दशैंमा खसीको मासु केजीकै २ हजार रुपैयाँसम्म पुग्ने



काठमाडौं । सरकारले गत फागुनदेखि भारतीय खसी-बोका आयात गर्दा क्वारेन्टाइन पास गरेर मात्र आयात गर्नुपर्ने नीति ल्याएपछि यो वर्षको नेपालीको दशैं निकै महंगो हुने देखिएको छ ।

स्वदेशमा नै पर्याप्त मात्रामा खसी-बोका नहुनु र भारतबाट क्वारेन्टाइन पास भएर मात्रै आयात गर्नुपर्ने भएपछि यो दशैंमा खसिको मासु प्रतिकेजी २ हजार रुपैयाँको हाराहारीमा पुग्ने व्यवसायीले अनुमान गरेका छन् ।

स्वदेशमा पर्याप्त मात्रामा खसी बोका उत्पादन नहुनु र भारतबाट पनि आवश्यक मात्रामा नआउनाले यो वर्षको दशैंमा खसीको मासु प्रतिकेजी १५ सयदेखि २ हजार रुपैयाँको हाराहारीमा पुग्नसक्ने माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए ।
उनका अनुसार अहिले नेपालमा भएका खसी बोका लगभग सकिने अवस्थामा पुगिसकेका छन् ।

‘सरकारले भारतबाट आयात गर्न घुमाउरो शैलीमा बन्देज लगाएको छ’ उनले क्लिकमाण्डूसँग भने, ‘भारतबाट आवश्यक मात्रामा खसीबोका आयात गर्ने हो भने नेपालीले दशैंमा प्रतिकिलो १ हजार रुपैयाँको हाराहारीमा खसीको मासु खान पाउने थिए, अहिलकै अवस्था रह्यो भने दशैंमा एक हजार ५ सय देखि २ हजारको हाराहारीमा पर्न जान्छ ।’

नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत खसी खपत हुने हुँदा एकाएक भारतबाट खसी ल्याउन प्रतिबन्ध लगाउने सरकारको अदुरदर्शी निर्णयको कारण नेपालीको भान्सा मंहगो भएको अध्यक्ष खड्गीको तर्क छ ।

सरकारले खसीको मासुको रेट तोकिदिए सजिलो हुने थियो अध्यक्ष खड्गीले भने ‘हामीले मासूको रेट तोक्न समस्या छ, हचुवाको भरमा किनेर ल्याउनु पर्छ, सरकारले रेट तोके सजिलो हुन्छ, जिँउदो खसीको भाऊ फरक पर्दा मासूको मूल्यमा पनि असर पर्छ, हामीले त ल्याएर १० प्रतिशत नाफा राख्ने मात्रै हो ।’

सरकारले मासुमा आत्मनिर्भर भयौं भनेर आयात रोके पनि कुखुरा, माछा, बंगुरमा आत्मनिर्भर रहेको तर खसी बोकामा नेपाल आत्मनिर्भर नरहेको खड्गीले बताए ।

भारतबाट सहजै रुपमा खसी आएनन् भने मासुको मूल्य २ हजार पुग्छ । अहिले सरकारले खसी बोका आयातमा रोक लगाए पनि ५०/६० प्रतिशत खसी बोका अवैधानिक रुपमा आइरहेको उनको भनाइ छ ।

अवैधानिकरुपमा आयात भएका खसी बोकाले पनि मासुको मूल्य कम भएको उनको तर्क छ । ‘कि त सरकारले पूरै बन्द गर्नुपर्छ’ उनले भने ‘होइन भने सहजै आउन दिनुपर्छ ।’

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सर्वसाधारणले स्वस्थ मासु खान पाउन भनेर पशु क्वारेन्टाइन मापदण्ड पूरा गरेर मात्रै नेपाल खसी बोका ल्याउन लागेको जनाएको छ ।

विभागका सहायक प्रवक्ता गणेश पोखरेलका अनुसार १० प्रतिशत मात्रै खसी बोका अपुग हुन्छ, त्यो भारतबाट ल्याइने छ ।
उनका अनुसार क्वारेन्टाइन जाँच गरेर खसी-बोका मंगलबारबाट आयात हुन थालेको छ ।

उनले भने, ‘हिँजोमात्रै १५० देखि २०० वटा खसी-बोका नेपाल भित्रिएको पशु विभागले जानकारी गराएको छ । हामीले यो विषयमा पशु विभागसँग पनि छलफल गरेका छौं ।’

उनका अनुसार विभाग र कृषि तथा पशुपंछि विकास मन्त्रालयले पशु विभागका महानिर्देशकसँग पनि छलफल अघि बढाएको छ । छलफलका क्रममा पशु विभागले दशैंमा मासुको अभाव हुन नदिन र स्वस्थ मासु खुवाउनका लागि आवश्यक काम गरिरहेको छ । विभागका अनुसार अब तिब्बतबाट भेडा र च्याङग्रा पनि केही दिनमा नै आउने छन् ।

खाद्य संस्थानकि प्रवक्ता शर्मिला सुवेदीका अनुसार दाङ र हेटौडाबाट खसी तथा मुस्ताङबाट च्याङग्रा गरी कुल ३ हजार जति ल्याइने छन् ।

त्यस्तै, खसी र बोकाको मूल्य निर्धारण नभए पनि ज्यूँदो च्याङग्राको भने प्रतिकेजी ५६० रुपैयाँ निर्धारण गरिएको छ । जुन गत वर्षको भन्दा प्रतिकेजी ३० रुपैयाँले महंगो हो ।

खसी बोकाको मूल्य स्थानीयस्तरमा भने जिल्ला प्राथमिक खरिद समितिले निर्धारण गर्ने गरेको छ । जसको अध्यक्ष जिल्ला प्रशासन अधिकारी हुने गरेका छन् ।

उपत्यकामा ल्याइसकेपछि पनि खसीको मूल्य निर्धारण हुनेमा यो वर्ष भने मूल्य निर्धारण भइसकेको छैन । सुवेदीले भनिन्, ‘भरे/भोलि नै मूल्य निर्धारण भइसक्छ, मूल्य निर्धारण गर्दा ढुवानी खर्चलगायतलाई हेरिन्छ ।’

उनका अनुसार यो वर्ष ढुवानीको लागात बढी भएकाले त्यसको असर मासुको मूल्यमा देखिनेछ ।


पुष्प दुलाल