बैंकभन्दा बीमालेख धितोमा कर्जाको ब्याजदर सस्तो, ३५ अर्ब ५६ करोड रुपैयाँ कर्जा



काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ५६ करोड २४ लाख २३ हजार ४२ रुपैयाँ बीमा लेखको धितोमा कर्जा दिएका छन् ।

यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.८९ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले २३ अर्ब १० करोड ८० लाख ८१ हजार ९१ रुपैयाँ धितोमा कर्जा दिएका थिए ।

गत आवको सोही अवधिमा १२ वटा जीवन बीमा कम्पनीले मात्रै कर्जा दिएका थिए । चालु आवमा जीवन बीमा कम्पनीहरु थपिएका छन् ।

गत वर्ष बीमालेखको धितोमा कर्जा नदिएका तर यो आवको पहिलो त्रैमासमा थप ५ वटा जीवन बीमा कम्पनीले कर्जा दिन थालेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये मेट लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले भने बीमा लेखको धितोमा कर्जा दिएका छैनन् । अन्य जीवन बीमा कम्पनीको यस्तो धितोकर्जा निकै बढेको छ ।

बीमा लेखको धितोमा कर्जा ९.७० देखि ४ हजार २०२ प्रतिशतसम्म बढेको छ । यसर्थ पनि जीवन बीमा कम्पनीले बीमालेख धितोमा दिने कर्जालाई प्राथमिकतामा राखेको देखिएको छ ।

चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी कर्जा लगानी नेपाल लाइफ इन्स्योरेन्सको छ । नेपाल लाइफले १४ अर्ब ६६ करोड २८ लाख ८१ हजार ३४९ रुपैयाँ कर्जा लगानी गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ५४.९७ प्रतिशतले बढी हो । त्यस्तै सनलाइफको बीमालेखको धितोमा कर्जा ४ हजार २०२.८६ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा २२ लाख ६७ हजार रुपैयाँ कर्जा दिएको इन्स्योरेन्सले चालु आवको सोही अवधिमा ९ करोड ७५ लाख ४६ हजार रुपैयाँ दिएको छ ।
यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्सको पनि धितोकर्जा १ हजार ४९३.९१ प्रतिशतले बढेको छ । यता आईएमई लाइफले ४९८.१४, यूनियन लाइफको कर्जा ४३७.०२ प्रतिशतले बढेको छ ।

पछिल्लो समयमा बीमालेखको धितोमा कर्जा लिनेको संख्या बढ्दै गएको छ । सुर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे बैंकबाट कर्जा लिँदा सेवा शुल्क तिर्नुपर्ने, ब्याजदर पनि फरक फरक हुने भएकोले बीमालेख धितोमा कर्जा लिनेको आकर्षण बढेको बताउँछन् ।

‘बीमा गरेको २ वर्षका ऋण लिनको लागि बीमा गर्ने व्यक्ति २ वर्षमा परिपक्व हुन्छ । उसले तिरेको प्रिमीयमबाट सरेन्डर भ्यालु निकालिन्छ र सरेन्डर भ्यालुको ९० प्रतिशत ऋण दिइन्छ’ पाण्डेले भने ।

ऋण दिँदा ब्याजदर भने बीमा कम्पनी अनुसार फरक हुने उनको भनाई छ । सिइओ पाण्डेले भने ‘हामी १० प्रतिशत ब्याजमा ऋण दिन्छौंं, त्यसमा सेवाशुल्क लाग्दैन । त्यो उहाँहरु कै पैसा हो । यो भनेको सेवा हो ।’ बैंकमा भन्दा ऋण लिन सजिलो हुने भएर बीमालेख धितोमा कर्जा लिनेको संख्या बढेको पाण्डेको भनाई छ ।
अहिले बीमा कम्पनीहरुको प्रिमियम बढेको र सोहि अनुसार बीमालेख धितोमा कर्जा लिने क्रम पनि बढेको उनले बताए ।

कम्पनी बीमा लेखमा धितो कर्जा चालु आव  बीमा लेखमा धितो कर्जा  गत आव
Asian Life 1,721,211,014 958,644,013
Gurans 393,247,000 237,795,000
Life Insurance Co 10,969,193,815 7,339,017,967
National Life 4,025,796,072 2,786,534,025
Nepal Life 14,662,881,349 9,461,418,548
Prime Life 999,540,000 634,268,000
Surya Life 538,880,000 272,897,000
Citizen 56,281,000 3,531,000
sun 97,546,000 2,267,000
union 438,965,115 76,604,993
Rastriya Beema sansthan 1,453,034,183 1,324,442,545
I.M.E. Life 64,169,026 10,728,000
 met Life
Reliable 1,800,000
prabhu
Jyoti 35,212,000
Reliance 30,524,000
sanima 1,957,000
Mahalaxmi 72,231,468
Total 35,562,423,042 23,108,081,091


क्लिकमान्डु