सस्तो पठाओ कसरी भयो टुटलभन्दा महंगो ?



काठमाडौं । बंगलादेशमा लोकप्रियता कमाएपछि नेपालमा १ वर्षअघि भित्रिएको मोटरसाइकल ट्याक्सी कम्पनी ‘पठाओ’ले नेपालमा पनि व्यापार चम्काइरहेको छ ।

राजधानीका सडकमा यात्रु ओसार्ने पठाओको लोकप्रियता यस्तो भइदियो कि एक वर्षमै लाखौं यात्रुहरु यसमा जोडिएका छन् । अहिले हरेक दिन १५ हजारभन्दा बढी यात्रुले पठाओमार्फत यात्रा तय गर्छन् ।

पठाओभन्दा केही समय अघि नेपालमा यस्तै प्रकृतिको सेवा ‘टुटल’ आएको थियो । जसको लोकप्रियता पठाओको तुलनामा भने केही कम छ ।

सुरुमा टुटलले आक्रमक रणीनितमार्फत् बजार विस्तारलाई तीव्रता दिए पनि लामो समय त्यसलाई निरन्तरता दिन भने सकेन । यसको फाइदा पठाओले उठायो र छोटो समयमै टुटललाई उछिन्दै सबैभन्दा अगाडि आइपुग्यो ।

यी कम्पनीको फाइदा के भने, यी यात्रुका लागि सहज बनिदिए । गन्तव्यमा जान नमान्ने ट्याक्सीको समस्याले आक्रान्त यात्रुलाई मोबाइलको एपबाट निमेषभर मै सुविधा पाउँदा सहज भइदियो ।

भनेको समयमा, जति लाग्ने हो त्यति नै मूल्य तिरेर जान पाउने भएपछि यात्रुहरु पनि लोभिए, भनौं न आकर्षित भए । यसले पठाओ र टुटलको बजार छिटो विस्तार गर्न सहज भयो ।

यतिसम्म कि यी कम्पनीको तीव्र बजार विस्तार देखेर ट्याक्सी व्यवसायीहरु आक्रोशित भए र यिनीहरुका विरुद्ध नै लाग्न थाले । प्रहरीले पक्राउ गरी बन्द गर्न समेत खोज्यो तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा कम्पनीले पुनः सुचारु भयो ।

टुटलभन्दा पठाओ महंगो

संख्यात्मक हिसाबले टुटलभन्दा पठाओको एप धेरै पटक डाउनलोड भएको छ । दैनिक सेवा लिनेहरु पनि पठाओकै धेरै छन् । तर, शुल्कका हिसाबले भने टुटलभन्दा पठाओ महंगो छ ।

पठाओले मोटरसाइकल सेवाका लागि बेसरेट ४५ रुपैयाँ तोकेको छ । सुरुमा ३० रुपैयाँ र कम्तीमा १ किलोमिटर यात्रा हुने आधारमा प्रतिकिलोमिटरको १५ रुपैयाँका दरले जोड्दा ४५ रुपैयाँ आधार बनाएको हो ।

यसले काठमाडौं, भक्तपुर, लतिपुरका अधिकांश स्थानहरुमा २४ सै घण्टा सेवा दिइरहेको छ । यी स्थानहरुबाट सेवाग्राहीले पिक आवरहरुमा कार्यलय समय, राति १२ बजेपछि र पानी परेको समयमा सर्च चार्जको नाममा तोकिएको शुल्कभन्दा  बढी लिने गरेको पठाओका प्रतिनिधिले किल्कमाण्डुलाई बताए ।

‘व्यस्त समय, पानी परेको समय, राति र सर्भिस एरियाभन्दा टाढा राइड लैजानु परेमा सेवाग्राहीले केही प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ,’ पठाओ प्रतिनिधिले भने, ‘हामीले त्यो अतिरिक्त शुल्क राइडरहरुलाई प्रोत्साहन गर्नका लागि लिएका हौं, त्यो राइडरहरुले नै पाउँछन् ।’

पठाओले अतिरिक्त शुल्क लिन थालेको धेरै भने भएको छैन । दशैंको चहलपहल बजारमा शुरु हुन थालेपछि राइडरहरुलाई प्रोत्साहन गर्ने अतिरिक्त शुल्क लिन थालेको पठाओको प्रतिनिधि बताउँछन् ।

हाल पठाओ ३५ हजार राइडरले ५ लाखभन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिइरहेको रहेको छ ।

५ लाख ग्राहकसँग अतिरिक्त शुल्क लिएर राइडरलाई दिने भनेता पनि त्यो शुल्कको २० प्रतिशत हिस्सा भने पठाओले नै लिने गर्दछ । नेपालमा सेवा सुरु गरेको केही महिनासम्म ५ प्रतिशतसम्ममात्रै राइडरहरुसँग सेवाशुल्क लिने पठाओले अहिले शुल्क बढाएर २० प्रतिशत पुर्याएको छ ।

पठाओ छोडेर टुटलमा आवद्ध भएका राइडर र ग्राहकहरुलाई अहिले पछुतो लागिरहेको बताउँछन् । टुटलले भन्दा सस्तोमा पठाओले सेवा दिन्छ भन्ने भ्रममात्र भएको उनीहरुको भनाइ छ ।

राइडरहरुसँग कर वृद्धि तथा अन्य बहना गरी १ वर्षमै ५ देखि १०, १५ र २० प्रतिशतसम्म पठाओल सेवा शुल्क पुर्याएकोे हो । पठाओले सर्भिस चार्ज टुटलकोभन्दा थोरै र बोनस पनि दिने भएकाले टुटलमा आबद्ध राइडरहरु पनि पठाओमा प्रवेश गरेका थिए ।

तर यो पठाओको विजनेश प्रमोशन गर्न योजनामात्रै भएको पठाओ कै प्रतिनिधीको भनाइ छ ।

पठाओको भन्दा बेस रेटमा टुटल महंगो देखिन्छ । सुरुको बेसरेट हेर्दा टुटल २० रुपैयाँ महंगो देखिन्छ । प्रतिकिलोमिटर ३ रुपैयाँ महंगो पनि छ । तर टुटलले सरचार्ज लिँदैन ।

त्यसैले पठाओले लिने सरचार्जले यात्रुलाई महंगो शुल्क तिर्न बाध्य बनाउँदै आएको छ ।

टुटलमा ६० रुपैयाँ वेस रेटमा प्रतिकिलोमिटर १८ रुपैयाँ थपिदै जान्छ । यसको सर्भिस मध्यकाठमाडौंदेखि १० किलोमिटर वरपरका क्षेत्रहरुमा छ ।

नेपाली कम्पनीको टुटलले ३ वर्ष अघिदेखि मोटरसाइकल ट्याक्सीको सेवा दिइरको छ भने बंगलादेशी कम्पनी पठाओले नेपालमा १ वर्ष अघिदेखि सेवा आएको हो ।

टुटल नेपालमा स्थापित हुँदा नेपालमा मोटरसाइकलको प्रचलन नौलो थियो । सर्वसाधारणमा आफ्नो सेवाको बारेमा जानकारी दिन नै यसलाई समय लागेको थियो ।

टुटलले सेवा विस्तार गरी राम्रो फाइदा गरिरहेको समयमा नेपालमा सेवा शुरु गरेको पठाओलाई भने सर्वसाधारणमा आफ्नो स्थायित्व देखाउन समय लागेन ।

गत वर्षको दशैंको केही दिन अघिबाट सेवा दिन शुरु गरेको पठाओले शुरुवातमा निःशुल्क सेवा दिएर आफ्नो अस्तित्व बजारमा देखाएको थियो ।

शुरुवातमा सित्तैमा र केही समयसम्म प्रमोशनको नाममा ५० देखि ९० प्रतिशत छुट दिएको पठाओले अहिले भने अतिरिक्त शुल्क पनि लिने गरेको छ ।

३ वर्षअघि शुरु भएको टुटलले कुनैपनि समयमा आजसम्म अतिरित्त शुल्क भनेर लिएको छैन । यसमा २५ हजार जनाभन्दा बढी राइडरहरुले सेवाग्राहीलाई सेवादिइरहेका छन् ।

राइडरहरुलाई सुरुवातमा नै ४ प्रतिशत सेवा शुल्क तय गरेको टुटलले ३ वर्षसम्म पनि सेवाशुल्कमा परिवर्तन गरेको छैन ।

अतिरित्त शुल्क लिदै पठाओले राइडरलाई दशैं बोनसको दिएको बाहना गरिरहँदा महंगो भनिएको टुटलले भने गत सातादेखि राइडरबाट लिने ४ प्रतिशत सेवाशुल्क पनि तिहारसम्मलाई छुट दिएको छ ।

पठाओले केही साता अगाडिदेखि पठाओ ट्याक्सी सेवा पनि शुरु गरेको छ ।

ट्याक्सीको बेसरेटमा पनि पठाओले अतिरिक्त १ सय रुपैयाँ शुल्क लिएर ठगिरहेको यात्रुहरुले बताउँदै आएका छन् । सामान्य ट्याक्सी र पठाओ जस्तै सारथीले अतिरिक्त शुल्क नलिए पनि पठाओले भने मनलाग्दी १ सय रुपैयाँ अतिरिक्त शुल्क लिँदै आएको छ । जसमा प्रतिकिलोमिटर २९ रुपैयाँ थपिदै जान्छ भने यसमा राइडरहरुले १५ प्रतिशत सेवा शुल्क पठाओलाई बुझाउनु पर्छ ।

अन्य साधारण ट्याक्सीहरुमा भन्दा शुल्क सस्तो भएकाले पछिल्लो समय पठाओ ट्यासीको लोकप्रियता पनि बढिरहेको छ करिब १ महिना अघिदेखि मात्र शुरु भएको यसमा २ हजार ट्याक्सी राइडरहरुले ३० हजार जनालाई सेवा दिइसकेका छन् ।


क्लिकमान्डु