर औषतमा ४.४ प्रतिशत पुर्याउन निर्देशन दिएको छ । हालसम्म बैंकहरुको औषत स्प्रेडदर ५.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष सोहि अवधिमा बैंकहरुको स्प्रेडदर औषतमा ५.७ प्रतिशत रहेको थियो ।

सबै वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । बैंकहरुको रिपोर्ट अनुसार असार मसान्तदेखि यता बैंकहरुको स्प्रेडदर घट्नुको साटो असोज मसान्तमा उल्टो बढेको देखिन्छ । गत असार मसान्तसम्म सबै वाणिज्य बैंकहरुको स्प्रेडदर ५ प्रतिशतभन्दा तल थियो भने केही वाणिज्य बैंकले त ४ प्रतिशतभन्दा तल नै स्प्रेडदर कायम गरेका थिए । तर ३ महिनाको अवधिमा बैंकहरुले स्प्रेडदर बढाएर ५ प्रतिशतभन्दा माथि पुर्याएका छन् ।

कुन बैकको स्प्रेडदर कति ?

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहमध्ये २२ वटा वाणिज्य बैकले असार मसान्तको तुलनामा स्प्रेडदर बढाएका छन् भने १३ वटा बैंकको ५ प्रतिशतभन्दा माथि र ५ वटाको ४.५० प्रतिशत र १४ वटा बैंकको ४ प्रतिशतभन्दा माथि छ ।  एउटा  बैंकको ४ प्रतिशतभन्दा तल छ । यी सबै बैंकले असार मसान्तको तुलनामा स्प्रेडदर बढाएका हुन् । सञ्चालनमा रहेका ५ वटा वाणिज्य बैंकले मात्र राष्ट्र बैंकको नीति पछ्याउँदै स्प्रेडदर असार मसान्तको तुलनामा घटाएका हुन् ।

असोज मसान्तसम्म ५ प्रतिशतभन्दा माथि स्प्रेडदर हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक ५.९६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर बैंक ५.५८ प्रतिशत, हिमालयन बैंक ५.३६ प्रतिशत, कृषि विकास बैंक ५.२५ प्रतिशत, एभरेष्ट बैंक ५.१८ प्रतिशत, प्राइम बैंक ५.१८ प्रतिशत, माछापुच्छ्रे बैंक ५.१८ प्रतिशत र नेपाल एसबीआई बैंकको ५.१८ प्रतिशत  छ । यस्तै बैंक अफ काठमाडाैं ५.१७ प्रतिशत, प्रभु बैंक ५.१७ प्रतिशत, मेगा बैंक ५.१३ प्रतिशत, एनआइसी एसिया ५.१० प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ५.७ प्रतिशत छ ।

यसैगरी असोज मसान्तसम्म ४.५० प्रतिशतभन्दा माथि स्प्रेडदर रहेका बैंक ५ वटा छन् । जसमा ग्लोबल आइएमइ बैंक ४.९९ प्रतिशत, जनता बैंक ४.९५ प्रतिशत, नेपाल बंगलादेश बैंक ४.८८ प्रतिशत र सेन्चुरी बैंक ४.८४ प्रतिशत, सिभिल बैंक ४.६४ प्रतिशत  छ । यस्तै ४.५० प्रतिशत र सोभन्दा तल सनराइज बैंक ४.५० प्रतिशत, नेपाल बैंक ४.४७ प्रतिशत, नविल बैंक ४.४५ प्रतिशत, सानिमा बैंक ४.४४ प्रतिशत, सिद्धार्थ बैंक ४.४३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ४.४३ प्रतिशत, लक्ष्मी बैंक ४.३३ प्रतिशत, सिटिजन्स बैंक ४.१६ प्रतिशत एनएमबि बैंक ४.१२ प्रतिशत र कुमारी बैंकको ३.७५ प्रतिशत स्प्रेडदर छ ।

किन बढ्यो स्प्रेडदर ?

यसको प्रमुख कारण भनेको राष्ट्र बैंकको नीति हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् बैंकहरुको स्प्रेडदर २०७७ असार मसान्तसम्म ४.४ प्रतिशत पर्याउन निर्देशन दिएको छ । तर राष्ट्र बैंकले मासिक तथा त्रैमासिक रुपमा बैंकहरुले स्प्रेडदर कति कायम गरी व्यवसाय गर्नुपर्ने उल्लेख गरेको छैन । स्प्रेडदर ४.४ प्रतिशत कायम गर्नुपर्ने निर्देशनले बैंकहरुको नाफा संकुचित हुने प्रक्षेपण गरिएको थियो । तर राष्ट्र बैंकले एकमुष्टरुपमा २०७७ असार मसान्तसम्ममा मात्र तोकिएको स्प्रेडदर कायम गर्न निर्देशनको फाइदा बैंकहरुले लिएका छन् । केन्द्रीय बैंकको निर्देशनलाई कार्यान्वयन गर्न वाणिज्य बैंकहरुले स्प्रेडदर घटाउँदै जानुपर्ने हो तर त्यो भएको छैन । स्प्रेडदर घटाउनुको साटो बैंकहरु प्रतिस्पर्धा नै गरेर स्प्रेडदर बढाइरहेका छन् ।

स्प्रेडदर नघटाए इजाजतपत्र खारेज गरिने

गत असार मसान्तमा बैंकहरुको औषत स्प्रेडदर ५.५ प्रतिशत थियो । अहिले स्पे्रडदर बढाएको भएपनि आगामी असार मसान्तसम्म स्प्रेडदर ४.४ प्रतिशत नपुर्याए बैंकहरु कारवाहीमा पर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्लिकमाण्डुलाई बताए ।

‘नियामक निकायको निर्देशन तोकिएको समयमा सबैले कार्यान्वयन गर्छन्,’ उनले भने, ‘निर्देशन नमान्ने संस्थालाई सेवा दिन, लाभांश वितरणमा रोक लगाउनुका साथै इजाजतपत्र खारेजीसम्म गरिने छ ।’ राष्ट्र बैंकले निर्देशन नमान्ने बैंकलाई लिखित स्पष्ट्रीकरण माग्ने र कर्जा प्रवाहमा रोक लगाउने प्रवक्ता निरौलाले बताए ।

राष्ट्र बैंकको निर्देशनले नाफाको वृद्धिदर पहिलेको तुलनामा घट्छ त्यस कारण नाफा वृद्धिदर बढाउन बैंकहरुले के गर्ने सोच्नु पर्ने हुन्छ ।

के भन्छन् बैकर ?

राष्ट्र बैंकको निर्देशनलाई कार्यान्वयन गर्दा बैंकहरुको नाफामा ठूलो धक्का पर्न जान्छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि बैंकहरुको नाफा धेरै घट्ने अनुमान सरोकारवालाहरुले गरेका थिए । तर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा ६.२५ प्रतिशतले बढेको छ । हाल ५ प्रतिशतभन्दा माथि स्प्रेडदर रहेको बैंकहरुलाई आगामी असार मसान्तसम्म ४.४ प्रतिशतसम्म पुर्याउन गाह्रो हुने नबिल बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकेशरी शाहले क्लिकमाण्डुलाई बताए ।

‘नियमनकारी निकायको निर्देशन हामीले नमान्ने कुरा नै आउँदैन तर हाल ५ प्रतिशतभन्दा माथि स्प्रेडदर रहेका बैंकलाई भने मुस्किल छ,’ शाह भन्छन् ‘राष्ट्र बैंकको निर्देशनले नाफाको वृद्धिदर पहिलेको तुलनामा घट्छ त्यसकारण नाफा वृद्धिदर बढाउन बैंकहरुले के गर्ने सोच्नुपर्ने हुन्छ ।’ नबिल बैकको गत असार मसान्तसम्म स्प्रेडदर ४.४३ प्रतिशत थियो । बैंकले ३ महिलामा ०.०२ प्रतिशतले बढाएर ४.४५ प्रतिशत कायम गरेको छ ।

बैंकरहरुको भनाइ अनुसार राष्ट्र बैंकले दिएका निर्देशनलाई पनि मान्य हुने र आफ्नो नाफा घट्नबाट पनि जोगाउन बैंकहरुले चलाखी गरेको प्रष्ट हुन्छ । ३ त्रैमाससम्म आफू खुसी स्प्रेडदर तोक्दै व्यवसाय गरेर आर्थिक वर्षको अन्त्यमा मात्र राष्ट्र बैंकले तोकेको स्प्रेडदर कायम गर्ने बैंकको चलाखीले राष्ट्र बैंकको नीतिको प्रभावकारीता शुन्य हुने देखिन्छ ।


क्लिकमान्डु