एनआइसी एशिया बैंकले बचत खातामा ९.७५% ब्याजदर दिने, भद्र सहमति तोडिएको हो ?



काठमाडौं । एनआइसी एशिया बैंकले बचत खातामा नै ९.७५ प्रतिशत ब्याजदर दिने योजना ल्याएको छ ।

बैकर्स संघले गरेको भद्र सहमतिमा बचत खातामा ६ प्रतिशत र मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.७५ प्रतिशत ब्याजदर दिने सहमति छ ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको दवावमा बैकर्स संघले भद्र सहमति गरेको हो ।

एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’मा ९.७५ प्रतिशत ब्याजदर दिने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत थोरै-थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आक्रमक एनआइसी एशिया बैंकले ३ महिनामै अर्ब कमायो, अरु सूचक कस्ता ?

यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को गुणन दरले ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सकिने छ ।

यसरी ग्राहकले मासिक रुपमा थोरै-थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्ने छन् ।

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिनेछ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ ।

यस खातावाहकले निक्षेपको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नुहुनेछ भने निक्षेप योजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिने छ ।

बचत खातामा ९.७५ प्रतिशत ब्याजदरको स्कीम एनआईसी एशियाले ल्याएपछि बैंकरहरु भद्र सहमति तोडिने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

तर, बैकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने भद्र सहमति कायम रहेको बताए ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप बढ्न नसकेपछि बैंकले आकर्षक ब्याज दिएर निक्षेप तान्ने रणनीति बनाएको हो ।

यो आर्थिक वर्षको पहिलो ३ महिनामै बैंकले निक्षेप जम्मा ४ अर्ब रुपैयाँले बढाएर १ खर्ब ८५ अर्ब रुपैयाँ पुर्याएको छ । त्यसैगरी, यस अवधिमा बैंकले कर्जा भने १३ अर्ब रुपैयाँले बढाएर १ खर्ब ६३ अर्ब रुपैयाँ पुर्याएको छ ।

निक्षेप र कर्जाबीचको असन्तुलन कायम रहेपछि बैंकको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेशी रेसियो) टाइट भएको छ । जसकारण बैंक थप ऋण प्रवाह गर्न सक्ने अवस्थामा छैन ।


क्लिकमान्डु