पूर्वको भविष्य फेर्ने तमोर हाइड्रो प्रोजेक्टः यसकारण आकर्षक छ बुढीगण्डकी भन्दा



काठमाडौं । पूर्वको मोती भनेर चिनिने तमोर जलाशयुक्त आयोजनामा पावर चाइनको प्रवेशपछि स्थानीयबासीमा एक प्रकारको उत्साहको सञ्चार भएको छ ।

विशेषगरी प्रदेश नं १ मा हालसम्म कुनै पनि ठूला आयोजना नितर्माण नभएको तथा निर्माणमा जाने तयारीमा रहेका आयोजना समेत मझौला प्रकृतिका भएकाले ठूलो आयोजनाको रुपमा तमोर नै अग्रपंक्तिमा थियो ।

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव मात्रै गरिएको छैन, लगानी बोर्डको स्वीकृतिमा नेपाली पक्ष र चिनियाँ पक्षबीच समझदारीमा हस्ताक्षर समेत भएको छ ।

आगामी २ वर्षभित्र सबै अध्ययन पूरा गरेर निर्माण शुरु गर्ने तयारीमा सरकार छ । त्यसका लागि नेपाल र चीनको सरकारी कम्पनीका बीचमा नै सम्झौता भएको छ ।

चिनियाँ राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितीमा आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपालको सरकारी कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीनको सरकारी कम्पनी पावर चाइनाको संयुक्त लगानीमा ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माण गर्ने गरी समभदारी भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेश गरिएको प्रस्तावका आधारमा एचआईडीसीएल र पावर चाइनाले समझदारी गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुनको संयोजकतवको कार्यदलले आयोजनाको समग्र पक्षको अध्ययन गरेको थियो ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अघिबढ्न नसकेको तमोर जलाशययुक्त आयोजनालाई सरकारी-सरकारी कम्पनीबीचको साझेदारीमा अगाडि बढाउने गरी समझदारी भएको बताएका छन् ।

नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना प्रस्ताव गरिएको भने यो पहिलो पटक हो । हालसम्म यो ढाँचामा आयोजना निर्माण भएका थिएनन् ।

नेपाल र चीनको निजी कम्पनीको सहकार्यमा सिनो सगरमाथा हाइड्रो पावरले लमजुङमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । तर, सरकारीस्तरमा नै आयोजना निर्माणका लागि सरकारी कम्पनीस्तरको प्रयास भने यो पहिलो पटक हो ।

सरकारले प्रस्ताव गरेअनुसार प्रदेश नं १ को ऊर्जा सुरक्षाका लागिसमेत महत्वपूर्ण मानिएको सो आयोजनालाई सरकारी कम्पनीस्तरमा नै अगाडि बढाउने गरी प्रस्ताव गरिएको छ ।

आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सोही अनुसार नै प्रस्ताव गरिएको पोखरेलको भनाइ छ । सार्वजनिक निजी साझेदारीमा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो । सो आयोजनालाई पूर्वको मोतीका रुपमा समेत ऊर्जा क्षेत्रमा लिने गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहत रहेको एचआईडीसीएलले निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ ।

गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । सो आयोजनाको अनुमानित लागत डेढ खर्ब रुपैयाँ जति लाग्ने बताइएको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै के कति लगानी लाग्ने हो त्यसको पुष्टि हुनेछ ।

लगानी सम्मेलनमा आएको प्रस्तावका आधारमा आवश्यक निर्णय हुनेछ। आयोजना निर्माणपछि हाल निर्माण भई सञ्चालनमा आइसकेको एक र निर्माणाधीन आयोजनासमेत विस्थापित हुनेछ ।

ऊर्जा उत्पादनको हिसाबले बूढीगण्डकी जलविद्युत् आयोजनाको हाराहारीमा नै सो आयोजनासमेत रहेकाले पनि आकर्षक आयोजनाको रुपमा लिइन्छ ।

आयोजना विशेष गरी पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्ला प्रभावित हुनेछ । बूढीगण्डकी जलविद्युत् आयोजनामा करिब ५० हजार बासिन्दालाई क्षतिपूर्ति दिएर हटाउनुपर्ने अवस्था रहेको छ ।

तमोरमा भने असाध्यै कम मात्रै क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ । यद्यपि पछिल्ला दिनमा नदी किनारमा बस्ती बस्ने प्रचलन बढेकाले पनि तमोर जलाशययको आसपासमा समेत बस्ती बढेको छ ।

३ जिल्लाका यी क्षेत्र हुनेछन् प्रभावित

तमोर जलाशययुक्त आयोजना ७६२ मे.वा.को निर्माणपछि बन्ने ३८ वर्ग किमिको जलाशय बन्ने छ । तेह्रथुम र पाँचथरको सिमाना लुम्बुघाट भन्दा १.५ किलोमिटर तल २०५ मि अग्लो बाँध बनाऊँदा नदिको पानी बाँध स्थलबाट तमोर नदिमा ३८ किलोमिटर पछाडिसम्म फर्किर ३८.६५ वर्ग किलोमिटर क्षेत्रफलको तलाउ बन्दछ ।

जसमा तेह्रथुम जिल्लाका साविकका १२ गाविसहरु क्रमशः ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु प्रभावित हुनेछ ।

यस्तै, पाँचथर जिल्लाका साविकका १२ गाविसहरु क्रमशः स्याबरुम्बा, रानीगाऊँ, लुम्फुवाङ्, नवमीडाँढा, चोकम्जु, फिदिम, नागिन, बार्पा, सुभाङ्, पञ्चमी, अमरपुर र नागि प्रभावित हुनेछ ।

ताप्लेजुङ् जिल्लाका निगुरादिन, फुलबारी, हाङ्पाङ्, फुङ्लिग, दोखु, नाङ्खोल्याङ्, थेचम्बु, र चाक्सीबोटेसम्म फैलन्छ । सो आयोजनाको निर्माणपछि प्रदेश नं १ को मुहार मात्रै फेरिने छैन, त्यसले दिने ऊर्जा र अर्थतन्त्रमा पार्ने प्रभाव समेत सकारात्मक रहेको छ ।

सिंगो नेपालको आर्थिक समृद्धिमा प्रभाव पार्ने सो आयोजना निर्माणका लागि सरकारले तदारुकता लिनुपर्ने देखिएको छ ।
बुढीगण्डकीभन्दा आकर्षक आयोजनालाई तत्काल शुरु गरिए त्यसले दिने आर्थिक लाभको हिसाब सबैभन्दा ठूलो हुनेछ ।

यसकारण आकर्षक छ बूढीगण्डकीभन्दा

जानकारहरुका अनुसार बूढीगण्डकी १२०० मेगावाट बिजुली उत्पादन क्षमताको भएता पनि उर्जा उत्पादनको हिसाबले तमोर समान जस्तै छ । बूढीगण्डकीबाट वार्षिक ३३८३ गिगावाट आवर उर्जा उत्पादन हुँदा तमोरबाट ३३५४ गिगावाट आवर उर्जा उत्पादन हुन्छ । वातावरणीय खर्च बूढीगण्डकीमा कूल लागतको २५ प्रतिशत रहँदा तमोरमा भने मात्रै कूल लागतको ५ प्रतिशत मात्रै हुनेछ ।

खेतीयोग्य जमिनको डुबान बूढीगण्डकीमा ३२.६ वर्गकिलोमिटर हुँदा तमोरमा मात्रै ५.९ वर्गकिलोमिटर हुनेछ । त्यस्तै, बूढीगण्डकीको लागत बढेर २ खर्ब ७३ अर्ब रुपैयाँ पुँग्दा तमोरको डेढ खर्बभन्दा माथि पुग्दैन । आन्तरिक प्रतिफलको दर हिसाब गर्दा बूढीगण्डकीमा मात्रै १२.७ प्रतिशत रहेको छ । तर, तमोरमा भने १६.४३ प्रतिशत हुन्छ ।

बूढीगण्डकीबाट विस्थापित हुनेहरुको घरसंख्या १०४३६ रहँदा तमोरमा भने मात्रै १२६ घरपरिवार विस्तापित हुनेछन् । जलाधार क्षेत्रसमेत बूढीगण्डकीको तुलनामा तमोरमा बढी छ । बूढीगण्डकीको ५००० वर्गकिलोमिटर जलाधार क्षेत्र रहँदा तमोरको झन्डै ६००० वर्ग किलोमिटर जलाधार क्षेत्र छ ।

त्यसैगरी, बाँधको उचाइ समेत बूढीगण्डकीको तुलनामा तमोरको कम छ । २६३ मिटर अग्लो बाँध बूढीगण्डकीमा बनाउँदा तमोरमा मात्रै २०० मिटरको हाराहारीमा बाँध निर्माण हुनेछ । बाँधको लम्बाइ बूढीगण्डकीमा ७०० मिटर रहँदा तमोरमा ५८० मिटरको बाँध बन्नेछ ।

बूढीगण्डकीमा ६३ वर्गकिलोमिटरको जलाशय हुँदा तमोरमा मात्रै ४० वर्गकिलोमिटरको हुनेछ । यस आधारमा हेर्दा बूढीगण्डकी भन्दा तमोर आकर्षक र मानिसले भनेजस्तै तमोर पूर्वको मोती भन्न सकिन्छ ।


पुष्प दुलाल