पर्यटन क्षेत्रको विकासका लागि सी भ्रमणबाट हुने ५ फाइदा



काठमाडौं । विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा रहेका चीनका राष्ट्रपति सी चिनफिङले नेपालको २ दिने राजकीय भ्रमण सकेर आइतबार स्वदेश फिर्ता भइसकेका छन् ।

२३ वर्षपछि सीको भ्रमणबाट अपेक्षा गरिएको रेल तथा ठूला परियोजनामा अनुसार नभए पनि पर्यटन क्षेत्रमा भने निकै राम्रो फाइदा हुने आँकलन गरिएको छ ।
नेपाल सन् २०२० मा भ्रमण वर्ष मनाउने तयारीमा छ । जसमा २० लाख विदेशी पर्यटन नेपाल ल्याउने लक्ष्य सरकारले लिएको छ । पर्यटनको अथाह सम्भावना भए पनि विभिन्न कारणले आशातित प्रगति गर्न नसकेको नेपालले राष्ट्रपति सीको भम्रणपछि नेपालले पर्यटन चीनबाट केही फाइदा लिन सक्ने स्पष्ट संकेत देखिएको छ ।

विश्वमानचित्रमा दुई ठूला अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेका भूपरिवेष्ठित नेपालले पर्यटन क्षेत्रमा चीनबाट कसरी फाइदा लिन सक्छ त ? सीको भ्रमणले यी ५ वटा कुरामा फाइदा हुने निश्चित देखिएको छ ।

१) पर्यटनको संख्या

नेपालमा चिनियाँ पर्यटकको संख्या गत वर्षको तथ्यांक हेर्दा २ लाख ३७ हजार छ । छिमेकी मुलुक मात्रै नभइ बौद्य धर्मालम्बीहरुका लागि लुम्बिनी हुँदाहुँदै पनि चिनियाँ पर्यटकहरु नेपालमा निकै कम आएको मान्न सकिन्छ ।

गत वर्षको तथ्यांक हेर्ने हो भने चीनबाट झण्डै १५ करोड मानिसहरु पर्यटकका रुपमा विदेश भ्रमणमा गएका छन् । जसमध्ये निकै औसतमा सानो अंश ०.१६ प्रतिशत मात्रै हो । हामीले सन् २०२० मा ३ लाख ३५ हजार चिनियाँ पर्यटक मात्रै ल्याउने लक्ष्य राखेका छौं । जुन कुल चिनियाँ पर्यटकमध्ये नेपाल ल्याउने भनिएको यो संख्या ०.२५ प्रतिशत मात्रै हो ।

राष्ट्रपति सीको भ्रमणलाई पर्यटक बढाउने काममा मार्केटिङ गरियो भने लक्षित संख्याभन्दा दोब्बर ल्याउन सकिन्छ । किन भने सीको सम्मान चिनियाँ नागरिकका मनमा भगवानभन्दा कम छैन ।

आफ्ना राष्ट्रपतिले पूर्वसन्ध्यामा गरेको राजकीय भ्रमण गरेको मुलुक र आफूले मान्ने धर्मका भगवान जन्मिएको क्षेत्र टेक्ने चाहना कसलाई पो नहोला र ?
तर यसका लागि हामीसँग केही समस्या भने छन् । पहिलो त मार्केटिङ नै अपुग भएको हुन सक्छ र दोस्रो कुरा चिनियाँहरुले खाने परिकार, घुम्ने ठाउँ, गर्ने क्रियाकलाप नै हामीले जान्न सकेका छैनौं ।

सबैभन्दा धेरै पर्यटक आउने भारतसँग हाम्रो संस्कृति मिल्छ । भाषा र धर्म मिल्छ । खानाका परिकार पनि मिल्छन् । त्यसैले उनीहरुका लागि खासै ठूलो केही गर्न पर्र्दैन् । अमेरिका, युरोप जस्ता देशबाट आउने अधिकांश ट्रेकिङकै लागि आउने हुन । यस्तोमा चीनबाट यदि साच्चिकै पर्यटक ल्याउने हो भने उनीहरुको स्वभाव अनुसारको प्याकेज पनि दिन सक्नुपर्छ ।

२) हवाई रुट

अहिले नेपाल र चीन दुबै देशले सातामा ९८ वटा उडान गर्न पाउने सम्झौता भएको छ । जसमा चीनले अहिले ५६ उडान गरिरहेको छ भने नेपालबाट एउटा पनि उडान हुन सकेको छैन । यद्यपि निजीस्तरको हिमालयन एयरलाइन्सले आगामी कात्तिकदेखि चीनको बेइजिङको डाक्सिङ विमानस्थलमा उडान सुरु गर्नेछ भने त्यसपछि अन्य सहरमा पनि उडानको प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै, नेपाल एयरलाइन्सले पनि ग्वान्झाओमा उडानको प्रक्रिया अगाडि बढाएको छ । चीनबाट ६ वटा एयरलाइन्सले उडान गरिरहँदा नेपालबाट एउटा पनि एयरलाइन्सले उडान गर्न नपाउँदा कतै चीनले बाहना त बनाएको होइन भन्ने प्रश्न उठेको थियो ।
तर राष्ट्रपति सी भ्रमणका समयमा कुनै पनि बाहना नभएको आवश्यक प्रक्रिया पूरा भएपछि उडानको अनुमति पाउने आश्वासन आएको थियो । त्यसैले सीको भ्रमणले हवाई उडानको क्षेत्रमा समेत महत्वपूर्ण प्रगति भएको मान्न सकिन्छ ।

३) सगरमाथामा चासो

सगरमाथा नेपालमा छ । अझ प्रष्ट रुपमा भन्दा नेपाल र चीनको सीमानामा छ । प्रत्येक वर्ष सगरमाथामा आरोहरण गर्नका लागि विदेशबाट पर्यटकहरु नेपालमा आइपुग्छन् । तर सगरमाथा आरोहण गर्ने केही पर्यटकहरु चीन पनि पुग्छन् । किनभने उत्तरी दिशामा रहेको तिब्बतबाट समेत सगरमाथा आरोहण गर्नेहरु हुन्छन् । तिब्बती भाषामा सगरमाथाको नाम चोमोलुङ्ग हो । अंग्रेजीमा माउन्ट एभरेष्ट भने जस्तै स्थानीय भाषामा यसलाई प्रन्घ्रौं चुली पनि भनिन्छ ।

दुई देशको बीचमा रहेको सर्वोच्च शिखर सगरमाथा हिमाल मात्रै होइन, दुई देशका लागि मित्रताको चिन्ह पनि हो । सीको भ्रमणपछि जारी गरिएको १४ बुँदे संयुक्त वक्तव्यमा दुबै देशले सगरमाथाको प्रबद्र्धन गर्ने र संयुक्त रुपमा उचाइ पनि सार्वजनिक गर्ने सम्झौता भएको छ । गत बैशाखमा नेपाली एक टोलीले सगरमाथाको उचाइ नाप्ने काम सकाएर आइसकेको छ । टोलीले ६ महिनामा प्राप्त तथ्यांकलाई विश्लेषण गरी वास्तविक उचाइ सार्वजनिक गर्ने बताइएको थियो ।

४) भ्रमण वर्ष २०२० लाई सहयोग

राष्ट्रपति सीको भ्रमणमा जारी गरिएको संयुक्त वक्तव्यको १० औं बुँदामा चीनले नेपाली पक्षलाई भ्रमण वर्ष २०२० को प्रबद्र्धन गर्न सहयोग पुर्याउने सम्झौता समेत गरिउको छ । नेपाली पक्षलाई चीनमा हुने विभिन्न ट्राभल मार्टमा सहभागी भइ प्रचारप्रसार गर्न, नेपालको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न सहयोग पुर्याउने उल्लेख छ । चीनले नेपालमा नवौं चाइना फेटिवल र चौथो काठमाडौं कल्चर फोरम आयोजना गर्ने उल्लेख छ ।
नेपाल पक्षले चीनका सहरहरुमा आयोजना हुने त्यस्ता मेला, मार्ट तथा विभिन्न कार्यक्रममा पर्यटन प्रबद्र्धन गर्न सकेको अवस्थामा राम्रा चिनियाँ पर्यटकहरु नेपालमा ल्याउन पक्कै पनि सकिन्छ ।

५) पर्यटक मात्रै होइन खर्च गर्ने पर्यटक

सन् २०१८ मा चीनबाट विदेश घुम्न जाने चिनियाँ पर्यटकको संख्या १५ करोड छ । जसले १३० बिलियन अमेरिकी डलर खर्च गरेका छन् । एकातिर निकै सानो संख्यामा चिनियाँ पर्यटक नेपाल आइरहेका छन भने खर्च गर्ने पर्यटक पनि निकै कम छन् ।

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार एक जना विदेशी पर्यटकले खर्च गर्ने औसत डलर ५४ बाट झरेर ४४ डलरमा पुगेको छ । सरकारले संख्यामा मात्रै ध्यान दिँदा त्यसबाट हुने आम्दानीमा कत्ति पनि ध्यान नदिएको देखिएको छ । सरकार २० लाख पर्यटकको आसपास पुगे मात्रै ठूलो सफलता मान्न तम्सिरहेको अहिलेको अवस्थामा खर्च गर्ने पर्यटक ल्याउनमा कत्ति पनि ध्यान दिएको देखिन्न ।

नेपालसँगै मलेसियाले पनि सन् २०२० मा ‘भिजिट मलेसिया २०२०’ मनाउँदै छ । जसमा पर्यटक संख्या ३ करोड पुर्याउने जसमा १०० मिलियन अमेरिकी डलर ल्याउने योजना बनाएको छ । मलेसियाले पर्यटक संख्यासँगै उसले खर्च गर्ने रकममा पनि ध्यान दिएको छ ।


क्लिकमान्डु