गुमेको बजार फर्काउन आक्रमक बन्यो बुध्द एयर, साढे २ अर्ब लगानी थप्दै



काठमाडौं । आन्तरिक बजारमा अग्रणी हवाई कम्पनी बुध्द एयरले आक्रमक बजार विस्तार गर्ने भएको छ । त्यसका लागि कम्पनीले साढे २ अर्ब रुपैयाँ ऋण लिएर लगानी थप्ने भएको छ ।

पछिल्ला ३ वर्षमा १० प्रतिशत बजार हिस्सा गुमाएको बुध्द एयरले गुमेको उक्त बजार हिस्सालाई फिर्ता गर्न बजार विस्तारका लागि आक्रमक रणनीति अपनाउन लागेको हो ।

लगानी थप गर्न बुध्द एयरले दीर्घकालिन ऋण अन्तर्गत १ करोड ७१ लाख अमेरिकी डलर (१ अर्ब ८८ करोड रुपैयाँ) र ६२ करोड ९२ लाख रुपैयाँ ऋण गरी साढे २ अर्ब रुपैयाँ ऋण लिन लागेको छ ।

एयरलाइन्समै लगानी थप गरेर बुध्द एयर खरो प्रतिस्पर्धामा उत्रिने भएको छ । अन्तर्राष्ट्रिय उडान थप्ने घोषणाबाट पछि हटेर कम्पनीले आन्तरिक उडानमै खरो उत्रिने रणनीति बनाएको हो । यो कम्पनी व्यवसायी बीरेन्द्रबहादुर बस्नेतको लगानीमा सञ्चालित छ ।

बुध्द एयरले आन्तरिक उडानतर्फ अहिले ४८ प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २०१६ मा बद्ध एयरको बजार हिस्सा ५८ प्रतिशत थियो ।

कम्पनीले सन् २०१९ मा ६ अर्ब ७३ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी हुने प्रक्षेपण गरेको छ । कम्पनीले सन् २०१८ मा ६ अर्ब ८ करोड आम्दानी गरेको थियो । त्यस्तै, सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख र सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०१९ मा संकलन गरेको कुल आम्दानीमध्ये ३९ प्रतिशत रकम २ वटा रुटबाट मात्रै संकलन गरेको छ । जसमा काठमाडौं-पोखरा र काठमाडौं-विराटनगर छन् ।

कम्पनीलाई काठमाडौं–विराटनगरको रुटमा कडा प्रतिष्पर्धामा देखिएको छ । जसले बुध्द एयरले यस रुटमा सस्तो दरमा उडान गरिरहेको छ ।

त्यस्तै, बुध्द एयरले डलर आम्दानीका हिसाबमा काठमाडौं-पोखराको रुटबाट सबैभन्दा धेरै आम्दानी संकलन गरेको छ । पोखरा पर्यटकीय गन्तव्य भएकाले नेपाल आउने अधिकांश पर्यटकहरु पोखरा जाने गर्छन् । जसको लाभ बुध्द एयरले लिएको देखिन्छ ।

कम्पनीले यो रुटमार्फत् नेपाली रुपैयाँको तुलनामा निकै राम्रो डलर आम्दानी गर्न सफल भएको छ । वर्तमान समयमा कम्पनीले कुल आम्दानीमध्ये २० देखि २५ प्रतिशत रकम विदेशी मुद्राबाट गर्दै आएको छ ।

काठमाडौं-पोखरा रुटमा प्रतिष्पर्धी कम्पनीहरुले समेत आफ्नो उपस्थिति बढाउँदै लगेका छन् । जसको प्रभाव बुध्द एयरको नाफामा पनि देखिएको छ । साथै, यो रुट समग्र आम्दानी र नाफाका हिसाबले बुध्द एयरका लागि महत्वपूर्ण देखिएको छ । उचित विदेशी मुद्राको नगद प्रवाह र व्यवस्थापन भने कम्पनीका लागि निकै कठीन देखिएको छ ।

कम्पनीसँग भएको डलरमा लिएको ठूलो कर्जा र ठूला मर्मत् खर्च डलरमा हुने भएकाले आगामी दिनमा कम्पनीका लागि डलरको आम्दानी, नगद प्रवाह र व्यवस्थापन चूनौतीपूर्ण हुने देखिएको छ ।

नेपालमा पर्यटनकीय सिजन मानिने सेप्टेम्बर-नोभेम्बर र फेब्रुअरी-अप्रिलको २ वटा समय हुन् । त्यसैले अन्य अफ सिजनको समयमा कम्पनीको आम्दानी कमजोर हुने हुँदा उक्त समयमा बैंकको ऋण, मर्मत् तथा अन्य भुक्तानी दायित्वका लागि तरल पूँजीको अभाव हुने र यसले समस्या सिर्जना हुने देखिन्छ ।

बुध्द एयरले विगतका वर्षहरुमा पुँजीको तुलनामा ऋणको मात्रालाई कम गराउन सफल भएको छ । सन् २०१८ देखि २०१९ को मध्य जुलाईसम्म आइपुग्दा पूँजी र ऋणबीचको अनुपात ०.९४ प्रतिशतले ऋण घटेको छ । विगत २ वर्षको अवधिलाई केलाउँदा भने यो अनुपात ०.६३ प्रतिशतले बढेको देखिन्छ ।

सरकारको अग्रसरता तथा अपेक्षाकृत रुपमा बढेको आन्तरिक उडानको व्यापारको प्रभाव बुध्द एयरमा समेत परेको छ । स्वस्थ प्रतिष्पर्धाका कारण यात्रुको चाप निकै बढेको छ । सन् २०१६ देखि सन् २०१८ सम्म आइपुग्दा आन्तरिक उडानमा २७ प्रतिशतले यात्रुको चाप बढेको छ । जसमध्ये बुध्द एयरको मात्रै पछिल्ला ३ वर्षमा १७ प्रतिशतको वार्षिक वृद्धिदर छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारीको प्रभाव हवाई क्षेत्रमा पनि देखिएको छ । जसमा सन् २०२० मा मात्रै २० लाख पर्यटक ल्याउने सरकारी लक्ष्य छ । साथै, सरकारले केही वर्षयता पर्यटनको विकासमा देखाएको अग्रसरताको सकारात्मक प्रभाव देखिएको छ ।

जसमा निर्माणाधिन भैरहवास्थित गौतम बुध्द अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल समेत छ । साथै ठूलो संख्यामा होटल तथा बाटो निर्माणमा देखाएको सरकारको अग्रसरता प्रभाव समेत उड्डयन क्षेत्रमा सकारात्मक देखिएको छ । यसअघि सन् १९९८ र २०११ मा भ्रमण वर्ष मनाउँदा समेत उल्लेख्य मात्रामा पर्यटकको आगमन भएको थियो ।
साथै आन्तरिक उडानतर्फ विमानको संख्या बढ्दा यसको प्रभाव अर्थतन्त्रमा पनि राम्रो देखिएको छ भने यात्रुको उच्च चाप व्यवस्थापन गर्न सहज बनाएको छ ।

हाल बुध्द एयरसँग आन्तरिक उडानका लागि ३ वटा ठूला विमान छन् । जसमा २ वटा वीचक्राफ्ट १९००डी, ३वटा एटीआर-४२ र ८वटा एटीआर-७२ (८ मध्ये ५ वटा विमान विगत ३ वर्षमा खरिद गरिएको हो) विमान छन् ।

कम्पनीका अनुसार वीचक्राफ्ट विमान साना विमानस्थलका लागि उपयुक्त छन् । एटीआर–४२ र एटीआर ७२ ठूला विमान मानिन्छन् । ठूला एयर क्राफ्टमा तुलनात्मक रुपमा प्रत्यक्ष सञ्चालन खर्च कम हुन्छ ।

कम्पनीसँग भएका विभिन्न प्रकारका एयरक्राफ्टका कारणले तीन वर्षको अवधिमा सबै एयरक्राफ्टमा गरी ‘प्यासेन्जर लोड फ्क्याटर’ ९० प्रतिशत पुगेको छ । कम्पनीसँग भएका अधिकांश एटीआर सिरिजका विमानमा टर्बोप्रोप्स इञ्जिन जडान गरिएको छ । जुन सन् २००८ देखि सञ्चालनमा छन् । कम्पनीसँग अहिले आफ्नो नेटवर्कमा देशभरी ३२०० एजेन्ट छन् ।

आन्तरिक उडानतर्फ बुध्द एयरसहित ठूला भनिने कम्पनीहरुले केही वर्षयता विमानको संख्या बढाउँदै लगेका छन् । पर्यटन क्षेत्रको अनुमानित वृद्धिदरलाई ध्यानमा राख्दै कम्पनीहरुले विमानको संख्या थप गर्दै लगेका हुन् । जसले हवाई शुल्क समेत सस्तो बनाएको छ ।

सन् २०१९ मा बुध्द एयरको सबैभन्दा सस्तो भाडा दर प्रतिसिट किलोमिटर २३ रुपैयाँ छ । जबकी सन् २०१८ मा प्रतिसिट किलोमिटर २५ रुपैयाँ थियो । साथै, प्रत्यक्ष खर्च भने उपलब्ध प्रतिसिट र किलोमिटरका हिसाबले १२ रुपैयाँबाट बढेर सन् २०१९ मा १३ रुपैयाँ पुगेको छ ।

प्रतिऔसत सिट किलोमिटरको आम्दानी र प्रतिऔसत सिट किलोमिटर घट्दा यसको प्रभाव सञ्चालन र खुद नाफामा देखिएको छ । कम्पनीको सन् २०१९ मा सञ्चालन नाफा ३२ प्रतिशतबाट घटेर २४ प्रतिशतमा झरेको छ । साथै, खुद नाफा १३.१ प्रतिशतबाट झरेर ६.८ प्रतिशतमा झरेको छ ।

बुध्द एयरले कलन सञ्चालन खर्चको ३० देखि ३५ प्रतिशतसम्म इन्धनमा मात्रै खर्च गर्दै आएको छ । इन्धनमा सरकारले उपभोक्तासँग लिँदै आएको अतिरिक्त शुल्कका बावजुद कम्पनीले तीव्र प्रतिष्पर्धामा पनि ‘लो फेयर सेगमेन्ट’बाट राम्रो आम्दानी गर्न सफल भएको छ ।

साढे २ अर्ब रुपैयाँ ऋण लिएर लगानी विस्तार गर्न लागि बुध्द एयरले कम्पनीको रेटिङ गराएको हो


क्लिकमान्डु