अर्थमन्त्री खतिवडामा बढेको उत्साह, फागुनपछि पनि अर्थमन्त्रीमा दोहोरिने सम्भावना



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल फागुनमा सकिन्छ ।

धेरैको बुझाई अर्थमन्त्री खतिवडाको कार्यकाल त्यसपछि सकिन्छ भन्नेमा छ । पार्टीमा बरिष्ठ नेतालाई पाखा लगाउदै खतिवडाले दुईतिहाईको बलियो सरकारमा अर्थमन्त्री बन्न सफल भएका थिए ।

प्रधानमन्त्री केपी ओलीले दुईतिहाईको सरकारको अर्थतन्त्रको नेतृत्व अर्थतन्त्र नै बुझेका व्यक्तिलाई दिएका थिए । अर्थमन्त्री बनेपछि खतिवडाले स्वेतपत्र जारी गरे । जसमा अघिल्ला सरकार अझ एमाले सरकारले नै लिएका नीतिका समेत आलोचना खतिवडाले गरेका थिए ।

तथ्यांकलाई आफु अनुकुल व्याख्या गर्न माहिर खतिवडाले स्वेतपत्रमा तथ्यांकको तुलना मिथ्यांक हुने गरेर गरेका थिए । अझ विश्व बैंकले प्रकाशन गर्ने व्यवसायिक वातावरणको सूचिमा नेपाल खस्केको भन्दै पूर्व सरकारको आलोचना देउवाले गरेका थिए । त्यो बेला नेपालको स्थान १०६ स्थानमा थियो । तर,खतिवडा अर्थमन्त्री बनेर आएको करिब एकवर्षपछि नेपालको स्थान १०६ स्थानबाट ११० स्थानमा गयो ।]

अर्थमन्त्री खतिवडाले गतवर्ष सार्वजनिक रुपमा नै विश्व बैंकको तथ्यांकप्रति असन्तुष्टी जनाए ।

भूकम्पपछिको पुननिर्माणको कारण आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो । अझ लगातार ३ वर्षसम्म नेपालले ६ प्रतिशतभन्दा आर्थिक बृद्धिदर गरेको छ । यो सफलता प्राप्त भएपनि अर्थमन्त्रीले लिएका नीतिको कारण व्यवसायिक वातावरण बनेको छैन ।

अर्थमन्त्री बनेपछि सेयर बजारको बारेमा नकारात्मक टिप्पणी गरेपछि सेयर बजार ओरालो लागेको लाग्यै छ । सेयर बजार घट्नुमा अर्थमन्त्रीको अभिव्यक्ति मात्र त कारण होइन तर, अर्थमन्त्रीसँग बजारले विश्वास गरेको छैन ।

यो साता विश्व बैंकले प्रकाशित गरेको डुइङ विजनेश इन्डेक्समा नेपालले ठूलो सुधार गरेको छ । ११० स्थानबाट नेपाल ९४ स्थानमा आएको छ ।

विश्वको बैंकको नेपाल कार्यालयले गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले अर्को वर्ष ८० स्थानमा उक्लने प्रतिक्रिया दिए । उनको प्रतिक्रियाले यो वर्षको विश्व बैंकको तथ्यांकले उनी निकै नै उत्साहित भएको देखिन्थ्यो ।

विश्व बैंकको सूचिमा नेपालको स्थान सुधार भएपनि अझै कर तिर्नको लागि झन्झटको विषयमा प्रश्न उठाएको छ । यद्यपी पछिल्लो समयमा गरेको कानूनी सुधारले भने नेपालको स्थान माथि जान सफल भएको हो ।

विश्व बैंकको सूचिकै आधारमा विदेशी लगानी बढ्ने भने होइन । यद्यपी विदेशी लगानीकर्तालाई आकर्षित गर्नको लागि यो एउटा महत्वपूर्ण सूचक भने हो । दक्षिण एशियामा पछिल्लो समय तीव्र रुपले आर्थिक बृद्धि गरिरहेको बंगलादेश सूचिमा निकै नै पछाडि छ ।

अरुको कुरा नसुन्ने तथा आफुले मात्र जानेको भन्दै आलोचना बढेको तथा अर्थमन्त्रीको कारण सरकारमा आलोचना बढेको भन्नेहरु नेकपामा बढी छन् । अझ अघिल्लो वर्ष अर्थमन्त्री खतिवडाले बजेट ल्याएपछि सार्वजनिक रुपमा नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुल्ला रुपमा नै पुरक बजेट ल्याउने घोषणा गरिदिए ।

फागुनमा कार्यकाल सकिन लागेका अर्थमन्त्री खतिवडालाई पदमा पुनः दोहोरिनको लागि विश्व बैंकको व्यवसायिक वातावरणको सूचक बरदान बनेर आएको छ । यो सूचक सुधार हुनुको जस अर्थमन्त्री खतिवडालाई जान्छ । यद्यपी उनले टिमले गर्दा सफल भएको अर्को वर्ष ८० औं स्थानमा उक्लने बताए ।

यसमा उनले मनाउनुपर्ने भनेको प्रधामन्त्री केपी शर्मा ओलीलाई हो । ओलीले चाहेमा उनको कार्यकाल थपिने छ र ३ वर्ष अर्थमन्त्री ढुक्कले बन्न सक्छन् ।


क्लिकमान्डु