कर्जा दिन बैंकहरु आक्रमक, ५९ अर्ब निक्षेप लिएर १ खर्ब १८ अर्ब कर्जा दिए



काठमाडौं । निक्षेप बढाउन नसके पनि बैंकहरु कर्जा विस्तारमा भने निकै आक्रमक देखिएका छन् । वितेका २ वर्षयता लगातार लगानी योग्य पुँजी (तरलता) अभावको समस्याले पिल्सिएका बैंकहरु कर्जा बिस्तारमा भने निकै आक्रमक देखिएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको तुलनामा बैंकहरुले ५९ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव भए पनि बैंकहरु कर्जा विस्तारमा आक्रमक हुँदा पुनः तरलता अभावको संकट दोहोरिने प्रष्ट संकेत देखिएको हो ।

गत साउन १ गतेदेखि असोज २४ गतेसम्म वाणिज्य बैंकहरुले जम्मा ५९ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । कर्जा भने १ खर्ब १८ अर्ब रुपैयाँले बढाएका छन् ।

आर्थिक वर्षको पहिलो त्रैमासमा नै निक्षेप र कर्जाबीच देखिएको असन्तुलनले यो आर्थिक वर्ष पनि बैंकहरुका लागि कष्टपूर्ण हुने देखिएको छ ।

बजारमा कर्जाको माग बढे पनि त्यसलाई धान्ने गरी निक्षेप संकलन नभएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले क्लिकमाण्डूलाई बताए ।

‘निक्षेप र कर्जाको असन्तुलन हुँदा बैंकहरुमा तरलता समस्या हुने अवस्था देखिएको छ’, उनले भने ‘वित्तीय बजारलाई सन्तुलनमा राख्नका लागि अहिले सबै बैंकहरुले कर्जा रोकेका छन् ।’

बजारमा तरलता अभावको समस्या आउन नदिन राष्ट्र बैंकले तत्कालका लागि पुनरकर्जा उपलब्ध गराउने र विभिन्न मौद्रिक औजारको प्रयोग गरी तरलता प्रवाह गर्ने गर्छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले साउन १ गते २८ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए ।

असोज २४ गतेको तथ्यांकअनुसार बैंकहरुले २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुमा तरलता अभाव हुँदा निक्षेपमा आकर्षक ब्याजदर बढाएर बैंकहरुले निक्षेप खोसाखोस गर्ने गरेका छन् । ब्याजदरमा उतारचढाव नहोस् भनेर बैंकर्स संघले निक्षेपको ब्याजदरमा भद्र सहमति गर्दै आएको छ ।

तरलता अभावको समस्या चर्किएपछि बैंकरहरुले यस्तो सहमति तोड्दै आएका छन् । अहिले पनि केही बैंकहरुले भद्र सहमति तोडेको भन्दै हालै बसेको बैंकर्स संघको बैठकमा चर्को बहस भएको थियो ।

खासगरी पछिल्लो पुस्ताका बैंकहरुले भने ब्याजदरको भद्र सहमतिले ठूला र पुराना बैंकहरुलाई बढी फाइदा हुने भन्दै यस्तो सहमति खारेज गर्न माग उठाउँदै आएका छन् ।

बैंकर्स संघले बैंकरहरुको यस्तो आग्रहलाई गम्भीरताका लिएको बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका नविल बैंका सीईओ अनिलकेशरी शाहले बताए ।

‘केही बैंकले पहिलो त्रैमासमा नै ब्याजदरमा तलमाथि गर्न आग्रह गरेका थिए तर संघले दोस्रो त्रैमासलाई कुर्न भनेको छ’, शाहले क्लिकमाण्डूसँग भने ।

उनले दोस्रो त्रैमासमा निक्षेपको ब्याजदरमा घटबढ हुनसक्ने बताए ।

बैंकहरुमा अहिले कर्जाको माग अत्यधिक बढेको छ । माग बढेको कारणले बैंकहरुले कर्जा विस्तार बढाएका हुन् । केही बैंकहरुले आफ्नो क्षमता नै नहेरी लगानी गरेको कारण सम्पूर्ण बैंकिङ क्षेत्र तथा देशको नै अर्थतन्त्रमा नकरात्मक असर परेको शाहको भनाइ छ ।

अहिले अधिकाशं बैंकहरुको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) पनि सीमामा पुगेको छ । अहिलेको व्यवस्था अनुसार सीसीडी रेसियो ८० प्रतिशतभन्दा पुगेको खण्डमा राष्ट्र बैंकले कारबाही गर्छ । तर बैंकर्स संघले भने २ वर्ष यतादेखि सीसीडी रेसियोको सीमा बढाउन माग गर्दै आएको छ ।

निक्षेप र कर्जाको असन्तुलन भएर वित्तीय बजारमा पैसा अभाव भएपछि बैंकहरुबीच हुने सापटी कारोबारको ब्याज पनि बढेको छ । हाल ५ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भइरहेको छ ।


क्लिकमान्डु